काठमाडौं । अहिले विश्वभर नै त्रास फैलाइरहेको कोरोना भाइरसबाट नेपाल पनि खत्तरामुक्त छैन ।

यो बीचमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका २ सय ५० भन्दा बढी स्थानीय बिरामी परेका छन् ।

गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । अहिले गाउँपालिकामा स्वास्थ्य क्याम्प खडा गरी उपचार सुरु भएको छ ।

दुई सय ५० जनाभन्दा धेरै व्यक्तिमा कोरोना भाइरससँग मिल्ने जस्तै लक्षण देखा परेपछि जुगल गाउँपालिकाले गुम्दा सामुदायिक स्वास्थ्य इकाइमा क्याम्प नै खडा गरी स्वास्थ्य उपचार सुरु गरिएको हो ।

अहिले पनि रुघाखोकी र ज्वरो आएकालाई औषधि र माक्स बाँड्ने क्रम चलिरहेको छ । कोरोना भाइरसको शङ्का भएकाले विज्ञ टोली पठाउन केन्द्रलाई पत्र पठाइएको तर जवाफ नआएको गाउँपालिकाले जानकारी दिएको छ ।

अहिले नै कोरोना सङ्क्रमण नै हो भन्ने पुष्टि नभएको भन्दै नआत्तिन पनि अपिल गरिएको छ । चीनसाग सीमा जोडिएका कारण त्यस क्षेत्रका जनतामा डर फैलिएको हो ।

बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन् ।

त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए । गएको माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको थियो । संघीय सरकारका निकायहरूमा सम्पर्क गर्दा चीनबाट उक्त ठाउँमा मान्छे नगएकाले आत्तिन नहुने जवाफ मिलेको श्रेष्ठले बताए ।

 

सम्बन्धित खबरहरु