बीबीसी । हाल तीव्र रुपमा फैलिरहेको नयाँ कोरोना भाइरस सुरु भएको चिनियाँ सहर वुहानकी ३३ वर्षीया वासिन्दा वेनजुन वाङ र उनको परिवार २३ जनवरीदेखि सहरबाट बाहिर निस्कन सकेको छैन । संक्रमण फैलन नदिन भन्दै सरकारले त्यस समयमा सहरको सम्पूर्ण आवतजावत बन्द गराएको थियो । त्यसैबेलादेखि कोरोना भाइरसको संक्रमण विश्वभर २० हजारभन्दा धेरै पुगिसकेको छ भने यसबाट ४२७ बिरामीको मृत्यु भइसकेको छ ।

यसबीच वाङले बीबीसीसँग गरेको दुर्लभ अन्तर्वार्तामा आफ्नो परिवारको भयावह अवस्था र जिवित रहन गर्नुपरिरहेको संघर्षबारे विस्तृतमा बताएकी छन् कोरोना भाइरसको संक्रमणबाट मेरो अङ्कलको मृत्यु भइसकेको छ भने मेरो बुवा अहिले गम्भीर अवस्थामा हुनुहुन्छ अनि मेरी आमा र सानिआमामा पनि यसको लक्षण देखा परिसकेको छ । सिटी स्क्यान गरेर हेर्दा उनीहरुको फोक्सो संक्रमित भएको देखिएको छ ।

मेरो भाइ पनि केही समय यता खोकिरहेको छ र उसलाई सास फेर्नमा पनि कठिन भइरहेको छ । मेरो बुवालाई भने धेरै ज्वरो आएको छ । हिजोसम्म उहाँको तापमान १०२ थियो । उहाँ निरन्तर खोकिरहनु भएको छ र स्वासप्रस्वासमा पनि समस्या देखिएको छ । यस्तोमा हामीले उहाँलाई घरमै अक्सिजन मेसिन ल्याएर राखिदिएका छौँ । उहाँ २४ घण्टा त्यसमै निर्भर रहनुहुन्छ । उहाँले अहिले चिनियाँ र पश्चिमको गरी दुवै औषधि लिइरहनु भएको छ ।

तर उहाँका लागि अस्पताल भने भेटिएको छैन । परीक्षण सामग्रीको अभावका कारण उहाँ संक्रमित भएको पक्का नभएकाले उहाँलाई कुनै अस्पतालले लिन मानेको छैन । मेरी आमा र सानिआमा आफ्नै स्वास्थ्य समस्याका बावजुद बुवाका लागि बेड पाउने आशामा दिनहुँ अस्पताल धाइरहनु भएको छ । तर कुनै पनि अस्पतालले बुवालाई लिन मान्दैन । हामीलाई कसैले मद्दत गरिरहेका छैनन् । हो वुहानमा धेरै क्वारेन्टाइन पोइन्टहरु छन् जसले साधारण लक्षण देखा परेका बिरामीलाई भर्ना गर्ने गर्दछ ।

त्यहाँ सामान्य सुविधाहरु उपलब्ध छन् तर मेरो बुवाजस्तै गम्भीर बिरामीका लागि भने कतै बेड छैन । मेरो अङ्कलको वास्तवमा एउटा क्वारेन्टाइन पोइन्टमा मृत्यु भएको थियो किनकि गम्भीर लक्षण भएका बिरामीका लागि त्यहाँ कुनै स्वास्थ्य सेवा उपलब्ध थिएन । यसकारण हामीले बुवाका लागि भने राम्रो उपचार खोज्ने प्रयास गरिरहेका छौँ तर अहिले कोही पनि हामीलाई मद्दत गर्न तयार छैनन् । मैले सामुदायिक स्वास्थ्यकर्मीहरुसँग धेरैपटक सम्पर्क गरेँ तर उनीहरुले ‘अस्पतालमा बेड पाउने कुनै सम्भावना छैन’ भन्ने प्रतिक्रिया मात्र दिइरहेका छन् ।

वास्तवमा हामीले मेरो बुवा र अङ्कल जानुभएको क्वारेन्टाइन पोइन्ट अस्पताल होला भन्ने ठानेका थियौँ तर त्यो त एउटा होटल मात्र रहेछ । त्यसैले त्यहाँ कुनै नर्स, डक्टर थिएनन् र हिटर समेत थिएन । उहाँहरु दिउसोको समयमा त्यहाँ पुग्नुभएको थियो जहाँका स्टाफहरुले बेलुकाको डिनरमा चिसो खाना दिए । मेरो अङ्कल त्यतिखेरै धेरै बिरामी भइसक्नुभएको थियो । यसरी स्वासप्रस्वास सम्बन्धी गम्भीर लक्षण देखिन थालेपछि उहाँ अचेत अवस्थामा पुग्नुभयो ।

तर कुनै डाक्टर उनको उपचारका लागि आएनन् । बुवा र उहाँ छुट्टाछुट्टै कोठामा बस्नु भएको थियो । यस्तोमा बिहान ६ः३० मा बुवा उहाँको कोठामा जाँदा अङ्कलको मृत्यु भइसकेको थियो । अहिले बनेका नयाँ अस्पतालहरु पहिलेदेखिका बिरामीका लागि निर्माण गरिएको हो जसलाई नै स्थानान्तरण गरि त्यहाँ राखिनेछ । तर हामी जस्ताले भने कतै बेड पाउने अवस्था छैन । यसमा नयाँ अस्पतालको आश गर्नु त परै जाओस् । यदि हामीले सरकारको निर्देशन पालन गर्ने हो भने हामी अहिले क्वारेन्टाइन पोइन्ट मात्र जान सक्छौँ ।

तर क्वारेन्टाइनमा जाँदा बुवाको हालत पनि मेरो अङ्कल जस्तै हुनेछ । त्यसैले बरु हामी घरमै मर्न तयार छौँ । यहाँ वरिपरी हामी जस्ता धेरै परिवार छन् जो यस किसिमका कठिन अवस्थाको सामना गरिरहेका छन् । मेरो एकजना साथीको बुवालाई त धरै ज्वरो आएकामा क्वारेन्टाइन पोइन्टले समेत लिन मानेन । यहाँ संक्रमित जनसङ्ख्या अत्यन्तै धेरै छ जबकी श्रोतसाधनहरु सीमित छन् । यसैले हामी अहिले डराएर बस्न बाध्य छौँ । आगामी दिनहरुमा के हुनेछ हामीलाई केही थाहा छैन ।

विश्वलाई वाङको सन्देश  :

मलाई २३ जनवरीका दिन यो सहर बन्द गरिनेछ भन्ने थाहा भएको भए मैले मेरो पूरै परिवारलाई बाहिर लैजाने थिएँ किनकि यहाँ कुनै मद्दत छैन । हामी अरु कुनै ठाउँमा भएको भए हामी केही आशा गर्न सक्ने थियौँ होला । यसकारण सरकारको कुरा सुनेर वुहानमै बसेका हामी जस्ता सर्वसाधारणको निर्णय सहि थियो वा गलत म भन्न सक्दिन । तर मेरो अङ्कलको मृत्युले सायद त्यो प्रश्नको उत्तर दिएको छ भन्ने मलाई लाग्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु