काठमाडौं । साहित्यकार तथा समालोचक डा. रामप्रसाद ज्ञवाली नेपाली साहित्यको विशेषगरी छन्दकवितामा परिचित नाम हो । वि.सं २०२४ साल वैशाख ११ गते गुल्मी जिल्लाको थानापति, हालको रुरु गाउँपालिकामा पिता दुर्गाप्रसाद र माता कुन्तादेवीको चौथो सुपुत्रको रुपमा जन्मनुभएका ज्ञवालीको नेपाली साहित्यका उपन्यास, नाटक र कविता (काव्य) तथा समालोचना विधामा कलम चल्दैआएको छ । ज्ञवालीको परिचयको विशेष क्षेत्र भने छन्दकविता नै बन्यो । दुई दशकदेखि निरन्तर छन्द विस्तार र परिष्कार अभियानमा समेत सक्रिय ज्ञवाली पछिल्लो समय छन्द प्रशिक्षण र छन्दसम्बद्ध नियमित कवितावाचन कार्यक्रमहरूको समेत संयोजन गर्दै आउनुभएको छ ।

उहाँ छन्दलाई हाम्रो भाषा, सभ्यता संस्कृति र पहिचान पनि मान्नुहुन्छ । यही भएर छन्द जोगाउनु सभ्यता , संस्कृति र पहिचान अनि भाषा जोगाउनु हो भन्ने विचार राख्नुहुन्छ उहाँ । वनारसको सम्पूर्णानन्द विश्वविद्यालयबाटे स्नातक पास गरेर वि.सं २०४२ सालमा नेपाल फर्किनुभएका ज्ञवाली हाल त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।

मृदुभाषी ज्ञवालीले दर्जनौँ साहित्यिक कृति लेख्नुभएको छ । संस्कृतमा शास्त्री र नेपालीमा एमए (प्रथम श्रेणीमा प्रथम) गरेका ज्ञवाली २०६७ सालमा त्रिविबाटै ‘नेपाली महाकाव्यमा वर्गीयता र वर्ग द्व'न्द्वको अभिव्यक्ति’ शीर्षकमा विद्यावारिधि सम्पन्न गर्नुभयो । बहुआयामिक क्षमता भएका साहित्यकार तथा समालोचक डा. ज्ञवालीसँग जनवोलिका लागी रविन्द्र ढुङ्गेलले गर्नुभएको कुराकानी ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

  • तपाईँ एउटा ब्राम्हण परिवारको सदस्य हुनुहुन्छ , तपाईँमा भएको साहित्यिक चेतनाको स्रोत नेपाली कि संस्कृत, तपाईँको साहित्ययात्रा कसरी अघि बढ्यो ?

म विद्यालय जीवनबाटै साहित्य लेखनमा रुचि राख्थेँ । नेपाली र हिन्दी भाषामा समेत कविता, नाटक लेख्थेँ । मेरो पहिलो प्रकाशित रचना भने नेपाली छात्र संघ हरिद्वारबाट प्रकाशन हुने मुखपत्र ‘सगरमाथा’मा छापिएको थियो, ‘हाम्रो कर्तव्य’ शीर्षकमा । हरिद्वारमा रहँदा म कथा, गीत, कविता लेखेर धेरै पटक पुरस्कृत पनि भएँ । कविताभन्दा नाटक बढी लेख्थँे हरिद्वारमा रहँदा म । मैले त्यहाँ रहँदा नाटक लेखेर प्रदर्शन पनि गरेँ ।

