काठमाडौ । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण भक्तजनले घरमै बसेर आराधना गर्नेछन् ।

विगत वर्षमा आजका दिन जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्ने गरेकामा यस वर्ष दुवै देशमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लकडाउन गरिएकाले भीडभाड हुनेछैन । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको बताइन्छ ।

 

त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पुरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

 

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गर्नुभएको बताइन्छ । धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम ‘लोक रञ्जनात् राजा’ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गर्नुभएको बताउनुहुन्छ ।

 

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गर्नुभएकाले उहाँको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिनुभएको हो । रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको उहाँले सुनाउनुभयो ।

 

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानवजातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

 

यस वर्ष लकडाउनका कारण बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारीको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत स्थानमा लाग्ने मेला स्थागित गरिएको छ । ती मन्दिरमा रामनवमीका अवसरमा हुने विशेष पूजा भने गरिने जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=yqsoNzJfGuU

 

सम्बन्धित खबरहरु