काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडा पदबाट राजीनामा दिने निर्णयमा पुगेका छन् । पार्टीभित्र र बाहिर आफ्नो चर्को आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अर्थमन्त्रीले आफुले राजिनामा दिने प्रस्ताव गरेका हुन् । अर्थमन्त्री डा. खतिवडाले केही दिन अगाडि नै प्रधानमन्त्री ओलीलाई आफूले राजिनामा गरेर ‘मार्ग प्रसस्त गर्ने’ जानकारी गराएका स्रोतले दाबी गर्यो ।

तर, प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. खतिवडालाई काम गरिरहन भनेका छन् । एक बर्ष अगाडि प्रधानमन्त्री ओलीले डा. खतिवडालाई अर्थमन्त्रीको जिम्मेवारी दिदा नै पार्टीभित्र असन्तुष्टि थियो । तत्कालिन नेकपा एमालेका महासचिब इश्वर पोखरेल नै अर्थमन्त्री हुन चाहेका समाचार सार्वजनिक भएका थिए । यस्तै तत्कालिन एमालेका सचिव प्रदीप ज्ञवाली पनि अर्थमन्त्री बन्ने लविङमा रहेको भनिएको थियो ।

तर, प्रधानमन्त्री ओलीले अर्थतन्त्र बुझेको ब्यक्ति भन्दै डा. खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरे । डा. खतिवडा १४ फागुन २०७४ मा अर्थमन्त्री बनेका थिए । डा. खतिवडा अर्थमन्त्री बनेपछि गत जेठ १५ गते बजेट ल्याएका थिए । तर, पार्टीले चुनाबको बेलामा घोषणापत्र मार्फत गरेको जेष्ठ नागरिक भत्ता बृद्धिसहितका कार्यक्रम बजेटमा नपरेको भन्दै डा. खतिवडाको आलोचना झन् बढेको थियो । यस्तै सांसद विकास कोषको बजेट घटाएको भन्दै सांसदहरु पनि डा. खतिवडाप्रति आक्रोशित बनेका थिए ।

प्रधानमन्त्री ओलीले भने डा. खतिवडालाई निकै विश्वास गरेका छन् । प्रधानमन्त्रीको विश्वास जितेकोले पार्टीभित्र चर्को आलोचना भएपनि डा. खतिवडा अर्थमन्त्री बनेका थिए । यति मात्र उल्झन हैन । डा. खतिवडासहित विमला पौडेल र रामनारायण विडारीलाई ओलीले प्रधानमन्त्री बन्ने वित्तिकै ८ फागुन २०७४ मा राष्ट्रियसभाको सांसद बनाउन सिफारिस गरेका थिए ।

तर, पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेललाई सांसद बनाउन राष्ट्रपति समक्ष सिफारिस गरिसकेका कारण उनीहरु केही समय संसद पदमा आउँन नै चुके । देउवा सरकारले दलीय सहमतिका आधारमा नाम सिफारिस नगरेको भन्दै ओली नेतृत्वको सरकारले नाम फिर्ता लिएर डा. खतिवडा सहितका ३ जनालाई सिफारिस गरेको थियो । तर, ओली सरकारले गरेको सिफारिस विरुद्ध देउवा नेतृत्वको सरकारले गरेको सिफारिसमा परेका ३ जनाले अदालतमा मुद्दा दायर गरेका थिए ।

देउवा नेतृत्वको सरकारले सिफारिस गरेका बस्नेत, जोशी र पौडेलले मुद्दा दायर गरेपछि सर्बोच्च अदालतले अन्तरिम आदेश दिदै ओली सरकारले सिफारिस गरेका ब्यक्तिहरुलाई सपथ नगराउन अन्तरिम आदेश दिएको थियो । अदालतको यस्तो आदेशपछि डा. खतिवडा सहितका तीन जनालाई राष्ट्रियसभाको सांसद बन्ने बाटो अन्तरिम रुपमा बन्द भएको थियो । तर, प्रधानमन्त्री ओलीले १४ फागुन २०७४ मा डा. खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका थिए । सांसद नबनेको ब्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संबैधानिक ब्यवस्था अनुसार नै डा. खतिवडा अर्थमन्त्री भए ।

तर, डा. खतिवडा अर्थमन्त्री बनेको एक सातापछि नै सर्वोच्चले उनीसहितका तीन जनालाई नै सांसद बन्न पाउने बाटो खुल्ला गरेको थियो । सर्वोच्चले सांसद बन्न बाटो खुल्ला गरेसँगै उनीहरुले २५ फागुन २०७४ मा सांसद पदको सपथ लिएका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु