काठमाडौं । चितवन जिल्लामा यात्रु बोक्ने चार पाङ्ग्रे म्याजिकको रुट निर्धारण गरिएको छ । बजार क्षेत्रमा बढ्दो चाप र ग्रामीण क्षेत्रमा यातायात साधनको अभाव भएपछि व्यवस्थित गर्दै ५८३ म्याजिकलाई १२ रुटको अनुमति दिइएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका र म्याजिक यातायात व्यवसायीको साझा संस्था संयुक्त यातायात व्यवसायी समितिसँग समन्वय गरेर रुट इजाजत प्रदान गरेको हो ।

आज यहाँ आयोजित रुट नम्बर वितरण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्ट र संयुक्त यातायात व्यवसायी समितिका अध्यक्ष चिनीबहादुर बोहोराले तोकिएअनुसारको क्षेत्रमा सवारी सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सो अवसरमा भरतपुर चक्रपथमा सबैभन्दा बढी २५०, शारदानगरतर्फ ९२, गीतानगरतर्फ ७१, विजयनगरतर्फ २९, गौरीगञ्जतर्फ ४३, गोन्द्राङतर्फ ५३, भोजाडतर्फ १४, खोलेसिमलका लागि १८, गैँडाकोटका लागि ४४, मुग्लिनका लागि २०, पर्साका लागि ३० र देवघाटका लागि १० म्याजिकलाई सञ्चालनका लागि अनुमति दिइएको छ ।

यसअघि इजाजत दिँदा जिल्ला र अञ्चलभरिनै सञ्चालन गर्न पाउने सुविधा दिएपछि सबैको ध्यान बजार क्षेत्र हुने गरेको थियो । बजार अस्तव्यस्त बनेको र ग्रामीण क्षेत्रमा यात्रुले सवारी पाउन मुस्किल भएपछि स्थानीयस्तरको आवश्यकतालाई ध्यानमा राखेर सङ्ख्या निर्धारण गरिएको भट्टले जानकारी दिनुभयो ।

रुट नम्बर पाएका सवारीसाधनलाई एक साताभित्र सञ्चालन हुने क्षेत्रको नाम लेखेर अगाडि राख्न आग्रह गरिएको छ । जिल्लामा ६७४ म्याजिक दर्ता छन् । रुट नपाएकाको कागजपत्र हेरेर आवश्यकता महसुस भएका क्षेत्रमा थप गरिने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु