काठमाडौं । एक दशकको अन्तरालपछि नेपाल–पाकिस्तान परामर्श संयन्त्रको चौथो बैठक आगामी मङ्गलबार इस्लामावादमा हुँदैछ । दुई देशबीच राजनीतिक एवं आर्थिक सहयोग र सम्बन्ध विस्तार गर्ने उद्देश्यले परराष्ट्र सचिवस्तरमा स्थापना भएको संयन्त्रको बैठकमा नेपाल–पाकिस्तान सम्बन्धका सबै पक्षमा विचारविमर्श हुनेछ ।

व्यापार, वाणिज्य, लगानी, औद्योगिक क्षेत्रमा संयुक्त लगानी, बैंक, वित्त, कृषि तथा पशुपालन, ऊर्जा, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि तथा नागरिक उड्डयनलगायत आपसी हित र चासोका विषयमा केन्द्रित रहेर बैठकमा परामर्श गरिने परराष्ट्र सचिव शङ्करदास वैरागीले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

“दश वर्षअघि काठमाडौँ भएको तेस्रो बैठकका निर्णय कार्यान्वयनको अवस्था र त्यसको समीक्षा, पारस्परिक सम्बन्धका सबै पक्षमा गहन छलफल हुनेछ”, पाकिस्तान प्रस्थान गर्नुअघि रासससँगको सङ्क्षिप्त कुराकानीमा उहाँले भन्नुभयो । हरेक वर्ष काठमाडौँ र इस्लामावादमा पालैपालो बैठक गर्नेगरी संयन्त्रको स्थापना भए पनि विविध कारणले सन् २००९ यता बैठक हुनसकेको थिएन । अर्थमन्त्रीस्तरमा गठन भएको संयुक्त आर्थिक आयोगको बैठक पनि विगत सात वर्षदेखि हुनसकेको छैन ।

सचिव वैरागी नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डल केही बेरअघि इस्लामावादतर्फ प्रस्थान गरेको छ । इस्लामावादस्थित नेपाली राजदूत सेवा लम्सालसहितको प्रतिनिधिमण्डलले पाकिस्तानका विदेशसचिव सोहेल महमुद नेतृत्वको टोलीसँग द्विपक्षीय हित र साझा चासोका सबै विषयमा विचारविमर्श गर्नेछ । इस्लामावादमा रहँदा सचिव वैरागीले पाकिस्तानका उच्च राजनीतिक नेतृत्व एवं सरकारी अधिकारीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

सम्बन्धित खबरहरु