दीना अर्याल । २०१९ डिसेम्बरको अन्त्यतिर चीनको वुहानमा पहिलोपटक देखापरेको कोभिड–१९ (कोरोनाभाइरस) ले अहिले संसारभर महामारीको रूप लिइसकेको छ । हालसम्म १२ लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ६५ हजार भन्दा बढीको ज्यान गइसकेको छ।

हरेक सेकेण्डमा तिब्र गतिमा संक्रमित र मृतकको संख्या बढिरहेकाले यो संख्या केही समयमा नै निक्कै माथी उक्लिनेछ । संक्रमण फैलिन नदिन हाल संसारका ८० प्रतिशत मानिस लकडाउनका कारण आफ्नो घरभित्रै बसिरहेको कुरा सञ्चार माध्यमहरुले बताइरहेका छन्।

नेपालमा पनि अहिले ६ जनाको संख्याबाट एकै दिनमा ३ संक्रमित बढेर यो संख्या ९ पुगिसकेको छ र १ जनामा त स्थानीय रुपमै संक्रमण फैलिसकेको छ। यसको मतलब हाम्रो देश कोभिड–१९ महामारीको दोस्रो चरणमा प्रवेश गरेको छ र अब यसलाई अर्को चरणमा जान नदिन राज्य र जनताले जारी लकडाउनको पालना गरी, सरसफाइमा उचित ध्यान दिइ उच्च सतर्कता अपनाउनुको विकल्प छैन।

लेखक : दीना अर्याल -EpiNurse

यो महामारीसँग जुध्न अहिले संसारभरिका नर्सहरु आफ्नो ज्यानको परवाह नगरी सेतो पोसाकमा पहिलो मोर्चामा खटिरहेका छन् र समुदायस्तरको स्वास्थ्य चौकीमा कार्यरत साथै इपी नर्स पनि भएकोले आफ्नो कर्तव्य पालना गर्दै म अग्र पंक्तिमा सुरुदेखि नै लागिरहेकी छु। मेरा परिवार, साथीभाइ र सहकर्मीहरुले यस महामारीले चीनलगायत अन्य देशमा आफ्नो रौद्र रूप देखाउँदै गरेको अवस्थामा म अग्र पंक्तिमा खटिँदा हुन सक्ने जोखिमको ख्याल गरेर सकेसम्म अरु विकल्प खोज्न भनिरहेका थिए।

तर यो जनस्वास्थ्य र मानवतासँग जोडिएको विषय भएकोले र विषम परिस्थतिमा राष्ट्रले सबैभन्दा धेरै योगदान खोजेको समयमा आफू नर्स भएकोमा आफ्नो देशप्रति दायित्वबोध गरेँ, मलाई जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंकी पब्लिक हेल्थ नर्स पार्वती विष्ट म्यामले पनि निरन्तर हौसला दिनुभयो र म यो महामारीविरुद्ध्को अभियानमा होमिएकी छु । मेरो सास रहेसम्म म निरन्तर यो मोर्चामा सतिसाल झै उभिनेछु । डटेर भाइरससँग लड्नेछु ।

म कोरोना रोकथाम अभियानमा लागेदेखि नै मेरा परिवार, आफन्त र छिमेकीहरु संक्रमणको जोखिम हुने सोचेर हाल मेरो घरमा आउने जाने गर्नु भएको छैन। यसले अलि नरमाइलो लागे पनि यो जटिल अवस्था आफूले बुझेकाले र सम्पूर्ण मानवजातीलाई नै अहिले हामी नर्सहरुको विशेष आवश्यकता परेकाले म आफ्नो काममा गर्वका साथ लागिरहेकी छु।

कोरोनाभाइरसको उच्च चपेटामा परेको चीनको वुहानबाट नेपाली विद्यार्थी उद्दार गरी १४ दिने क़्वारेन्टाइनमा राख्नुपूर्व गत माघ २७ गते नेपाल सरकारद्वारा गरिएको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र (एचईओसी) को अभिमुखीकरण कार्यक्रममा सहभागी भएसँगै मेरो कोरोना विरुध्दको यात्रा सुरु भयो। सो अभिमुखीकरण कार्यक्रमबाट मैले क़्वारेन्टाइनमा बसेका व्यक्तिहरूको हेरविचार कसरी गर्ने, सरसफाइमा विशेष ध्यान कसरी दिने र स्वास्थ्यकर्मीहरुले आफ्नो र उनीहरुको मनोबल कसरी उच्च राखिरहने भन्ने बारे महत्वपूर्ण जानकारी पाएँ र आफूलाई सोही अनुसार तयार गराएँ । फाल्गुन २ गते चीनबाट ल्याइने विद्यार्थीहरुलाई राख्ने भनिएको क़्वारेन्टाइन स्थलको अवलोकन गर्न भक्तपुरको खरीपाटी गएँ र वहाँहरु कहाँ बस्ने, कसरी बस्ने र त्यहाँ हरदम सतर्कता कसरी अपनाउने भन्ने जानकारी लिएँ।

मैले आफ्नो कार्यस्थल र समुदायमा यस महामारीबाट बच्न के गर्ने, के नगर्ने भनेर निरन्तर जनचेतना फैलाउने काम गरिरहेकी छु। मेरा सहकर्मी स्वास्थ्यकर्मीहरुलाई समेत विशेष अभिमुखीकरण गराउँदै टोलटोलमा आमा समूह, स्थानीय निकायका प्रतिनिधिहरुसँगको सहकार्यमा कोरोनासम्बन्धी जनचेतना जगाउँदै निरन्तर लागिरहेकी छु। विभिन्न स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत कोरोना रोकथामका उपायहरूबारे उचित जानकारी दिइ आफ्नो कार्यक्षेत्रमा दैनिक आउनुहुने सर्वसाधारण, बिरामी, ज्येष्ठ नागरिकहरुलाई आफ्नै कार्यस्थलमा स्थापना गरिएको हेल्थ डेस्क मार्फत र सामाजिक सञ्जाल, टेलिफोन मार्फत जिज्ञासा राख्नुहुने सबैलाई यस महामारीबाट बच्न घरमै बसेर सरसफाइमा ध्यान दिएर कसरी संक्रमण फैलिनदिनबाट रोक्न सकिन्छ भनेर परामर्श गरिरहेकी छु।

लक्षण नदेखिएका मानिसमा समेत परीक्षणका क्रममा कोरोना संक्रमण पोजिटिभ देखिएको अवस्थामा हामी सबैले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ। यसका लागि सरकारलाई जनस्तरबाटै सबैले साथ दिइ नै रोगको जोखिम भएकाहरुको घर दैलोमै गएर परीक्षण गर्न सके र सावधानीका आवश्यक उपायहरु सुझाउन सके संक्रमण समुदायमा फैलिनबाट धेरै हदसम्म रोक्न सकिन्छ भन्ने मलाई लाग्छ। हाल विकसित देशका वैज्ञानिकहरू समेत यस भाइरसको प्रकृति र आनिबानी प्रष्टसँग बुझ्न प्रयासरत रहेकाले हामीले समुदायलाई रोकथामका उचित जानकारी दिएर विशेष सतर्कता अपनाउनुको विकल्प नरहेको कुरा फेरी पनि दोहोर्याउन चाहन्छु। तसर्थ, हामी नर्सहरु यस महाविपद बिरुद्धको लडाकू भएकाले आफ्नो समुदाय र राष्ट्रलाई यस महमारीबाट पार लगाउन सुरक्षित रही उच्च मनोबलका साथ खटिनु नै अहिलेको मुख्य आवश्यकता हो र यसमा समुदायको सहयोग एकदमै अपरिहार्य छ। घरमै बसौं, सुरक्षित भएर बसौं, संक्रमण फैलिन बाट आफू पनि बचौं साथै परिवार, समुदाय, राष्ट्र र विश्वसमुदायलाई पनि बचाऔ।

लेखक दीना अर्याल EpiNurse हुन् ।

 

सम्बन्धित खबरहरु