काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै मिर्गौला काम नगर्ने भएपछि भोली बिहान ९ बजे दोस्रो पटक फेरिदैछ । मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेदेखि महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पतालमा हुने एकिन भएको छ। प्रम ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणका लागि तयार चिकित्सक टोलीले बिहान ९ बजेदेखिको समय मिलाएको हो।

 

त्रिवि शिक्षण अस्पताल प्रशासनका अनुसार १३ वर्षअघि भारतको अपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोली पनि आइसकेको छ। शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले मिर्गौला प्रत्यारोपणपछि बढीमा हप्तादिनमा प्रधानमन्त्री ओली घर फर्किने बताएका छन्। अहिलेसम्म ८ सय मानिसको सफल मिर्गौला प्रत्यारोण गरिएको बताउँदै डा. खड्काले बढीमा ७ दिनसम्म अस्पतालमा राखेर घर पठाउने गरिएको बताए। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमै गर्न पाउनु गौरवपूर्ण कुरा र अवसर भएको उनले बताएका छन्।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने यस्तो छ चिकित्सक टोली

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण डा. प्रेम ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ प्रत्यारोपण शल्यचिकित्सक डा. ज्ञवालीको नेतृत्वमा १५ जना भन्दा धेरै चिकित्सकको टोली तयार गरिएको हो। विश्‍वभर कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला प्रधानमन्त्री ओलीको मिर्गौला दोस्रो पटक नेपालमै प्रत्यारोपण गर्न लागिएको हो।

 

ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा खटिने टोलीमा ज्ञवालीसँगै डा. उत्तम शर्मा, डा. पवनराज चालिसे, डा. दिव्या सिंह शाह, डा. सुवास आचार्य र रमेश सिंह भण्डारी लगायत रहेका छन्। डा. आचार्य शिक्षण अस्पतालका क्रिटिकल केयर प्रमुख हुन्। यस्तै उक्त टोलीमा दुईजना एनेस्थेसियाका डाक्टर पनि रहनेछन्। यो टिममा ८ जना नर्स र अन्य स्वास्थ्यकर्मीसमेत रहने छन्।

यो टिममा निजी चिकित्सक डा. दिलिप शर्मा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमी पनि साथै रहने छन्। त्यसैगरी वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले प्रत्यारोपणका क्रममा साथै रहने छन्। यी चिकित्सकमध्ये वरिष्ठ मुटुरोग विशेषज्ञ सायमी, डा. दिलिप शर्मा र डा. दिव्या सिंह शाह ओलीका निजी चिकित्सक हुन्। उनीहरु तीनैजनाले ओलीको स्वास्थ्य समस्यामा पर्दा निगरानी र उपचार गर्दै आएका छन्।

कति जटिल छ शल्यक्रिया ?
प्रत्यारोपणका लागि अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ। चिकित्सकको निगरानीमा उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ। प्रत्यारोपणपूर्व उनको हिँजैबाट रगत, दिसापिसाबलगायत जाँच भइरहेको डा. ज्ञवालीले जानकारी दिए। प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई हिँजैदेखि ‘प्रिप्रेशन’मा राखिनेछ, उनले भने। ओलीको मुटुको एञ्जियोग्राफी जाँच गर्दा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टर मुटु रोग विभाग प्रमुख प्रा डा अरुण सायमीले बताए।

मिर्गौला फेर्न भाञ्‍जीले दिँदै

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबारै त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। उनलाई मिर्गौला दिन तयार भाञ्‍जी समीक्षा संग्रौला ज्ञवाली पनि सोमबारै अस्पताल भर्ना भइसकेकी छन्। बुधबार गरिने मिर्गौला प्रत्यारोपणका लागि चिकित्सकहरुले आवश्यक तयारी गरेका छन्। ओलीलाई मिर्गौला दिने भाञ्जी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीको पनि स्वास्थ्य परीक्षण भएर शल्यक्रिया गरिँदैछ। उनी यसअघि पहिलो पटक ओलीलाई मिर्गौला दिएकी भाइबुहारी अम्बिका घिमिरेकी भाञ्‍जी हुन्। यसअघि ओलीलाई मिर्गौला दिन नेपालमा रहेकी भाञ्‍जी समीक्षा र अमेरिकामा रहेका भाञ्‍जा समेत तयार भएका थिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु