काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्गसिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा पार्कले केही दिनअघि कास्कीको अन्नपूर्ण क्षेत्रमा गएको हिम पहिरोमा परी हराइरहेका आफ्ना चार जना नागरिकको खोजीका विषयमा चासो राख्नुभएको थियो ।

भेटवार्ताका क्रममा गृहमन्त्री थापाले हिमपहिरो लगत्तै सो क्षेत्रबाट धेरै व्यक्तिको सकुसल उद्धार भएको जानकारी गराउँदै चार कोरियाली र तीन नेपाली अझै हराइरहेको बताउनुभयो । उहाँले उनीहरुको खोजी कार्य जारी रहेकोसमेत बताउनुभयो । गृहमन्त्री थापाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयसमेतको सहयोगमा हराइरहेकाको खोजी गरिरहेको भन्दै छिट्टै उनीहरुको अवस्था पत्ता लाग्ने विश्वास दिलाउनुभयो । गत माघ ३ गते अन्नपूर्ण हिमाल क्षेत्रमा परेको हिमपातका कारण उनीहरु हराइरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

भेटवार्ताका क्रममा गृहमन्त्री थापाले नेपालको विकासमा कोरिया सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा सहयोगले निरन्तरता पाउने आशा व्यक्त गर्नुभयो । उहाँले कोरिया प्रायद्विपमा देखिएको समस्या वार्ता र सम्वादको माध्यमबाट समाधान होस् भन्ने चाहना नेपालको रहेको बताउनुभयो ।

दक्षिण कोरियामा ठूलो सङ्ख्यामा नेपाली कामका लागि गएको र कतिपय समस्यामा परेको भन्दै उनीहरुको समस्या समाधानमा विशेष ध्यान दिन राजदूतसँग गृहमन्त्रीले आग्रह गर्नुभयो । राजदूत पार्कले नेपाल र कोरियाको सम्बन्धको चर्चा गर्दै नेपालको विकासमा कोरियाले सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले कोरियाली नागरिक हराएका व्यक्तिको खोजीका लागि नेपाल आएको जानकारी दिँदै उनीहरुलाई नेपाल सरकारले आवश्यक समन्वय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित खबरहरु