काठमाडौ । तस्वीरमा देखिएका सम्मानित व्यक्ति कतै बाटोमा भेटिए भने कुमले ढेप्दै हिँड्न सक्ने हामी नेपालीको मानसिकता छ । तर विश्वका संबृद्ध मुलुक श्रमिक, कर्मशील, कर्मयोगी भन्दा सुन्दर अरु कोही देख्दैनन् । उनीहरुलाई उच्च सम्मान छ । किनकी आफ्नो शरिर बाँच्ने अन्नको गेडो यीनै श्रमिकहरुको परिश्रमका कारण प्राप्त भएको छ । हामी त विचौलिया, दलाली गरेर रकम आर्जन गर्नेलाई सम्मान गर्न बानी परिसक्यौ । यसैले हामी विश्वको गरिब देशको सूचीमा छौ । सबैले अब श्रमिकलाई सम्मान गर्न जरुरी छ ।

 

श्रमिक भनेको त्यस्तो कार्यसँग सम्बन्धित कार्य हो जसबापत पारिश्रमिक दिई सबै श्रमिकले उचित पारिश्रमिक पाउनुपर्छ । श्रमको सम्मान पनि हुनुपर्छ । हाम्रो सन्दर्भमा भन्नुपर्दा श्रमको सम्मान गरिने प्रणालीको विकास नै हुन सकेको छैन, सरकारी कार्यालय त्यो पनि उच्चपदस्थ व्यक्ति मात्रै ठूला हुन् नेता, त्यो पनि विशिष्ट तहका केन्द्रिय नेता मात्रै नेता हुन् भन्ने गलत मानसिकताले जरो गाडेको छ । जहाँ श्रमको सम्मान गरिन्छ त्यहाँ नै विकास र सद्भावको राम्रो प्रभाव देखिन्छ । हामी आफ्नो जन्मभूमिमा पसिना बगाउन वा जुनसुकै श्रम गर्न पनि हुन्छ भन्ने सोचाइमा हुँदैनौँ ।

 

ज्यालामा काम गर्नु, खेती किसानीमा श्रम गर्नु पनि हुन्छ भन्ने सोचाइमा हामी हुँदैनौ । ज्यालामा काम गर्नु खेती–किसानीमा श्रम गर्नु जस्ता कार्यलाई निकृष्ट कार्यमा राखेर त्यस्ता कार्यबाट पर रहन्छौं । जुन देशमा श्रमको सम्मान हुन्छ त्यहाँ छिटो विकास र प्रगति भएको देखिन्छ । अमेरिका, युरोपलगायतका देशहरू आज विकसित हुनुका पछाडि श्रमको सम्मान गर्ने संस्कृति पनि प्रमुख कारण हो ।

 

आज हाम्रो समाजमा आफ्नै आमाबाबुलाई अपहेलना गरी अस्पताल जाने बहानामा वृद्धाश्रम पुर्याइन्छ । आफ्नै छोराछोरीबाट तिरष्कृत भएर बिरानो अबला र बेसहारा बनेर जीवनको उत्तरार्ध व्यतीत गर्न बाध्य भएका दृष्टान्ट प्रशस्तै पाइन्छ । स्वार्थी र जिम्मेवारीबाट भाग्ने प्रकृत्तिको विकास भएर गएको छ । यहाँ आमाबाबुको सामान्य रेखदेख गर्न घृणा मान्ने हामीहरू नैै विदेशमा भने केयर गिभर भएर कार्य गरिरहेका छौँ । अर्काको देशमा जस्तोसुकै काम गर्न तयार हुने आफ्नो देशमा भने सामान्य श्रममा पनि लाज लाग्ने प्रवृत्तिले नै लाखौँका संख्यामा युवा जनशक्ति बिदेसिएका हुन् । राज्यले रोजगारी सिर्जना गर्न नसक्ने अनि श्रमिकलाई पनि सानोतिनो श्रममा लाज लाग्ने र आँखा नलाग्ने संस्कृतिकै कारण चर्को ब्याजमा ऋण लिई घरखेत बन्दकी राखेर खाडी मुलुक जान विवश भएका छन् ।

