ज्ञानेन्द्र न्यौपाने, रसुवा । बोझोका कारण दिनानुदिन छोपिँदै गएको पार्वतीकुण्ड संरक्षणका लागि स्थानीय बासिन्दा अग्रसर भएका छन् ।

धार्मिक मान्यतानुरूप हिमालयकी पुत्री पार्वती विराजमान रहनु भएको पवित्र कुण्डलाई बोझोले ढाक्न थालेका कारण गाउँपालिका र गतलाङबासीको सहयोगमा बोझो हटाउने अभियान शुरू गरिएको गतलाङका समाजसेवी पेम्बा तामाङले जानकारी दिनुभयो ।

उत्तरी रसुवाको तामाङ सम्पदामार्गमा अवस्थित पार्वतीकुण्डको सफाइ अभियानअन्तर्गत कुण्डका डिलका बोझो हटाई स्नानका लागि सहज बनाउन सकिए पनि बीच भागको पूरै बोझो क्रमिक रूपमा हटाइने छ । धार्मिक एवं पौराणिक तीर्थको महत्व बढाउन जनसहभागिता समेत जुटिरहेको बताइएको छ । समुद्री सतहदेखि करीब दुई हजार ४०० मिटर उचाइमा गतलाङ गाउँको शिरमा अवस्थित उक्त पवित्र तीर्थमा जनैपूर्णिमा, गङ्गादशहरालगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ ।

पार्वतीकुण्डमा स्नान गरी पूजाआजा गर्नाले शरीरको रोगव्याधि हट्ने तथा आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रआिएकाले गोसाइँकुण्ड पुगेका धार्मिकयात्रु पार्वतीकुण्ड पुग्नैपर्ने मान्यता रहेको पुरोहित टङ्प्रसाद ढकालले बताउनुभयो । काठमाडौंँदेखि त्रिशूली, बेत्रावती, धुञ्चे, स्याफ्रुबेंसी, गोल्जुङ हुँदै मोटरबाट सहज रूपमा पुगी पार्वतीकुण्डमा स्नान गर्न सकिने भएकाले सहज रूपको तीर्थ पुग्न स्थानीय बासिन्दाका तर्फबाट सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको समाजसेवी तामाङले बताउनुभयो ।

धार्मिक मान्यतानुरूप उत्तराखण्डमा अवस्थित एक सय आठकुण्डमध्ये अहिलेसम्मको अनुभवमा गोसाइँकुण्ड एवं पार्वतीकुण्ड मात्र स्नान गर्ने गरेको देखिएकाले रसुवामा रहेका सबै कुण्डका प्रचारप्रसार गर्नसके जिल्लाको गरिमा थप उचाइमा पुग्ने स्थानीयबासीले बताएका छन् । रसुवामा अवस्थित सरस्वतीकुण्ड, भैरवकुण्ड, सूर्यकुण्ड, दूधकुण्ड जस्ता तीर्थ थोरबहुत प्रचारमा आए पनि यी कुण्डमा जाने तीर्थयात्रु भने बिरलै पाइएको छ ।

यस्तै पितृतर्पणका लागि पहिलो पुग्नुपर्ने अर्को महत्वपूर्ण तीर्थ बेत्रावती, उत्तरगयाधाममा भने क्रमिक रूपले पूर्वाधारको काम अगाडि बढिरहेको उत्तरगया संरक्षण समितिले जनाएको छ । बेत्रावतीमा पिण्ड तर्पण गर्नाले दिवङ्गत पितृलाई स्वर्गलोकमा शान्ति मिल्ने विश्वासका कारण प्रत्येक वर्ष पौषेऔँसीमा बेत्रावती पुग्न स्थानीय पुरोहितले सबैसँग आग्रह गरेका छन् । रासस

शोधकर्ता उपाधि लिन मात्र केन्द्रित हुन थाले
गण्डकी विश्वविद्यालयका नवनियुक्त कुलपति प्राध्यापक डा गणेशमान गुरुङले अनुसन्धानकर्ताले नयाँ ज्ञानको उत्खननमा केन्द्रित हुँदै मौलिकतामा जोड दिनुपर्ने बताउनुभएको छ । पोखरामा सिटी एजुकेशन फाउण्डेशन काठमाडौँद्वारा सोमबार यहाँ आयोजित‘विश्वविद्यालय, उच्च शिक्षा र अनुसन्धान विषयक’ अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पठनपाठन, अध्ययनअध्यापन र अनुसन्धान एकअर्काका परिपूरक भएको तर अनुसन्धानको विषय सरकारी तवरबाटै ओझेलमा परेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “अनुसन्धानलाई प्रभावकारी बनाउन विभिन्न समयमा सरकारसँग राष्ट्रियस्तरको अनुसन्धान परिषद् गठनका निम्ति सुझाव पनि प्रदान ग¥यौँ तर कार्यान्वयन भएन ।” प्राडा भरतराज पहारीले समाजको सबै समस्याको समाधान विश्वविद्यालयको प्रयोगशालाबाट निस्कने गरेको भन्दै शोधकर्ताको खोज–अनुसन्धान मौलिक र सही हुनुपर्नेमा जोड दिनुभयो ।

संस्कृतिविज्ञ डा कुशुमाकर न्यौपानेले पछिल्लो समय शोधकर्ता उपाधि लिन मात्र केन्द्रित हुने गरेको बताउनुभयो । उहाँले कार्यक्षेत्रमा भार थाम्न गाह्रो देखिन थालेको भन्दै सोको निराकरण गर्न ज्ञानवद्र्धक सिर्जनशीलतामा केन्द्रित हुन आग्रह गर्नुभयो । कार्यक्रममा प्राडा यमबहादुर क्षेत्री, श्रीकान्त खतिवडा, प्राडा रामजी शर्मा, प्राडा दामोदर बसौंला, डा वीरबहादुर खनाललगायतका प्राज्ञिक व्यत्तित्वले अनुसन्धानको विषयमा आफ्नो अनुभवसहितका धारणा राख्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न क्षेत्रका शोधकर्ता एवं अनुसन्धनकर्ताको सहभागिता रहेको संस्थापक प्राचार्य डा यशोधम त्रिपाठीले जानकारी दिनुभयो ।

 

सम्बन्धित खबरहरु