काठमाडौ । पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ । सोही क्रममा निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ । कूल छ दशमलव छ मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ । विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित बिजुली स्थानीय मिजुरेडाँडा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

कूल १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुनेछ । सो अवधिभर सरकारले बिजुलीको पैसा तिर्नुपर्दैन । परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरु हुने विन्दवासिनी हाइड्रोपावरका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । निर्माण शुरु भएको करीब दुई वर्षमै उत्पादन थालेको उक्त आयोजनाको प्रतिमेगावाट लागत रु १८ करोड पुगेको कम्पनीका सचिव जनार्दन अर्यालले जानकारी दिनुभयो । विन्दवासिनीले नै निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत् आयोजनाले गत वर्षको चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । यस्तै कूल ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा पनि विन्दवासिनी समूहले लगानी गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु