विक्रम गिरी । आइसीसी विश्वकप क्रिकेट लिग दुईमा नेपालले पहिलो जित हासिल गरेको छ । घरेलु मैदानमा सिरिजको दोस्रो खेल खेल्दै नेपालले अमेरिकालाई ३५ रनले हराएको हो । यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो । एक सय ९१ रनको विजय लक्ष्य पछ््याउने क्रममा अमेरिकाको पारी ४४ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५५ रनमा समेटियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको शुरुआत राम्रो रहेन । टोलीका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि आजको खेलमा आगमन गरेका सुवास खकुरेल तीन रनमै पेभेलियन फर्किनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुनुभयो । खेलको सत्रौँ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पेभेलियन फर्किनुभयो । खेलको १८औँ मिनेटमा पारस खड्का १९ रन बनाएर आउट हुनुभयो । खेलको २१औँ ओभरमा आरिफ शेख दुई रन बनाएर पेभेलियन फर्किनुभयो । नेपालको स्कोर ४९ रनको छँदा पाँच खेलाडी आउट भएका थिए ।

छैटौँ नम्बरमा ब्याटिङ गर्न आउनुभएका बायाँ हाते अलराउण्डर कुशल मल्ल र सातौँ नम्बरमा मैदान प्रवेश गर्नुभएका विनोद भण्डारीले नेपालको पारी उकास्नुभयो । कुशलले ५१ बल खेल्दै ५० रन बनाउनुभयो । यस क्रममा उहाँले तीन छक्का र चार चौकासमेत प्रहार गर्नुभयो । कुशलले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाउनुभयो । कुशलले १५ वर्ष ३४० दिनको उमेरमा सो कीर्तिमान बनाउनुभएको हो ।

यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो । रोहितले गत वर्ष युनाइटेड अरब इमिरेटस् ९युएई० विरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाउनुभएको थियो । त्यो बेला उहाँ १६ वर्ष १४६ दिनको हुनुहुन्थ्यो । कुशलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्डसमेत तोड्नुभएको छ । सचिनले टेस्ट क्रिकेटमा १६ वर्ष २१३ दिन तथा अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा अर्धशतक प्रहार गर्नुभएको थियो ।

यस्तै विनोद भण्डारीले ५९ रन बनाउनुभयो । उहाँले ७९ बल खेल्दै एक छक्का र छ चौका हान्नुभयो । करन केसीले १२ तथा सुशन भारीले ११ रन बनाउनुभयो । बलिङतर्फ अमेरिकाका लागि क्यामरोन स्टिभनले तीन तथा रुस्टी थेरन र कप्तान सौरभ नेत्रवल्कारले दुई दुई विकेट लिनुभयो । करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले एक÷एक विकेट लिनुभयो ।

ब्याटिङ गर्ने क्रममा अमेरिकाको शुरुआत निकै खराब रह्यो । अमेरिकाले चार ओभरमा चार विकेट गुमाएको थियो । त्यो बेला टोलीको स्कोर १३ रन मात्र थियो । अमेरिकाले ११ ओभरमा २९ रन छँदा पाँचौँ विकेट गुमायो । अमेरिकाका लागि इयान होल्यान्डले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ७५ रनको योगदान दिनुभयो । एक सय ११ बल खेल्ने क्रममा होल्यान्डले सात चौका प्रहार गर्नुभयो । यस्तै क्यामरोन स्टिभेन्सनले १९ र करिमा गोरेले १० रन बनाउनुभयो ।

बलिङतर्फ नेपालका लागि करन केसीले चार विकेट लिनुभयो । सुशन भारीले तीन, सन्दीप लामिछाने दुई तथा कुशल मल्लले एक विकेट लिनुभयो । करनले सात दशमलव एक ओभरमा एक मेडन राख्दै १५ रन खर्चिनुभयो । सुशनले १० ओभरमा एक मेडन राखेर ४३ रन दिनुभयो । सन्दीपले १० ओभर बलिङ गर्दै दुई मेडन राखी २७ रन खर्चिनुभयो । कुशलले दश ओभरमा एक मेडनसहित ३० रन खर्चिनुभयो । करन केसी खेलको म्यान अफ दी म्याच घोषित हुनुभयो । नेपालले आइतबार तेस्रो खेल ओमानसित खेल्ने छ ।

सम्बन्धित खबरहरु