काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

यसअघि बिहान ८ः३० बजे शान्तिबाटिका रत्नपार्कबाट शुरु भएको प्रभातफेरीमा सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोलीको सहभागितामा बिहान ९ बजे शहीद स्मारक पुगेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

शहीद सप्ताहअन्तर्गत माघ १० गते टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी भएको थियो । त्यस्तै माघ १३ गते धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा तथा माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभाभगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो । कामपाले विसं २०१२ देखि शहीद सप्ताह मूल समारोह समिति गठन गरी मनाउन थालेको हो ।

चार शहीदको पूर्णकदको शालिक निर्माण : कामपाले चार शहीदको पूर्णकदको सालिक प्रतिस्थापन गरेको छ । राणा शासन विरुद्धमा लागेको भन्दै विसं १९९७ मा मृत्युदण्ड पाएका चार शहीदको पूर्णकदको शालिक निर्माण गरिएको हो ।

गत वर्ष वडा नं १२ स्थित टेकु मचलीमा शुक्रराज शास्त्रीको पूर्णकदको शालिक प्रतिस्थापन गरिसकिएको थियो । यस वर्ष तीन जना शहीदको शालिक प्रतिस्थापन गरिएको हो । सबै शहीदको शालिक महेश तुलाधरले निर्माण गर्नुभएको हो ।

हुकुमी शासनका विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते शहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा गोली हानेर मृत्युदण्ड दिइएको थियो । विसं १९६० असार १७ गते बैतडीमा जन्मिनुभएका चन्दले महात्मा गान्धीले भारतमा शुरु गर्नुभएको सत्याग्रहमा पनि भाग लिनुभएको थियो ।

त्यस्तै विसं १९७५ मा रामेछापको भङ्गेरीमा जन्मिनुभएका श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो । राणा शासनविरुद्ध लागेको भन्दै शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुण्ड्याएर मारिएको थियो । शास्त्री विसं १९५० मा बनारसमा जन्मनुभएको थियो ।

विसं १९६६ असोज १ गते काठमाडौँको ओमबहालमा जन्मनुभएका शहीद धर्मभक्त माथेमालाई तत्कालीन राणा शासकका विरुद्धमा गतिविधि सञ्चालन गरेको भन्दै विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनाको रूखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । रासस

सम्बन्धित खबरहरु