काठमाडौं । हिउँदमा पूर्वी रुकुमका उत्तरी भेगमा प्राय हिउँपर्ने हुँदा त्यहाँ पशुपालक कृषक चिसो छल्न भन्दै आफ्ना पशु चौपायालाई बेंसीतिर झार्छन् । मङ्सिरको शुरुआतसँगै उनीहरुले आफूले पालेका चौपाया भेडा बाख्रालाई चिसोबाट जोगाउन र चराउन दक्षिणी भेगका ल्याउने गर्छन् ।

पूर्वी रुकुमको भूमे गाउँपालिका वडा नं १ लुकुमका चार जना भेडापालक किसान पनि यो वर्ष भेडालाई चिसोबाट जोगाउन भन्दै आफूहरुले पालेका सयौँ भेडा बाख्रा साथमा लिएर मङ्सिर दोस्रो साता दाङतिर झरेका थिए । विगत वर्षमा उनीहरुले जिल्लाका दक्षिणी भेगमा बथान सारेर हिउँदभर राख्ने गरेकामा यो वर्ष चरन राम्रो हुने, चिसो धेरै नहुने हुँदा भेडालाई रामो हुने भन्दै दाङ झरेका थिए । तर, चरनका लागि दाङ ल्याएको २०० भेडा अज्ञात रोगले मरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

मङ्सिर १० गते रुकुमबाट हिँडेका उनीहरु पुस २९ गतेमात्रै घोराही उपमहानगरपालिका वडा नं १९ को पाँच पोखरीमा आइपुगेको भेडा किसान प्रेमबहादुर पुनले बताउनुभयो । करिब दुई महिनाअघि प्रेमबहादुरसहित भेडाको बथान लिएर हिँडेका धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुन रोल्पाको जलजला, भनभने, थामा हँुदै घोराही उपमहानगरपालिका वडा नं १९ को पाँचपोखरीमा आइपुग्नुभएको थियो । उहाँहरुले घरबाट आउँदा करिब ४०० बढी भेडा बाख्रा साथमा लिएर हिँड्नुभएको थियो । भेडा किसान प्रेमबहादुर पुनका अनुसार उहाँले १२०, धर्म बुढाले पनि १२० वटा, धर्मकुमारी पुनका ११५ र रामकृष्ण पुनले ११५ वटा भेडा लिएर दाङ आउनुभएको थियो ।

चार सय बढी भेडा बाख्रा चराउन हिँडेका ती किसानको भेडाको अवस्था भने अहिले ठीक छैन । केही दिनयता अचानक भेडा मर्न थालेका छन् । बितेको दुई हप्तामा उहाँसँगै रहेका भेडामध्ये करिब २०० बढी मरेका छन् । दैनिक सरदर १०÷१२ वटासम्म भेडा मर्ने गरेको प्रेम बुढाले बताउनुभयो ।

उहाँका अनुसार भेडामा मुख पाक्ने, पखाला लाग्ने र झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ । तर साथमा रहेका केही बाख्रामा भने यो समस्या नदेखिएको उहाँले बताउनुभयो । अचानक अज्ञात रोगका कारण भेडा मर्न थालेपछि उहाँहरु चिन्तामा बढेको छ ।

उहाँहरुले बिन्ती बिसाउँदै भन्नुभयो, “हाम्रो रोजीरोटी यही हो, हामी बर्बाद भयौँ यहाँ उपचार गराउने ठाउँ कहाँ छ भन्ने पनि थाहा छैन, सहयोग गरिदिन अनुरोध छ ।” एक महिनाको बीचमा उनीहरुले पालेको करिब २०० बढी भेडा मरेका छन् । धर्मकुमारीका अनुसार रोल्पाको माडी भन्ने ठाउँमा आउँदा भेडामा समस्या देखिएको थियो ।

शुरुमा चिसोका कारण भेडा मरेको होला भनेर सामान्यरुपमा लिएको उहाँले बताउनुभयो तर अहिले भकाभक दिनमा १० वटासम्म मर्न थालेपछि भेडाको बथान नै सकिने होकी भन्ने पिरले सताएको उहाँको भनाइ छ । उहाँहरुले हाल भेडा चराउन राखेको स्थान पाँच पोखरी बस्तीभन्दा करिब ५०० मिटर पर जङ्गल क्षेत्र हो । भेडामा देखिएको समस्या समाधानका लागि उहाँहरुले स्थानीयलाई खबर गरे कसैले चासो नलिएको गुनासो गर्नुभयो ।

यसैबीच पाँचपोखरीमा ल्याइएका भेडा मर्दा किसान समस्यामा परेकाबारे घोराही उपमहानगरपालिका वडा नं १९ का वडा सदस्यजंग रोकाले आफूलाई जानकारी भए पनि के कारणले मरेका हुन् भन्नेबारे यकिन गर्न नसकिएको बताउनुभयो । दाङको विकट, सञ्चारविहीन र जङ्गल क्षेत्र भएका कारण यसबारेमा यहाँका स्थानीय प्रशासनलाई जानकारी हुन सकेको छैन । रासस

सम्बन्धित खबरहरु