काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यजन्य उपकरण खरिदमा भएको भनिएको भ्रष्ट्राचारको फायल खोलेको छ । उक्त आरोप लागेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालमाथि छानबिन प्रक्रियापनि अघि बढाउने भएको छ । अख्तियारमा ढकालविरुद्ध उजुरी परेपछि छानबिन अघि बढाइने भएको हो । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार ढकालविरुद्ध उजुरी प्राप्त भइसकेकाले अब छानबिनका लागि आन्तरिक प्रक्रिया सुरु गरिनेछ । प्रवक्ता कोइरालाले भने, ‘अब आन्तरिक प्रक्रिया सुरु हुन्छ । उजुरीलाई सिस्टमले रिप्लाइ गरिसकेको छ ।’ ढकालविरुद्धको अनुसन्धान प्रक्रियालाई अघि बढाउने विषयमा अख्तियारले आन्तरिक छलफल थालेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

 

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्यमन्त्री ढकालविरुद्ध बुधबार अख्तियारमा उजुरी परेको थियो । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेश सभा सदस्य रमेश पौडेलले मन्त्री ढकालविरुद्ध उजुरी दिएका थिए । उजुरीपत्रमा बजार दरभन्दा चार गुणासम्म महँगो पर्नेगरी मेडिकल सामग्री खरिद गरिएको उल्लेख छ । खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको दाबी गरिएको छ । उजुरीपत्रमा मेडिकल सामग्री सप्लाइको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिनुलाई अनियमितता भएको आधारका रूपमा लिन सकिने उल्लेख गरिएको छ ।

वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेसन स्वीकृत गरेको, विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको र भरपर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएको र्यापिड टेस्टिङ किट ७ करोडभन्दा बढीको लागतमा किनेको उजुरीपत्रमा दाबी गरिएको छ । स्वास्थ्य क्षेत्रको नेतृत्व गरेका स्वास्थ्यमन्त्री ढकालको कमजोरीका कारण स्वास्थ्यजन्य सामग्री सहज तरिकाले आपूर्ति हुन नसकेको भन्दै सर्वत्र विरोध भएको छ । विपद्को समयमा स्वास्थ्यजन्य सामग्रीहरू सहज रूपमा खरिद नहुँदा आमस्वास्थ्यकर्मी मारमा परेका छन् ।

 

अधिकांश प्रदेश र स्थानीय तहमा स्वास्थ्यकर्मी स्वास्थ्य सामग्रीबिना जोखिम मोल्दै काम गर्न बाध्य छन् । स्वास्थ्य मन्त्रालयमा गत शुक्रबार ओम्निसँग सम्झौता हुँदा स्वास्थ्यमन्त्री ढकाल, स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ, विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल, आपूर्ति प्रमुख चुडामणी भण्डारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक रुणा झा, ओम्नीका प्रतिनिधि, केही सप्लायर्सको सहभागिता थियो ।

 

सम्झौतापत्रमा स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. कार्कीलगायतको हस्ताक्षर छ । ठेक्का विवादमा आएपछि ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका अधिकारीहरूलाई कानुनबमोजिम कारबाही गर्न सर्वसाधारणबाट चर्को दबाब पर्दै आएको छ । यही कारण कसैको ज्यान गएमा को जवाफदेही भन्ने प्रश्न सर्वत्र गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु