हात नै हो बारम्बार नाक मुख छुने
त्यो हातलाई साबुन पानी लगाएर धुने
यो कामलाई सम्झी-सम्झी गर्ने गरौँ जहिले
सजग हुने कोशिस गरौँ त्रसित हुनु पहिले

बाहिर कतै जानै परे मास्क लाउनु राम्रो
हात मिलाउनु भन्दा सभ्य 'नमस्कार' हाम्रो
भिडभाडलाई त्याग गरौँ सके जाँदै नजाउँ
कोरोनाको कहरलाई सबै मिली भगाउँ

खोक्दा अनि हाच्छ्युँ गर्दा ढाकौँ नाकमुख
थाहा नै छ यस्तो बेला उछिट्टिन्छ थुक
यात्रा गर्न कम गरौँ घरैभित्र रहौँ
परिस्थिति बुझौँ सबले यति कष्ट सहौँ

मौषम नै यस्तै पर्यो लाग्न सक्छ खोकी
शंका त्यतै जान सक्छ कोरोना नै हो कि
आत्तिएर कुद्नुभन्दा साबधान बनौँ
जोगिने केही जुक्ति भए छरछिमेकमा भनौँ

दोश्रो व्यक्तिसँग धेरै नजिक पर्नु हुन्न
खेलाँचीले जोखिम हुन्छ ठट्टा गर्नु हुन्न
साँच्चै शंका लाग्यो भने जाऔँ जँचाउन
आफू बचौँ लागि परौँ सबलाई बचाउन

उच्च ज्वरो अचानक १०४ आए
बेसै हुन्छ जाँच्न, बुझ्न अस्पताल धाए
मुख्य लक्षण रैछ खोकी बेस्सरी चलाउने
खोकीसँगै ज्वरो आउने ज्यान पनि गलाउने

सरकारले खोई त नाका सब बन्द गरेको?
एक/दुई महिना केही हुन्न बेहोरौँ परेको
सरकारलाई साथ दिउँ यस्तो कार्य थाले
ठट्टा हैन ज्यानै जाला भाइरस कोरोनाले

सम्बन्धित खबरहरु