 

जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ जाँगर भए आफ्नै घरआँगनमा अनेकौं रोजगारीका अवसर छन् भन्ने सत्यतालाई बिर्सिएर अरबका खाँडीमा अनेकौं कष्टको सामना गर्न पुग्छन् । कृषि ऋण लिई सामान्य तरकारी खेतीलगायतका अनेकौँ कार्यमा खट्ने हो भने मनग्गे आम्दानी गरी आफ्नै भूमिमा आरामसँग जीवनयापन गर्न सकिने उदाहरण गाउँगाउँमा जाँगरिला युवाहरूले प्रस्तुत पनि गरेका छन् ।

 

पसलमा चिया, चुरोट पिएर बिनाकाम समय व्यतीत गर्ने तर स–साना श्रमका कार्यप्रति मन नलाग्ने गलत मनोवृत्तिकै कारण समाजमा विभिन्न अपराधिक घटनाहरू घट्ने गरेका छन् । तास खेल्ने गाँ जाचरे सको प्रयोग गर्ने, लु टपा ट ब लात्का र हिं सा ह त्याका घटनाहरूसमेत बढेर गएका छन् । श्रमकै सन्दर्भमा भन्ने हो भने अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) को प्रतिवेदनअनुसार ६ महिनासम्म श्रम गरेपछि स्थायी गर्नुपर्ने मान्यता अगाडि सारेको छ । निजी संघसस्ंथा तथा व्यवसायका त कुरै नगरौँ, नेपाल सरकारका शिक्षामन्त्रालय अन्तर्गतका शिक्षकहरूसमेत २०–२२ वर्षसम्म अस्थायी रूपमा कार्य गर्नुपर्ने बाध्यताको सिर्जना गराइएको छ । त्यसैगरी मेडिया क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूको अवस्था पनि दयनीय छ । न्यूनतम पारिश्रमिकसमेत नपाउने अवस्था विद्यमान नै छ ।

 

श्रम पनि दुई प्रकारका हुन्छन् । शारीरिक श्रम र मानसिक श्रम । शरीरलाई सक्रिय बनाई श्रम गर्नुलाई शारीरिक श्रम र दिमागलाई सक्रिय बनाउँदै गरिने श्रमलाई मानसिक श्रम भनिन्छ । दुवै खालका श्रमलाई संयोजन गरी अगाडि बढ्न सके मात्र अपेक्षित विकास सम्भव हुन्छ । श्रमले शारीरिक तथा मानसिक स्वस्थता कायम गर्नमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । श्रमकै अभावले अचेल नाना प्रकारका रोगले सताउन थालेको छ । परिश्रम गर्ने बानी नहुनाले उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह, मुटुरोगजस्ता विभिन्न रोगबाट पीडित हुनेको संख्या पनि बढ्दै गएको देखिन्छ ।

 

आजको विश्वजगत्मा स्वार्थ भ्रष्टाचार अ पराध बढ्दै जानुको मुख्य कारणमा श्रमको अभाव मुख्य कारक तत्व बनेको पाइन्छ । आफ्नो श्रमको कमाइमा नै मानवले सन्तुष्टि प्राप्त गर्न सक्छ । अ वैध ढंगले कमाएको धनले आ त्मा शान्ति र सुखको वास्तविक अनुभूति पनि गर्न सकिँदैन, हाम्रो वास्तविकता पनि कम्ती हृदयविदारक देखिन्न, किनभने सच्चा श्रमिक भोकै बस्नुपर्ने अवस्था छ भने मुख मात्र चलाउने टाठाबाठाहरू बिना धनाढ्य हुने जुन परिपाटीको विकास भएको छ त्यसले वास्तविक विकास हुन सक्तैन ।

रातोदिन श्रम गर्ने किसानले आफ्नो श्रमको मूल्य प्राप्त गर्न सक्तैन । दिनरात नभनी काम गर्ने मजदुरले उचित पारिश्रमिक र सामान्य हकहितबाट समेत वञ्चित हुनुपरेको तीतो यथार्थ छँदैछ । कामचोर, राजनीतिक पहुँच भएका, छलछाम गर्न खप्पिस वर्ग नै आज ऐसआरामको जीवन बिताउँछन् । दस नंग्रा खियाई पसिना बगाउने वास्तविक श्रमिकको दुरवस्था देख्दा लाग्छ, नाम मात्रको मानवजीवन व्यतीत गरिरहेका छन् । धनाढ्यका घरमा कुकुुरले पनि मासु नखाइरहेको अवस्था छ भने विपन्न श्रमिक दुई छाक टार्न नसकी भोकै बस्नुपरेको घटना सामान्य बनेका छन् । वास्तविक श्रमिकलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने जुन गलत दृष्टि छ, त्यसमा परिवर्तन नआएसम्म देश विकासको मार्गमा अगाडि बढ्न कठिन हुन्छ ।

 

श्रम नै त्यस्तो महत्वपूर्ण विषय हो, त्यसले नै व्यक्तिको जीवन सुखी र समृद्ध बन्छ भने राष्ट्रको आर्थिक विकास अनि भौतिक पूर्वाधारको निर्माण भई राष्ट्रको समग्र विकास हुन्छ । राज्यले बर्सेनि श्रम बजारमा आउने झन्डै ५ लाख युवा जनशक्तिलाई श्रम उपलब्ध गराउनका लागि उद्योगहरूको स्थापनामा जोड दिने, रुग्ण उद्योगलाई पुनः सञ्चालन नगर्ने कार्य गम्भीरतापूर्वक गर्नुपर्छ । त्यसैगरी युवा जनशक्तिलाई कृषिप्रति आकर्षित गर्नका लागि स्पष्ट कृषि नीतिनिर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । सहज रूपमा कृषि ऋण प्राप्त गर्न सक्ने वातावरण बनाई कृषिको विकासमा ध्यान दिनु जरुरी देखिन्छ ।

 

एक दशकअघिसम्म हामीले धानचामल निर्यात गथ्र्यौं भने अहिले अर्बौं रकमबराबरको खाद्यान्न आयात गरिरहेका छौँ । कृषिलाई व्यावसायिक र वैज्ञानिक बनाउन सके ठूलो संख्यामा रोजगारी पनि प्राप्त हुने निश्चित छ ।
श्रम नै सवैश्रष्ठ देवता हुन्, त्यसलाई नै पुज्नुपर्छ भन्ने सोचका साथ यसलाई नै हामीले व्यवहारमा परिणत गर्न सक्यौँ भने बेरोजगारी भई बस्नु पनि पर्दैन र आर्थिक रूपले विपन्न भएर चिनिनु पनि पर्दैन ।

 

अहिले वास्तविक किसानको हातमा जमिन छैन, जमिनदार निमुखा श्रमिकलाई नगन्य श्रममा काममा लगाई बसेका छन् । पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको देखिन्छ । कृषिकार्यप्रति आकर्षण घट्दै गएकाले उर्वर भूमि बाँझै रहेका छन् । त्यसैगरी जथाभावी सहरीकरणको नाममा अव्यवस्थित बसोबासका कारण उब्जाउयुक्त जमिन घरहरूले ढाकेका छन् । राज्यले स्पष्ट नीति अवलम्बन गरी कृषिलाई आकर्षक पेसामा परिणत गर्नेतर्फ ध्यान पुर्याउने हो भने कृषिप्रधान देशको पहिचान राख्नसमेत सहयोग पुग्ने देखिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु