काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत विनय मोहन क्वात्राले अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका अर्थमन्त्री डा खतिवडाले नवनियुक्त राजदूतलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना दिनुभयो । साथै, नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिनुभयो ।

भेटमा अर्थमन्त्रीले नेपालको विकास कार्यसूची, आर्थिक स्थिति, वित्तीय सङ्घीयताको कार्यान्वयनमा नेपालको अनुभव, बैंक, वित्त र राजश्व क्षेत्रमा भएका सुधार, द्विपक्षीय आर्थिक सहयोग, व्यापार, लगानीलगायत विषयमा जानकारी गराउनु भएको थियो । उहाँले भूकम्पपश्चात्को पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

अर्थमन्त्रीले कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउँदैै यस भाइरसविरुद्ध लड्न सहकार्य गर्नसमेत आग्रह गर्नुभयो । उहाँले कोभिड–१९ विरुद्ध भारत सरकारको अगुवाइमा स्थापित १० मिलियन अमेरिकी डलरको आकस्मिक कोषको स्वागत गर्नुभयो । अर्थमन्त्रीले यसविरुद्ध भारत सरकारले मेडिकल, स्वास्थ्यकर्मी र स्वास्थ्यसँग सम्बन्धित मेशिनरी सामान नेपाललाई सहयोग गर्ने प्रस्तावको प्रशंसा गर्नुभयो ।

अर्थमन्त्रीले कोभिड–१९ को समस्याबाट नागरिकको स्वास्थ्य र सुरक्षामा कुनै जोखिम आउन नदिन दुवै देशले विशेष सजगता अपनाउनुपर्ने बताउँँदै यसको जोखिम न्यूनीकरण गर्न दुवै देशको नाकाहरुमा निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो । यस प्रकोपको समयमा अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने र सहकार्यबाट नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अर्थमन्त्रीले विकास आयोजनाहरुको सहज कार्यान्वयनका लागि हाल देखिएका सबै समस्या समाधान गरी भारतीय सरकारको सहयोगमा सञ्चालित विभिन्न पूर्वाधार आयोजनाहरुको निर्माण कार्यमा तीव्रता दिनसमेत अनुरोध गर्नुभयो । द्विपक्षीय तथा बहुपक्षीय व्यापारका लागि आवश्यक पूर्वाधार निर्माण, भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण, साना अनुदान कार्यक्रमअन्तर्गत सञ्चालित आयोजनाहरुको निर्माण कार्यमा पनि तीव्रता ल्याउन अनुरोध गर्नुभयो ।

नेपालमा भारतीय पक्षबाट प्रवद्र्धन गरिएका व्यावसायिक परियोजनाहरुको निर्माण अवस्थाको समीक्षा गर्दै ती परियोजनाहरु तोकिएकै समयमा सम्पन्न हुने वातावरण गर्नसमेत अनुरोध गर्नुभयो । उहाँले नेपाल र भारतबीच हुनसक्ने अवैध र अनौपचारिक व्यापारलाई नीतिगत र प्रणालीगत समन्वय र सहकार्यबाट नियन्त्रण गरी व्यापार, लगानी र वित्तको क्षेत्रको सुदृढीकरण गर्न संयुक्त प्रयास हुनुपर्नेमा जोड दिनुभयो । राजदूत क्वात्राले नेपाल र भारतबीच लामो सम्बन्ध भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपालसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुुभयो । उहाँले भारत सरकारले आगामी दिनमा नेपाल सरकारलाई सहयोग बढाउने बताउनुभयो ।

सम्बन्धित खबरहरु