पवित्रा घिमिरे, तानसेन । स्थानीय नागरिकको माग गरेपछि पाल्पाको रामपुरमा रहेको ‘अनौठो गुफा’को प्रचारप्रसारका लागि खुला गरिएको छ । रामपुर नगरपालिका–४ रामघाट भुलादी खोला भुद्रुङघाटमा गत वर्ष मात्रै फेला परेको सो गुफा हेर्ने मानिसको भीड लागेको थियो । साँघुरो स्थानमा भीड बढेपछि दुर्घटना हुन सक्ने भन्दै प्रवेशद्वारमा ढुङ्गा र सिमेन्टले बन्द गरिएको थियो । पाल्पाको रामघाट क्षेत्रमा रहेको सप्तगुफालाई धार्मिक हिसाबले समेत हेरिएको छ ।

 

स्थानीयले बाहिरी भागमा सानो दुलो देखेपछि खोज गर्ने क्रममा पत्ता लागेको स्थानीयवासी दिनेश कुमालले बताउनुभयो । २०७५ सालको वैशाखमा स्थानीयले फेला पारेको गुफाभित्र, मन्दिर, शङ्ख, शिवलिङ्ग, हात्तीका चित्र, भगवान्का विभिन्न आकृति, पानीका धारा, पानीपोखरीलगायतका आकृति देख्न सकिन्छ ।

तीन तहका कोठा रहेको गुफा नजिकै वशिष्ठ गुफा, कौशिक गुफा, दुम्सी गुफा, सातपत्रे गुफा र चमेरे गुफा, गुप्त गुफासमेत रहेको छ । वशिष्ठ गुफाको बारेमा पुराणमा समेत उल्लेख भएकाले पनि धार्मिक हिसाबले महत्वपूर्ण मानिने स्थानीय मीनराज रेग्मीले बताउनुभयो ।

 

विभिन्न भगवानका आकृति, उनीहरुको बासस्थान रहेको अनुमान लगाउन सकिने दृश्यले जो कसैलाई आकर्षित गर्छ । करिब १५० मिटर लम्बाइ रहेको गुफाभित्र करिब एक हजार मानिस अट्ने आँकलन गर्न सकिन्छ । त्रेता युगमा रामले भ्रमण गरेको तथ्यसँग जोडिएको रामपुरमा भेटिएको गुफा पनि यसकै आकृतिका रुपमा समेत लिन सकिन्छ ।

 

भगवान् रामसँग जोडिएको रामघाट, रामचेबन, रानीवन, सीताकुण्ड, रानीवासलगायतका ठाउँको नामकरण गरिएको छ । भगवान्ले स्नान गरेका, पानी वाण हानेर निकालेका, खाना पकाएका चुलो, मन्दिरलगायतका स्थानले पनि रामपुर क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

 

प्रसस्तै चमेरासमेत भेट्न सकिने गुफाको संरक्षण सम्वद्र्धन गरी यसको प्रचारप्रचार गरेमा थुप्रै पर्यटक भित्र्यान सकिने आधार छ । गुफाभित्रका आकृति चोरी हुने र गुफाको अस्तित्व हराउने डरले गुफा बन्द गरेर राखिएको सामुदायिक रानीवन तथा बडबान वन उपभोक्ता समितिका सचिव हमिदअलि मिँयाले जानकारी दिनुभयो ।

 

गत वर्ष गुफा फेला पारेपछि हेर्नेको भीड लागेको र गुफामा पस्ने ठाउँ साँघुरो भएकाले केही दुर्घटना हुने डरले स्थानीय प्रशासनले गुफा बन्द गरेको हो । प्राकृतिक सुन्दरताले भरिएको पाल्पा अनेकन पर्यटकीय गन्तव्यका आधार भएपछि कतिपय अझै संरक्षण सम्वद्र्धनका कारण ओझेलमा छन् । जोखिमका हिसाबले गुफा केही व्यवस्थापन मिलाउने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाको जोड छ ।

मानिसले नै तयार पारेको तालपोखरी क्षेत्र प्रचारप्रसारका कारण रामपुर आउने पर्यटक जसरी तालपोखरा पुग्छन् । यहाँ भएका गुफा मठमन्दिर, शालिग्रामलगायतको प्रचारप्रचार हुनु पनि उत्तिकै आवश्यक रहेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीको भनाइ छ ।

 

उहाँले भगवान् रामचन्द्र तथा पाण्डवले बनवासको क्रममा रामपुर आउँदा वरिष्ठ ऋषिले त्यस ठाउँमा तपस्या गरेको कुरा पुराणमा समेत उल्लेख भएकाले गुफाको महत्व रहेको बताउनुभयो । गुफासम्म पुग्नका लागि रामपुर नगरपालिका–४ ले बाटो निर्माणको काम थालेको छ । विज्ञको टोलीले अध्ययन गरेपछि मात्रै गुफामा पस्ने व्यवस्था मिलाइने र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने नगरपालिकाको योजना छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु