काठमाडौं । अहिले सरकारले एक साताका लागि नेपाल बन्दको घोषणा गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्ण रुपमा लकडाउन घोषणा गरिएको छ । यो बीचमा नेपाल टेलिकमले ग्राहकको हितका लागि विभिन्न सेवाहरुको महसुल तिर्ने समयलाई थप गर्ने जानकारी दिएको छ । कोरोनाभाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले चैत्र ११ देखि १८ सम्म मुलुकलाई पूर्ण लकडाउन घोषणा गरिसकेको छ । टेलिकमले सुरुवात देखि नै कोरोना भाइरसविरुद्ध काम गर्दै आएको छ ।
यस सन्दर्भमा अत्यावश्यक सेवाको रूपमा रहेको दूरसञ्चार सेवा प्रवाह गर्ने राष्ट्रको जिम्मेवार र अग्रणी सेवाप्रदायकको रूपमा नेपाल टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता गरेको छ । टेलिकमले पूर्ण लकडाउनमार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू निरन्तर उपलब्ध गराउने जानकारी दिएको छ ।
त्यसैगरी यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद पनि लकडाउन अवधिभरको लागि थप गर्ने जनाइएको छ । अर्को तर्फ कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गरिने भएको छ ।