काठमाडौं । हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र दुई दिनदेखि अन्धकारमय बनेको छ । सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्रको चरम लापरवाहीले सदरमुकाम सिमकोट सहितका गाउँ अन्धकार बनेका छन् ।

 

वितरण केन्द्रको खोलामा रहेको पावर हाउस भवन पछाडिको पेन स्टक पाइप फुट्दा दुई गाउँपालिकाका एक हजार ८०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । गत भदौको २० देखि असोज १० गतेसम्म गरी २० दिन बन्द भएर नयाँ मर्मत गरिएको विद्युत् फेरि अवरुद्ध बनेको हो । ठेकेदार र कार्यालय प्रमुखको चरम लापरवाहीले यी दुई गाउँपालिकाका सेवाग्राहीले सास्ती खेप्नुपर्ने सिमकोट–२ निवासी धनराशि बोहराले बताउनुभयो ।

बिहीबार बिहान पावर हाउस पछाडि रहेको पेन स्टक पाइप फुट्दा सिमकोट र खार्पुनाथका सेवाग्राही अन्धकारमा बस्न बाध्य हुनुपरेको उहाँले जानकारी दिनुभयो । दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा चैत पहिलो साता एसइई परीक्षामा सहभागी हुने परीक्षार्थीलाई समेत पठनपाठनमा समस्या भएको छ । दुई महिना एसइईको ट्युशन लिए तापनि परीक्षा नजीक आउने समयमा विद्युत् अवरुद्ध हुँदा रातिको समयमा अध्ययन गर्न समस्या बनाएको हुम्ला मावि रायाबाट एसइई दिने सिमकोटमा परीक्षाको तयारी गरिरहेका सीता रावले गुनासो गर्नुभयो ।

 

यस्तै रलिङ्ग मावि बरगाउँबाट एसइई परिक्षा दिने विशाल भण्डारीले विद्युत् अवरुद्ध हुँदा आफूहरुलाई निकै समस्या बनाएको बताउनुभयो । विद्युत् अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्न प्रत्यक्ष समस्या पारेको छ । जिल्लामा सञ्चालित दुई वडा सामुदायिक रेडियोलाई समेत समस्या भएको छ । हिल्दुम वितरण केन्द्र भने कर्मचारीले मर्मत गरिरहेकाले मर्मत भएपछि विद्युत् सञ्चालनमा आउने जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु