काठमाडौ । लकडाउनका कारण दाङमा रगतको अभाव देखिएपछि रक्तदानका लागि ‘मोबाइल अभियान’ शुरु गरिएको छ । अभियानअन्तर्गत जहाँबाट रक्तदाताको फोन आउँछ, त्यही स्थानमा गएर रगत सङ्कलन गरी बिरामीसम्म पु¥याइनेछ । रक्तसञ्चार सेवा केन्द्र, घोराहीका प्रमुख दिलीप न्यौपानेका जानकारीअनुसार बन्दका कारण रगत अभाव भइरहेको र त्यसलाई पूर्ति गर्न सामाजिक अभियन्ताको सहयोगमा ‘मोबाइल अभियान’ शुरु गरिएको हो । “रक्तदाताले जहाँ बोलाउँछन्, त्यहीँ पुगेर रगत सङ्कलन गर्न प्राविधिक टोलीसमेत तयार पारेका छौँ”, उहाँले भन्नुभयो, “राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियममित मिर्गौलाको डायलासिस गर्ने, सुत्केरी, एनिमियाका बिरामीलाई धेरै रगत चाहिने हुँदा जिल्लामा रगतको खपत धेरै हुने गरेको छ ।”

 

यही चैत ११ गतेदेखि लकडाउन शुरु भएपछि सबैखाले रक्तदानको कार्यक्रम रोकिएको थियो । विभिन्न सङ्घसंस्थाले स्थापना दिवस, वार्षिकोत्सवलगायतका कार्यक्रममा नियमित रक्तदान गर्दै आएका थिए । तर लकडाउनपछि त्यस्ता सबै कार्यक्रम रोकिएका छन् । रक्त सञ्चार केन्द्रले मौज्दात राखेको रगत पनि सबै सकिएपछि यो अभियान सञ्चालन गर्नका लागि सबैलाई अपिल गरिएको प्रमुख न्यौपानेले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय दाङमा बिहीबार भएको बैठकमा रगत अभाव भएको प्रसङ्ग उठेपछि रक्तदान विशेष अभियानको थालनी गरिएको अभियानकर्मी नरेन्द्र केसीले जानकारी दिनुभयो । अभियानको शुरुआतमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले रक्तदानका लागि झण्डै ५० जनाको नामावली तयार पारेको अनेरास्ववियु दाङका संयोजक जङ्ग रोकाले जानकारी दिनुभयो ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकैको रक्तदान केन्द्रमा जम्मा गरिएको रगतले एउटै अस्पतालका सेवाग्राहीलाई समेत रगत पु¥याउन नसकिएको केन्द्रले बताएको छ । न्यौपानेका अनुसार केन्द्रमा दैनिक १० देखि १५ बिरामीका आफन्तहरु रगत माग्न आउँछन् । मुस्किलले एक–दुई जना बिरामीलाई रगत दिन सकिएको छ । त्यो पनि बिरामीका आफन्तकै रगत झिकेर । दाङ मात्र नभएर रुकुम, रोल्पा, प्यूठान र सल्यानका बिरामीसमेत रगतका लागि दाङ आउने गर्छन् । विसं २०५८ मा स्थापना भएको रेडक्रसले स्थापनाकालदेखि हालसम्म रेडक्रस सोसाइटबाट सरदर मासिक चार हजार ५०० युनिटसम्म रगत वितरण गर्ने गरेको छ । स्वास्थ्यका हिसाबले १८ वर्षमाथिका र ६० वर्ष नपुगेका ४५ किलो तौल भएका जुनसुकै व्यक्तिले रक्तदान गर्न सक्ने बताइन्छ । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु