कोरोना भाइरस अर्थात कोभिड–१९ सायद नाम नसुन्ने कमै होलान । विश्व स्वास्थ्य संगठनले यस्लाई महामारी भनिसकेको छ । नेपालमा एक हप्ताका लागि लकडाउन गरियो भने भारतमा २१ दिनका लागि गरियो । यी बाहेक अन्य देशहरुले पनि लकडाउन गरेका छन् । तर सबैभन्दा धेरै निम्न वर्गका जनता प्रभावित हुनेहरुमा नेपाल, भारत, पाकिस्तान लगायत गरिब देशहरु रहेका छन् । लकडाउन गर्दा कुनै पनि सरकारले निम्न वर्गका जनताका बारेमा सोच्न सकेनन् ।

दैनिक ज्याला मजदुरी गरेर खानेहरु अहिले पनि भोकभोकै छन् । मध्यम र धनीहरुलाई त विदा मनाएजस्तो भएको छ । अर्को तिर दिनभरी अर्काको साइकलको पन्चर बनाएर बेलुका केही सय पैसा कमाएर त्यसैको तरकारी किनेर परिवार पाल्नेहरु संकटमा छन् । मजदुर जस्ले सुन्दर शहर निर्माण गरे, कसैको घर निर्माण गरे तर उनीहरुको नै आज न बास छ न गास नै छ ।
कोरोना भन्दा धेरै पहिले नेपाल, भारत, पाकिस्तान लगायत गरिब मुलुकहरुमा भोकमरी एक महामारी थियो । यी देशका सरकारहरुले गरिबी हटाउनका लागि यसरी लकडाउन गरेको थाहा थिएन तर आज धमाधम लकडाउन भइरहेको छ ।
भोक, प्यासका कारण सडकमा निस्केपछि प्रहरीले यसरी मान्छे पिट्दैछ मानौ प्रहरीले जस्लाई पिट्यो ति मान्छेहरु नै होईनन् । मानवता भन्ने कुरा त शहरमा सायदै पाउँछ । कोरोना भाइरस पनि कुनै गरिबले ल्याएको होईन ।
अहिले देखिएका धेरै केशहरु पनि गरिबहरुले ल्याएका होईनन् । यो त विदेशबाट पासपोर्टमा धनीहरुले ल्याएका हुन् । तर यस्को कष्ट पनि गरिबहरूले भोग्नु परिरहेको छ ।
एकजनाले गज्जब कुरा लेख्नु भएको छ, ‘आज पुलिसले गरीबहरूलाई डण्डाले जसरी कुटपिट गर्दैछ, यस्तै एयरपोर्टमा पनि कुटपिट गरिएको भए आज देशभरि कोरोना भाइरस आउँदैन्थ्यो ।’
यदी विमानस्थलमा राम्रोसँग चेकजाँच गरिएको भए आज सायद विश्वका कुनै पनि गरिबले यो नियती भोग्नु पर्ने थिएन् । आज दैनिक ज्याला मजदुरी गर्नेहरु कोरोना भाइरसले भन्दा पहिले भोकमरीले सिध्याउँछ कि भन्ने पिरमा बाँच्दैछन् ।