काठमाडौं । प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि ‘सिमसार र जैविक विविधता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको सिमसार दिवस वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको संयुक्तरुपमा शिवपुरीको धापमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

शिवपुरीको धाप महत्वपूर्ण सिमसार क्षेत्र हो । सो क्षेत्रमा विद्यार्थी, स्थानीय समुदाय र सरकारी निकायका अधिकारीको सहभागितामा सरसफाइ, सिमसार संरक्षणका लागि जनचेतनालगायत कार्यक्रम गर्न लागेको विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिनुभयो । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थल हो । सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ । विभागका अनुसार नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ ।

विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान पनि हो ।

सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ । विभागको तथ्याङ्कअनुसार नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् ।

यसैगरी नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिको वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन् ।

त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति पनि सिमसारमा आश्रित छन् । विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि ९रामसार महासन्धि १९७१० २ फेबु्रअरी १९७१ मा इरानको रामसार शहरमा भएको थियो ।

रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन शुरु गरिएको हो । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ ।

सन् १९८७ डिसेम्बर १७ का दिन नेपालले कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको उपमहानिर्देशक कँडेलले बताउनुभयो । रामसार सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल समूह, राराताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ताल गरी जम्मा १० सिमसार सूचीकृत छन् ।

यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर रहेको विभागको तथ्याङ्क छ । सिमसारको अत्याधिक उपयोग, भूमि अतिक्रमण, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु