निबको तल
नग्न उर्वर चट्टानहरुमाथि
लेख्ने प्रयास गर्दैछु
उल्टो कलमले
बहिनीको प्रसव वेदना ।

नक्षत्रको अन्तरीक्षमा
चम्किरहेको बिजुली
र ओइलाइरहेका फुलबाट
खुत्रुक्क झरेका हुँदा हुन्
कम्मर माथीका स्थानहरु ।

सयौं क्यामेराहरुको
झम्टाइले
सालिकतिर पुलुक्क हेर्दै
मेरो सानो छोराले
अध्यक्षलाई फलफूल चढाएर
रित्तै घर फर्किएको दिन

मेरा बाउ खोज्ने बाहानामा
अध्यक्षकै घरमा
बालुवाका रडहरु बनाउँदै थिएँ ।

पर गाई चर्ने फाँटमा
कलमहरु बजाउँदै थिए
एकोहोरो शङ्ख
लोडसेडिङले मात्तिएर
मैन बल्न छोडिसकेको थियो
दियोको तेल
पग्लिसकेको थियो
नि:सन्तान दम्पतीहरु
सय दिनको हनिमुन
मनाउँदै थिए ।

हेलिकप्टरमा ठोक्किएर
निधार खुम्चिएका
बिर्खे दाइ
रसायनशास्त्रको हेलियम
सुङ्दै थिए
सियो हराएर खोज्दै थिइन् माइली आमै
विद्रोह गर्दै थिए साहित्यकार
नेपाल फर्कन
बस कुर्दै थिए
खाडीको खाल्डामा उसिनिएका काका ।

ओछ्यानमा पल्टिएर
निदाएको सपना
देख्दै छु म
बहिनी ग्यासमा आगो उमालेर
सराप्दै छिन्
अध्यारोलाई ,
सानो छोरो
कलमको निबलाई हकार्दै छ ।

कलम भन्दैछ
सुस्तरी जवाफ दिनुस् महोदय
कोहि रोईरहेको छ
मैले पनि सुन्नुपर्छ ।।

सम्बन्धित खबरहरु