पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा छाडा छाडिएका गाई संरक्षण तथा धर्माश्रम निर्माण सहयोगार्थ श्रीमद्भागत नवाह ज्ञान महायज्ञ शुरु भएको छ । रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा निर्माण भएको गौशाला परिसरमा आज आयोजना गरिएको महायज्ञको उद्घाटन गर्दै नगरप्रमुख रमणबहादुर थापाले राष्ट्रिय जनावरको रुपमा रहेको गाई हाम्रो राष्ट्रियता, सभ्यता र धर्र्मसँग जोडिएकाले यसको रक्षा गर्नु आवश्यक रहेको बताउनुभयो ।

 

उहाँले आगामी आर्थिक वर्षमा रु २५ लाख रकम विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । गौशाला निर्माणको विकास र धर्मशाला निर्माण गरी यो क्षेत्रलाई धार्मिक नगरीका रुपमा चिनाउन आर्थिक सङ्कलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको नगर प्रमुख थापाले बताउनुभयो ।

आउँदो फागुन २० गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ अवधीभर रु पाँच करोड दान सङ्कलन गर्ने लक्ष्य रहेको छ । रु पाँच करोड रकममध्ये तीन करोड रकम धर्मशाला निर्माणमा खर्च गर्ने र बाँकी दुई करोड रकम गौशालाको दिगो विकासका लागि प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

 

दूध दिन छाडेका गाईलाई संरक्षण गर्न र यो क्षेत्र कालीगण्डकीको आडैमा रहेकाले धार्मिक नगरीका रुपमा रामपुरलाई विकास गरी धार्मिक पर्यटन विस्तार गर्न महायज्ञ आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष तथा नगरप्रवक्ता हुमनाथ न्यौपानेले बताउनुभयो । गौशालाको थप पूर्वाधार, धर्माश्रम निर्माण गरी अपाङ्गमैत्री र १०० जना अन्य व्यक्ति अट्ने खालको सुविधा सम्पन्न धर्मशाला बनाउने योजना छ ।

 

यज्ञमा गङ्गा आरती, गौदान, ब्रतवन्धको समेत व्यवस्था गरिएको छ । उद्घाटन हुनुपूर्व बिहान ११ बजेदेखि शोभा कलश यात्रा निकालिएको थियो । गाईलाई अघि लगाएर शुरु गरिएको यात्रामा महिला समूह, क्लब, विद्यार्थी तथा श्रद्धालुहरुको सहभागिता रहेको थियो ।

 

गौशाला निर्माण गर्न रामपुर नगरपालिकाले आव २०७४÷७५ मा रु २० लाख र आव २०७६÷७७ मा रु २० लाख रकम विनियोजन गरी निर्माण कार्य थालनी गरिएको हो । करिब १५ रोपनी क्षेत्रफलमा गौशाला निर्माण गर्ने काम भएको छ । गौशालामा करिब ६० वटा गाई रहेका छन् । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु