काठमाडौ । सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ । कोरना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले मङ्लगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो । निषेधाज्ञा अवज्ञा गर्नेलाई ऐनअनुसार कारबाही गरिने उहाँले बताउनुभयो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम नोबेल कोरना भाइरसको सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रामपुरमा २० शैय्याको क्वारेन्टाइन
कोरना भाइरस ९कोभिड– १९० सङ्क्रमितको आशंका लागेकाहरुलाई राख्नका लागि रामपुर नगरपालिका–५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा २० शैय्याको क्वारेन्टाइन बनाइएको छ । गाउँ गाउँमा स्वास्थ्यकर्मीसहितको घुम्ती टोली परिचालन गर्ने र शङ्कास्पद लागेका व्यक्तिलाई बुधवारदेखि क्वारेन्टाइनमा राखिने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिरबाट नगरपालिका भित्रिएका नागरिक र शङ्कास्पद लागेका नागरिकलाई क्वारेन्टाइनमा ल्याएर राख्नेछौ, तत्काललाई वीस शैय्याको क्वारेन्टाइन बनाइएको छ भने आवश्यकता अनुसार दुईसय शैय्यासम्मको बनाउने तयारीमा छौँ ।”

 

भारतलगायत तेस्रो मुलुकबाट नगर भित्रिएका नागरिकलाई सम्बन्धित वडा कार्यालयको अगुवाइमा पहिचान गरी क्वारेन्टाइनमा राखिने उहाँको भनाइ छ । नगरपालिकाले उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि चार वटा पर्सनल प्रोटेक्सन इक्युपमेन्ट र दुई वटा गन थर्मोमिटर व्यवस्थापन गरेको छ । विभिन्न स्थानमा हेल्प डेस्क सेवा पनि दिइरहेको छ ।
पाल्पाका ८९ सवारीसाधन नियन्त्रण

जिल्ला प्रहरी कार्यालय पाल्पाले ‘लकडाउन’को उल्लङ्घन गर्दै आफू खुशी चलाएको भन्दै ८९ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन अत्यावश्यक बाहेक सबै सवारीसाधन बन्द गर्ने सरकारको आदेश पालना नगरेको पाइएकाले ८९ सवारीसाधन नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार तानसेन नगरपालिकामा ३० मोटरसाइकल र ११ ट्रक गरी ४१ सवारीसाधन तथा रामपुर नगरपालिका क्षेत्रबाट ३२ मोटरसाइकल, नौ स्कुटर, पाँच ट्रक र दुई ट्रयाक्टर गरी ४८ सवारीसाधन नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका ती सवारी साधनलाई कागज बनाएर छाडेको प्रमुख काफ्लेले बताउनुभयो । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=E7oLG_LmPPg

सम्बन्धित खबरहरु