नारायण ढुङ्गाना, काठमाडौ । प्यूठानको झिम्रुक गाउँपालिका –१ का नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली सरल र प्रचार नचाहने व्यक्तिको रुपमा चिनिनुहुन्छ । आफ्नो काममा दत्तचित्त भएर लाग्ने तर कतै प्रचारमा नदेखिए कै कारण उहाँको शालिनता प्रष्ट हुन्छ । अहिलेसम्म आर्थिक विवादमा समेत तानिनुभएको छैन । उहाँसँग काम गरेका प्रहरी अधिकृतहरु पनि ज्ञवालीलाई सरल र सहयोगी व्यक्तिका रुपमा चिनेको बताउनुहुन्छ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सिधैँ आईजीमा फड्को मार्नुभएका ज्ञवाली आईजीमा नियुक्त हुँदा कुनै राजनीतिक चलखेल भएन, न त उहाँलाई कसैले अयोग्य र कार्यसम्पादन मूल्याङ्कनमा कम अङ्क ल्याएका व्यक्ति भनेर नै भने । प्यूठानको तत्कालीन बादिकोट गाविसमा विसं २०२२ मा जन्मनुभएका उहाँको बारेमा धेरैलाई जानकारी कम छ । पछि उहाँको परिवार दाङमा बसाइँसरेको थियो । उहाँले विसं २०४७ असारमा प्रहरी निरीक्षकको रुपमा सेवा शुरु गर्नुभएको थियो ।

ज्ञवालीले जिल्लाको ओकरकोटस्थित माविमा एसएलसी गरेपछि त्रिचन्द्र कलेजबाट आईएससी गर्नुभएको थियो । त्यसपछि कीर्तिपुर क्याम्पसबाट उच्च शिक्षा हासिल गर्नुभयो । मन्त्रिपरिषद्ले आईजीमा नियुक्त गर्दा सामाजिक सञ्जालमा उहाँको प्रशंसा मात्रै देखिनुले पनि उहाँको व्यक्तित्व झल्किने बताइएको छ । विगतमा प्रहरी महानिरीक्षक नियुक्तिको विषय अदालतमा पुगेको थियो । कनिष्ठलाई नियुक्ति गरिएको भन्दै कतिपय प्रहरी अधिकृतले राजीनामा दिएको उदाहरण छ । तर यसपटक निर्विकल्प रुपमा उहाँको नाम गएको एक प्रहरी अधिकृतले बताउनुभयो । चार वर्षअघि जयबहादुर चन्द आईजी हुँदा प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल अदालत पुग्नुभएको थियो । उपेन्द्रकान्त अर्याल आईजी हुँदा पनि प्रहरीमा विवाद बल्झिएको थियो । वर्तमान आईजी सर्वेन्द्र खनाल डिआईजीबाट बढुवा हुँदा तत्कालीन डिआईजी रमेश खरेलले राजीनामा दिनुभयो ।

नवनियुक्त आईजी ज्ञवाली विसं २०५८ मा डीएसपीमा हुनुहुन्थ्यो । विसं २०६६ मा एसपी, २०७३ मा एसएसपी हुनुभएका उहाँ २०७५ असोजमा डीआईजीमा बढुवा हुनुभयो । उहाँका भाई श्यामलाल ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा एसएसपीको रुपमा कार्यरत हुनुहुन्छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रहरी महानिरीक्षकको सचिवालय र नेपालगञ्ज तालिम केन्द्रसहित दाङ, बारा, झापा, रुपन्देही, रुकुमलगायत ठाउँमा काम गरेको अनुभव उहाँसँग छ । उहाँ विसं २०४६ माघमा वर्तमान प्रहरी महानिरक्षिक खनालसँगै परीक्षा दिँदा वैकल्पिकमा नाम निकाल्नुभएको थियो ।

त्यसकारण पाँच महिना ढिला गरी विसं २०४७ असारमा उहाँ प्रहरी सेवामा लाग्नुभएको थियो । अहिले प्रहरी महानिरीक्षक खनालसहित तीन एआईजीले अवकास पाएपछि उहाँ सिधैँ डिआईजीबाट बढुवा भएर आईजी बन्नुभएको हो ।

शान्ति सुरक्षा र कानून कार्यान्वयन पहिलो काम

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज साँझ रासससँग संक्षिप्त कुरा गर्दै कानून कार्यान्वयमा दत्तचित्त भएर प्रहरी सङ्गठनलाई अगाडि बढाउने बताउनुभएको छ । कार्यभार सम्हालेपछि भावी कार्ययोजना बनाएर अघि बढ्ने जानकारी दिँदै ज्ञवालीले गृह मन्त्रालयले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा नै आफ्नो जोड रहने बताउनुभयो । उहाँले समाजमा शान्ति कायम गर्नु प्राथमिकताको विषय हुने बताउनुभयो । “नेपाल प्रहरीले गर्ने भनेको, गृह मन्त्रालयको नीति तथा कार्यक्रम लागू गर्ने हो, त्यसमा कुनै कसर बाँकी रहने छैन”, ज्ञवालीले भन्नुभयो । समाजमा शान्ति सुरक्षा प्रदान गरी नागरिकको सुरक्षामा प्रहरी सङ्गठन हरतहरले लाग्दै आएको र आगामी दिनमा लाग्ने बताउँदै उहाँले आफू आईजी नियुक्त हुनुलाई नियमित प्रक्रियाको रुपमा लिएको प्रतिक्रिया दिनुभयो । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु