खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिनुका लागि सरकारले लागू गरेको ‘लकडाउन’को मारमा परेका बिपन्न परिवारलाई खाद्यान्न प्रदान गर्नुभएको छ । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गरिरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित माल्खुका २५ घरपरिवारलाई उपप्रमुख राईले व्यक्तिगत खर्चमा खाद्यान्न खरिद गरेर प्रदान गर्नुभएको हो ।

 

सरकारले लागू गरेको ‘लकडाउन’का कारण ज्यालादारीको काम गर्न नपाउँदा बिहान बेलुकाको छाक टार्न नसक्ने अवस्थामा पुगेका परिवारलाई खाद्यान्न उपलब्ध गराइएको उपप्रमुख राईले बताउनुभयो । “लकडाउनका कारण काम गर्न नपाउँदा उनीहरुको रोजीरोटी गुमेको र छाक टार्नै समस्या भएको छ”, उहाँले भन्नुभयो, “केही परिवारलाई मात्र सहयोग गर्ने सोच बनाएर गाउँमा पुग्दा अन्य परिवारको अवस्थामा पनि उस्तै देखिएपछि सबै बिपन्न परिवारलाई सहयोग गरेकी हुँ ।”

खाद्यान्न पाउनेमा अधिकांश दलित परिवार, एकल महिला र ज्येष्ठ नागरिक रहेको वडाध्यक्ष चइन्द्र राईले बताउनुभयो । उपप्रमुख राईले २१ दलित परिवार र अन्य चार परिवारलाई परिवार सङ्ख्याको आधारमा प्रतिपरिवार १५ केजीदेखि ३० केजीसम्मका दरले ४२० केजी चामल वितरण गर्नुभएको हो ।

 

दैनिक ज्यालामा त्रिधार्मिकस्थल हलेसी बजारका होटलमा भाँडा माझ्ने, कपडा धुने, लोडअनलोड गर्ने लगायतका काम गरेर परिवार चलाइरहेको अवस्थामा ‘लकडाउन’ लागू भएपछि समस्यामा परेको जानकारी आउनासाथ खाद्यान्न प्रदान गरिएको उपप्रमुख राईले बताउनुभयो । खाद्यान्न वितरणका लागि उपप्रमुख राई हलेसी बजारबाट चामल लिएर बुधबार साँझ माल्खु पुग्नुभएको थियो ।

 

उपप्रमुख राईले घरमै पुगेर खाद्यान्न उपलब्ध गराउनुभएपछि बिपन्न परिवारसमेत खुसी भएको स्थानीयवासीले बताएका छन् । वडा नम्बर–७ महादेवस्थान कै कातिके, गैरीगुठ र ऐसेलुखर्कका १४ बिपन्न परिवारलाई पनि खाद्यान्न सहयोग गर्ने तयारी गरेको उपप्रमुख राईले बताउनुभएको छ ।

 

लकडाउनका कारण दैनिक ज्यालादारी गर्न नपाउँदा सुख्खाग्रस्त क्षेत्र हलेसी आसपासका स्थानीयवासीलाई जीवन निर्वाहमा सबैभन्दा बढी समस्या भएको छ । यस वर्षको खडेरीका कारण अन्नपातको दाना समेत नभएको हलेसीका स्थानीयवासीलाई नगरपालिकाले पनि खाद्यान्न उपलब्ध गराउँदै आएको छ ।

 

खेतीपाती बाहेक अन्य आम्दानीको स्रोत नभएको सुख्खाग्रस्त क्षेत्र हलेसी आसपासका स्थानीयवासीमा यस वर्ष गएको लामो समयको खडेरीले खाद्यान्नको चरम अभाव भएको छ । दैनिक छाक टार्नको लागि एक मात्र विकल्प रहेको खेतीपाती समेत खडेरी र फौजी किराको प्रकोपले सखाप पारेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

 

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सो नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र कम्तिमा मासिक रु १५ हजार नियमित आम्दानी भएका बाहेकका परिवारलाई चामल वितरण गर्दै आएको छ । खडेरीले मकै छर्न नपाएका र छरिएको मकैको बिरुवा समेत मरेपछि नगरसभाबाटै खाद्य सङ्कट क्षेत्र घोषणा गरेको थियो ।

 

खाद्य सङ्कट क्षेत्र घोषणा गरेको नगरपालिकाले रु एक करोड ३० लाख बराबरको चामल खरिद गरेर ल्याएको थियो । मकै, कोदो, गहत, जुनेलो, फापर र मासभटमास मात्र फल्ने हलेसी क्षेत्रमा फौजी किराले समेत आतङ्क मच्याएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु