जीवन खत्री, सउल, (रासस) कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत उनमा कोरोना संक्रमण भएको पाइएपछि उनी मार्च १९ देखि ख्याङ्बुक नेशनल युनिभर्सिटी अस्पताल थेगुमा उपचाररत थिए । उनलाई आफ्नो मेडिकल क्लिनिकमा आएका संक्रमितको जाँच गर्ने क्रममा संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।

कोरियामा कोरानाका कारण शुक्रबारसम्म उनीसँंगै मृत्यु हुने १७४ जना पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ । त्यहाँ हालसम्म संक्रमित १० हजार ६२ छन् । दक्षिण कोरियामा कोरोना भाइरस नियन्त्रणमा आइरहेको खबर सार्वजनिक भइरहेका बेला चिकित्सकको मृत्युले सिङ्गो चिकित्सा क्षेत्रले शोक मनाइरहेको उनका सहकर्मीले जनाएका छन् । उनीहरूले भनेका छन्, ’हामी हाम्रो सहकर्मीको उच्च सम्मान गर्दै कोरोनासँग डटेर लड्ने छौँ । कोरोना संक्रमित प्रत्येक बिरामी उपचारपछि सकुशल अस्पतालको ढोकाबाट मुस्कुराउँदै बिदा नभएसम्म हामी निरन्तर खट्ने छौँ ।’ कोरियामा कोरोना संक्रमणका कारण चिकित्सकको मृत्यु भएको यो पहिलो घटना हो ।

एनआरएनए कोरियाले चार हजार किट्स नेपाल पठाउने
एनआरएनए कोरियाले कोरोना परीक्षण गर्ने दुई हजार किट्समा अरु दुई हजार थपेर चार हजार किट्ससहित अन्य स्वास्थ्य सामग्री पठाउने निर्णय गरेको छ । एक हप्ताअघि नै नेपाल पुगिसक्नु पर्ने उक्त किट्स कोरोना भाइरस संक्रमणकै कारण विमान उडान प्रभावित हुँदा पठाउन समस्या भएको हो । यससँगै उक्त किट्स नेपाल कहिले पुग्छ भन्ने अन्योल अझै कायम छ ।

एनआरएनए कोरियाले आज एक जानकारीपत्र जारी गर्दै नेपाल पठाइने भनिएको चार हजार किट्स २४ घण्टाभित्र नै सुरक्षित रुपमा भण्डारण गरिनुपर्ने अनिवार्य बाध्यता र विमान उडान तालिकाको अनिश्चितताका कारण खरीद गरिएको किट्स नेपाल पठाउन नसक्दा सुरक्षित रुपमा उत्पादक कम्पनीमा नै भण्डारण गरिएको जनाएको छ । कोरियन एअरको सउल–काठमाडौँ चार्टर्ड उडान तालिकाको निश्चिततासँगै यथासक्दो छिटो नेपाल सरकारसमक्ष सामग्री हस्तान्तरण गरिने जनाइएको छ ।

जानकारीपत्रअनुसार ती किट्सबाहेक अन्य स्वास्थ्य सामग्रीअन्तर्गत दुई हजार थान पिपिई , १० हजार एन ९५ मास्क, २० हजार सर्जिकल मास्क, दुई हजार ग्लास, दुई हजार प्रोटेक्टिङ भाइजर, १० हजार पञ्जा र पाँच सय थर्माेमिटर चाहिँ आजै चीनको ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावासलाई जिम्मा लगाइने भएको छ । उक्त स्वास्थ्य सामग्री नेपाल एअरलायन्सको विमान आगामी चार्टर्ड गरिएका बखत नेपाल पु¥याइने छ । दक्षिण कोरिया सरकारले कोरियाबाट निर्यात गर्न बन्द गरेपछि उक्त स्वास्थ्य सामग्री चीनमै खरीद गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु