संसारकै आमा : इन्दिरा राना मगर

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १५ पुस, २०७१

विसं २०२७ सालमा झापाको शनिश्चरे–६ सालबारीमा प्रतापसिंह र मनमाया मगरकी कान्छी छोरी इन्दिरा रानामगर स्विडेनको ‘वल्र्डस चिल्डेन्स फाउन्डेसन’ ले दिने ‘वल्र्डस चिल्डेन प्राइज’ को बल्र्ड चिल्ड्रेन प्राइज २०१४ अनरी अवार्ड विजेता बन्न सफल हुनुभएको छ । इन्दिरा बन्दि अभिभावकका बालबालिकाको शिक्षादिक्षामा काम गर्ने ‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ संस्थाकी अध्यक्ष हुन् ।

वल्र्ड चिल्ड्रेन्स् प्राइज–२०१४’ मा कसरी छनौट हुनुभो ?

मलाई पनि सुरुमा थाह थिएन । यो बालबालिकाको क्षेत्रमा ‘नोबल पुरस्कार ’जस्तै रहेछ । स्विडेनको वल्र्डस् चिल्ड्रेन्स प्राइज फाउन्डेसनका प्रतिनिधि केही महिना अघि नेपाल आएर दुई हप्तासम्म मेरो काम हेरेका थिए । त्यसको मूल्यांकन भएर होला, म छनौट भएछु ।

छनौट भएको कसरी थाहा पाउनुभो ?

म मनोनित भएपछि माइति नेपालमा खबर आएछ । यहाँको फोकल पर्सन जेनिथ गुरुङ भन्ने भाइ हुनुहुन्छ । उहाँहरुबाटै थाह पाएँ ।

तपाइको विगत जान्न मन लाग्यो, साँच्चै बाल्यकाल कसरी बित्यो ?

सानोमा मैले निकै दुःख पाएँ । म गरिब परिवारमा जन्मेँ । गरिबीले गर्दा खानलाउन समेत मुस्किल थियो । कहिलेकाहीं जंगलबाट खोजेर ल्याएका गिठा, भ्याकुर खाएर पेट भथ्र्यौ । सतार समुदायका बालबालिकासँग म खोलामा गँगटा र माछा मार्न पनि जाँन्थे । निगुरो टिपेर ४ आनामा बेच्थ्यौं । ज्यालामजदुरी गर्नुपथ्र्यो । ती दिन सम्झिदा अहिले पनि मन भकानिन्छ । वास्तवमा मेरो बाल्यकाल यति कठिन अवस्थामा बितेको थियो कि सबै भन्ने हो भने किताब बन्छ ।

उसो भए तपाइले सानोमा पढ्न पाउनुभएन ?

सँगैका साथी स्कुल जाँदा म गाइबाख्रा चराउन जंगल जान्थेँ । मनमा पढ्ने रहर भए पनि त्यो अवसर ११ वर्षको हुँदासम्म पाइन । त्यतिबेला गरिबका छोराछोरीले स्कुल पढ्नु भनेको आकाशको फल आँखा तरि मर भनेजस्तो थियो । अझ छोरीलाई स्कुल पठाउने त निकै गाह्रो थियो । हाम्रो समुदायमा छोरीलाई पढाउनुपर्छ भन्ने चेतना पनि कमै थियो । दाइ स्कुल जाँदा मलाई पनि जान रहर लाग्थ्यो । तर, मैले त्यो अवसर पाइन । मलाई पनि पढ्ने इच्छा जाग्यो । अनि दाईले लखेको देखेर घरमै पढ्न, लेख्न सिकेँ । गोठाला गएका बेला जमिनमा झिँजाले लेख्थेँ । हात र खुट्टाले पनि लेख्थेँ । यसरी मेरो पढ्ने इच्छा पूरा गरेँ ।

कसरी स्कुल जान सफल हुनुभयो ?

एक दिन शनिश्चरे माविका हेडमास्टर हस्त परियार हाम्रो घर आउनुभो । उहाँले सोधेपछि मैले स्कुल जान नपाएको सुनाएँ । त्यसपछि सरले केही कुरा सोध्नुभो । फटाफट उत्तर दिएपछि सरको मन पग्लिएछ । उहाँकै सहयोगमा म एकैचोटि ५ कक्षामा भर्ना भएँ । कक्षामा प्रथम भएँ । १६ वर्षमा एसएलसी पास गरेँ । क्याम्पस भर्ना हुन दमक आएँ । अभिभावक नभएकाले भर्ना गरिएन । म बेस्सरी रोएँ । त्यतिबेला न पैसा थियो, न क्याम्पस सम्म आमा, बुबा आउन अवास्था थियो । पछि सबै कुरा थाह पाएपछि सरहरुले भर्ना गर्दिए ।  छात्रवृत्तिको व्यवस्था गरे । त्यसपछि स्कुल हुँदै क्याम्पस पढ्ने धाको पूरा भयो ।

अनि काठमाडौं किन झर्नुभयो त ?

२०४७ सालमा बिए पढ्न भनेर झापाबाट काठमाडौं छिरेको हुँ । त्यतिबेला मसँग खासै पैसा पनि थिएन । स्कुल पढ्दा चिनेकी साथी मीना टाँक बनाउने कम्पनीमा काम गर्थिन । उनकै सहयोगमा टाँक बनाउने, कपडामा आइरन लगाउने काम पाएँ । थोरै रकम जम्मा गरेपछि पब्लिक युथ क्याम्पस भर्ना भएँ ।

बन्दी अभिभावका बालबालिकाको शिक्षादिक्षामा काम गर्ने जोश कसरी पलायो ?

टाँक बनाउने कम्पनीको कमाई खर्च नटरेपछि कतै राम्रो जागिर पाइन्छ कि भनेर पत्रिकामा छापिएका विज्ञापन हेर्थे । एक दिन ‘शिक्षक चाहियो’ भन्ने विज्ञापन देखेँ । म नर्स वा शिक्षक बन्न चहान्थे । नर्स बन्ने सपना पूरा नहुने भएपछि म शिक्षक बन्ने ध्यानमा लागेँ । पत्रिकामा दिएको स्कुल अमृत बोडिर्ङ खोज्दै नयाँबजार गएँ । अन्तवार्ता दिएपछि पास भएँ । सामाजिक र गणित विशय पढाउने भएँ ।

स्कुल नजिकै साहित्यकार पारिजात दिदी बस्नुहुँदो रैछ । दिदी त्यतिबेला मानवअधिकारवादी संस्था ह्युरनकी उपाध्यक्ष हुनुहुँदोरैछ । उहाँले जेल पुगेर बन्दीहरुको अवस्था बुझ्ने, उनीहरुको हक, अधिकारका पक्षमा बोल्ने गर्नुहुन्थ्यो । मेरो संगत दिदीसँग हुँदै गयो । उहाँसँगै जेलमा जान्थे । दिदीले ह्युरनपछि पाम नामक संस्था खोल्नुभो । मानवअधिकार र जेलका बन्दीबारे काम गर्ने यस संस्थाको सदस्य भएँ । त्यसपछि नियमित बन्दीगृह जान थाले ।

केन्द्रीय कारागार गएर बन्दीहरुलाई पढाउन थालेँ । जेलमा बन्दीका बालबालिका पनि बन्दीजस्तै बस्नुपथ्र्यो । मलाई ती बालबालिका देखेर दया लाग्यो । आमाबुवाले गलत काम गरे पनि बालबालिकाले सजाया पाएजस्तो लाग्यो । बन्दिका छोराछोरी भन्ने बित्तिकै समाजले पनि हेला गरेको पाएँ । सडक बालक भनेपछि बरु सबैले माया गर्छन् । तर, बन्दीको बालबालिकालाई समाजबाट पनि तिरस्कार गर्ने । मेरो दिमागमा यहि कुरा खेल्यो । त्यसपछि मैले यसमा केही काम गर्नुपर्छ भन्ने लाग्यो ।

त्यतिबेला बन्दीका बालबालिकालाई चिल्ड्रेन होमले पनि राख्दैनथे । हामीसँग पनि पैसा थिएन । पारिजात दिदीसँग भोलेन्टियर रुपमा काम गरेको थिए । टिउसन पढाएको पैसाले केही सहयोग गरे । त्यसपछि जेलर, प्रहरी अधिकृसँग कुरा गरेर जेलमा रहेका महिला र बच्चालाई पढाउन थालेँ । बिस्तारै, केही बच्चाहरुलाई जेलबाहिर ल्याएर पढाएँ । त्यसपछि यहि क्षेत्रमा काम गरिरहन मन लाग्यो । यसमै सन्तुष्टि पाउन थाले । म यहि काममा लागेर जीवन बिताउँछु । म थुप्रै बेसाहारा बच्चाबच्चीका आमा हुनुमै खुसी छु ।

यो क्षेत्रमा काम गर्न थालेको कति वर्ष पुग्यो ?

पारिजात दिदीसँग काम सुरु गरेको २४ वर्ष बित्यो । त्यसपछि सन् २००० मा मैले स्थापना गरेको ‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ लेस काम थालेको पनि १४ वर्ष भइसक्यो ।

अहिले बन्दिका कति बालबालिकालाई सहयोग गरिरहनुभएको छ ?

जेल परेका अभिभावकका सन्तानहरुको लालनपालन र शिक्षादीक्षामा करिब ४ सय बालबालिकाले सहयोग पाएका छन् । यीमध्ये २ सयजना बन्दीका सन्तान हुन् । तिनले पूर्ण सहयोग पाएका छन् । बाँकी २ सय बच्चा विपन्न परिवारका हुन् । तीनले  आंशिक सहयोग पाउँछन् । म्याग्दी, कास्की, झापा र काठमाडौंका ३८ परिवारका सन्तानलाई ‘छोरी शिक्षा’ कार्यक्रमअन्तर्गत पढाइरहेका छौं ।

कस्तो कस्तो सहयोग गरिरहनुभएको छ ?

हामीले दुई दिनदेखीको बच्चालाई राखेको छौं । केही अघि सात महिनाको बच्चा ल्याएका छौं । काठमाडौं नयाँबजार, साँखु, पाल्पा र झापामा संस्थाले मुख्य काम गर्छ । साँखुमा ८६ बच्चा छन् । नयाँबजार डेरामा मसँगै २८ जना छन् । भक्तपुरमा युथ प्रोग्राम छ । त्यहाँ १४ जना छन् । पाल्पामा १५ जना छन् । झापामा १० बच्चा छन् । बालबालिकालाई पढाइसँगै सीपमूलक तालिम हस्तकला, फनिर्चर, थाङका, टेकिङ गाइड, पेन्टिङ्ग, कार्पेन्टर, माउन्टेन बाइक तालिम दिएर रोजगारी दिलाउने गरेका छौं । केहीले रोजगारी पनि पाएका छन् । आत्मनिर्भर बन्न र कम खर्चमा जीविकोपार्जन गर्न सिकाउन अर्गानिक फारम, साँखुमा बाख्रापालन धान, तरकारी, फलफूल खेती गरेको छौं । जहाँ बालबालिका आफैले पनि काम गर्छन् ।

तपाईले हुर्काएका बच्चा मध्ये कति पुनस्थापना भइसकेका छन् ?

देवी पुनले घोपा क्याम्पमा नर्सिङ पेसा गर्दैछिन् । उनका भाइ पनि म्यानेजर छन् । कोही बच्चा बेल्जियममा छन् । कोही टिचर छन् । उनीहरुले पनि सहयोग गरिरहेका छन् । मैले पालेका २५ जतिले बच्चाबच्चि बनाएर राम्रो घरब्यवाहार चलाएका छन् ।

तपाईको पारिवारिक अवस्था कस्तो छ ?

मेरो दाम्पत्य जीवन अरुकोजस्तो सुखद छैन । मागी विवाह गरे पनि श्रीमान् र म अलग भएको १५ वर्ष भइसकेको छ । जेलमा परेका अभिभावकका सन्तानहरुलाई कोठामै ल्याएर पाल्न थालेपछि श्रीमानसँग द्वन्द्व चल्यो । ‘कि मलाई छोड कि यी बच्चाहरुलाई’ भन्ने श्रीमानको रुखो वचनले मन पोल्यो । मैले यी कलिला र दुःख पाएका बच्चाहरु छाड्न सकिन । बरु श्रीमान् छाडे । श्रीमान् नभए पनि म एक्लो छु भन्ने लाग्दैन । मेरो थुप्रै बच्चाहरु छन् । उनीहरुसँगै सुत्छु  । नयाँबजारको कार्यालयमा १७ वर्सिया छोरी सुवानी छिन् । ८६ वर्सिया आमा र २८ जना बालबालिकासँग म रमाउँदै बसेकी छु ।

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७