एउटा प्रसङ्ग सुनाई हालौँ एकपटक हरिद्वारमै विद्यार्थीहरूले गर्ने कार्यक्रममा मैले सामन्तवादविरोधी, पंचायतविरोधी नाटक प्रदर्शन गर्दा भारतका लागि नेपाली राजदूत रिसाएका थिए । म लेखन, निर्देशन र अभिनयसमेत आफैँ गर्थेँ, हरिद्वारमै विद्यार्थीहरूले गर्ने कार्यक्रममा मैले ‘अवला नारी’ शीर्षकको नाटक लेखेँ । यसरी नै तत्कालिन राजनीतिक चेतना पनि पक्रिँदै मैले मेरो साहित्यिक यात्रा अघि बढाएँ । गणतन्त्रपछि देशको राष्ट्रगान परिवर्तन गर्ने कुरा आयो । राष्ट्रगानको माग भयो । मैले पनि आफूले रचना गरेको एउटा गीत राष्ट्रगानका लागि दर्ता गरँे ।

तर, मेरो गीत छनोट भएन । मलाई राष्ट्रगान छनोट समितिमै रहेका एक जनाले मरो गीत छनोट भएको भनेर बधाई पनि दिए । तर, पछि मेरो गीत छनोटमा परेन । घोषणामा अर्कै स्रष्टाको गीत आयो । म चकित परे । कतिपय मिडियाले मरो गीत दोस्रो, तेस्रो भएको भनेर लेखे । कति साथीभाइले मु'द्दा हाल्न पनि उक्साए । तर, मैले मु'द्दा हालिनँ । ‘मु'द्दा हालेर नै के हुन्थ्यो र !’, पछि मैल सोधेँ किन पछि हटाइयो भनेर । जवाफ बडो रमाइलो आयो– म बाहुन भएकाले र जनजातिको गीत छनोट गर्नुपर्ने भएकाले मेरो गीत छनोटमा नपरेको रे त्यसैले पनि मलाई बाहुन हुनुमा कुनै गर्व छैन् । नेपाली भाषाको स्रोत पनि संस्कृत हो , त्यसैले पनि मैले दुबै भाषाको अध्ययन गरेको छु ।

  • तपाईँ कविता , नाटक लगायत गीतमा रमाईरहेको मान्छे समालोचना तिर कसरी मोडिनु भयो ?

म कविता, नाटक र उपन्यास तथा गीत त लेख्थेँ नैे– अब नयाँ बाटो पनि समात्नुपर्छ भन्ने लाग्यो त्यो नयाँ बाटो भनेको समालोचनाको बाटो थियो । ‘सिर्जना त उसै गरिरहेकै थिएँ’, ‘समालोचनाले अझ आफूलाई फराकिलो र बौद्धिक बनाउने ठानेँ र यता पनि लागेँ ।’मैले पद्यमकन्या क्याम्पसमा पढाउन सुरु गर्दैदेखि समालोचना पनि लेख्न थालेँ । २०५२–०५३ सालतिरै नेपाली वर्ण्विन्यासमा देखिएका समस्या र समाधानबारे समालोचना लेखेँ । त्यसपछि वालकृष्ण समको नाटक (पछि चलचित्र पनि बन्यो) ‘प्रेमपिण्ड’माथि समालोचना लेखँे ।

मैले यसबीचमा लेखेका समालोचनामध्ये केही समालोचना निकै आ'लोचित र वि'वादित पनि बने । तेस्रो आयामका अभियन्ता, लीलालेखनका सूत्रधार ईन्द्रबहादुर राई त्यसबेला असममा सांसद हुनुहुन्थ्यो । राईले माक्र्सवादको विरोधमा एउटा पुस्तक लेख्नुभएछ । उक्त पुस्तकमाथि मैले समालोचना लेखेँ । उक्त समालोचनालाई लिएर केही स्रष्टाहरू र समालोचकबाटै निकै रीसानी भयो । ‘मैले त उक्त पुस्तकमाथि निकै विद्वान्हरूलाई राखेर बहस गराएर लेखेको थिएँ’, ‘तर उक्त समालोचनाको व्यापक आलोचना र विरोध भयो ।’

गणतन्त्रपछि युवाकविहरू कृसु क्षेत्री, मनोज न्यौपाने र चेतनाथ धमलाले ‘विलयन काव्य’का नाममा एउटा कविताकृति निकालेँ । उक्त कृतिमाथि पनि मैले समालोचना गरे । त्यस समालोचनाको पनि निकै आलोचना र विरोध भयो । समालोचनाले अझ व्यापक र अनषन्धानपे्रमी बनिनेरहेछ ।

  • तपाईँ छन्दकवि र छन्दमा नै निरन्तर बगिरहनुभएको स्रष्टा , हाल केमा व्यस्त हुनुहुन्छ ?

म दुई दशकभन्दा अघिदेखि छन्दको संरक्षण, विकास, विस्तार र परिष्कारमा पनि उत्तिकै सक्रिय छु । दशकौँदेखि आफैँ विभिन्न स्थानमा गएर छन्द प्रशिक्षणका कार्यक्रमहरू गर्दै र प्रशिक्षण दिँदै आएको छु । कति ठाउँमा, कति जनालाई छन्दबारे प्रशिक्षण दिइयो भन्ने हिसाब मैले राखेको छुईन् । मेरा छन्दका शिष्यको संख्या हजारौँ रहेको छन् ।

‘यो त मेरा लागि गर्वको विषय हो कि मैले निरन्तर छन्दको संरक्षणका लागि सक्रियता देखाउन पाएको छु’, त्यसैले म सन्तुष्ट छु । अहिले पनि पुराना र नयाँ पुस्ताका छन्दकविहरूलाई प्रस्तुत गर्ने कार्यक्रम ‘छन्द–तरंग’ नियमित संयोजन गर्दै आएको छ । र हामीले बुझ्नुपर्ने कुरा यो छ कि छन्द विना कुनै पनि कविता बन्न सक्दैन् ।

  • ‘विवश आँसु’बाट ‘विजय’ पात्रको विजय कि तपाईँको विजय ? तपाईँको नाटकमा संवाद र दृश्य पनि चलचित्रकै जस्तो हुने कारण के हो ?’

मैले लेखेर निर्देशन तथा अभिनयसमेत गरेको नाटक ‘विवश आँसु’को नायक म आफैँ थिएँ । विजय नाम गरेको नायकको प्रभावकारी अभिनयका कारण मेरो नाम नै परिवर्तन भएर ‘विजय’ बनेको थियो । ‘यति धेरै लोकप्रिय भयो त्यो नाटक कि धेरै पटक, धेरै ठाउँमा प्रदर्शन गरियो’, ‘त्यसको नायकको अभिनय गर्ने मेरो नाम नै विजय बनाइदिए दर्शकले ।’

पछि यही नाटक सांस्कृतिक संस्थानमा देखाइने भयो तर पंचायतविरोधी भनेर आरोप खेपिरहेको उक्त नाटक तत्कालीन अंचलाधीशबाट स्वीकृत गराउन हम्मे नै पर्थयो । मैले थोरै चलाकी गरेँ – नाटकमा रहेको एउटा शब्द ‘पंचे’ हटाएर । सँगै अंचलाधीश कार्यालयका एक कर्मचारीलाई २०० रूपैयाँ घुस पनि ख्वाएँ । ‘७०० रूपैयाँ तलब पाउँथेँ, त्यसबाट २०० रूपैयाँ ती कर्मचारीलाई दिएर नाटक देखाउन स्वीकृति लिइयो’, ।

उक्त नाटकमा भने मैले नायकको भूमिका गर्न पाईँन । रेडियो नेपालका कलाकारले अभिनय गरे रे ! यद्यपि, मेरो ‘विजय’ विजय नै रहिरह्यो पछिसम्म । यसपछि मैले अन्य नौवटा पूर्णांकी नाटक लेखेँ तर ती कुनै पनि प्रकाशन हुने अवसर मिलेन । कारण, आर्थिक अभाव । दुईवटा एकांकी भने मेरा विद्यार्थीले पैसा उठाएर छापिदिए । नाटकमा लाग्नुको प्रेरणाको जस भने म चलचित्रलाई दिन्छु । ‘त्यसबेला चलचित्र निकै हेरिन्थ्यो, जसले गर्दा नाटकमा रुचि भयो’, ‘मेरा नाटकमा संवाद र दृश्य पनि चलचित्रकै जस्तो हुने कारण पनि यही हो ।’

डा.रामप्रसाद ज्ञवाली

१. म नाङ्गो पथ !

म नाङ्गै पल्टेको पथ हुँ सदियौँ कुल्चिन गई
मलाई कुल्चन्छौ रनवन तिमी निर्मम भई
हिँडेका छौ मेरै उर–उपर टेकी छिन छिन
तिमी गर्र्छौ मेरै हृदय अझ यो आहत किन ?

म गोरेटो बन्दै जुग जुग सहेँ लात कतिको
र घोडेटो बन्दै युग युग सहेँ टाप कतिको
नदीमा खोल्सामा पुल बनिदिएँ राहत दिन
तिमी गर्र्छौ मेरै हृदय अझ यो आहत किन ?

मलाई नै टेकी कति कति पुगे गाउँ–घरमा
सिँढी बन्दै मैले कति कति चढाएँ शिखरमा
सबै बिर्सी मेरा गुन मसित नै हुर्मत लिन
तिमी गर्र्छौ मेरै हृदय अझ यो आहत किन ?

चिरी मेरै छाती नहर बनिए यी कति कति
मलाई नै काटी सहर बनिए यी कति कति
दिएँ मात्रै मैले रतिभर कसैबाट लिइनँ
तिमी गर्र्छौ मेरै हृदय अझ यो आहत किन ?

सहेँ लात्ती तिम्रो दिन दिन नयाँ जीवन दिन
बनेँ साथी तिम्रो हरबखत टाढा म भइनँ
सकेनौ खै कैल्यै बदलिन गुणी भै गुण लिन !
तिमी गर्छौ मेरै हृदय अझ यो आहत किन ?

कुरा सुन्दै तिम्रै युग युग म बाटो बनिरहेँ
चढेँ डाँडाकाँडा रनवन र बेँसी पनि झरेँ
सहेँ आँधीबेरी हिउँ अनि तुषारो सब सहेँ
अचाक्ली भो, मैले अब नसहने निर्णय गरेँ ।

२. विश्वासको प्रश्न

जिन्दगीमा सधैँ राम्रो सोचेजस्तो कहाँ छ र ?
डढेलो कहिले लाग्छकहिले ढल्दछन् घर
यौटा घर ढले साथी अर्को घर खडा गर
रचनाकारको बाटो सजिलो कुन पो छ र ?

आँधीबेरी हुँदा केहीबोट लत्रिन सक्दछन्
बाढीपैरो हुँदा केहीबाटा भत्किन सक्दछन् ।
बाटो भत्क्यो भने यौटाअर्को बनाउने गर
हिमाली नदको यात्रारोकिएको कहाँ छ र ?

कठ्याङ्ग्रिएर जाडोमाबस्न सक्छौ तिमी तर
सक्दैनौ किन हो ताप्नआगो बालेर हुर्हुर ?
“पानीमा कसरी बालूँआगो ?” भन्छौ तिमी तर
सबैभन्दा बढी आगो पानीमै हुन्छ, हैन र ?

खडेरी फैलियो भन्दै सुुक्छन् समुद्र पो कहाँ ?
आँधीबेरी बढ्यो भन्दै झुक्छन् हिमाल पो कहाँ ?
भत्कन्छन् घरका छाना के फेरि छाइँदैन र ?
रात लामो भएकैले बिहानी आउँदैन र ?

बाघले घाँस खाँदैन जत्ति भोको भए पनि
वीरको आँत जाँदैन वीर आफै गए पनि
मान्छेलाई निराशाले बचाएको कहाँ छ र ?
विश्वासमै अडेको छ सारा संसार, हैन र ?

सम्बन्धित खबरहरु