काठमाडौं । घरघर एवं हनुमान मन्दिरमा रामभक्त हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी हनुमान जन्मोत्सव पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जयन्तीका रुपमा महोत्सव मनाउने गरिन्छ । यस अवसरमा विगत वर्षमा मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्र, बजरङ्ग सत्सङ्ग मण्डल, हनुमान आराधना सेवा मण्डललगायत संस्थाले विशेष पूजाआराधनासहित रथयात्रासमेत निकाल्थे ।

 

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण नियमित पूजामात्र गरिएको बजरङ्ग सत्सङ्ग मण्डलका उपाध्यक्ष कृष्णकुमार अग्रवालले बताउनुभयो । हनुमानढोकास्थित हनुमान मन्दिरमा विशेष पूजा आराधना गरी विभिन्न अस्पतालमा उपचाररत एक हजार जना बिरामी एवं तिनका आफन्तलाई प्रसादसहित भोजन गराइएको जानकारी पनि उहाँले दिनुभयो । हनुमानढोका दरबारअघि मन्दिरमा हनुमान चालीसाको पाठ पारायण पनि गरिएको थियो ।

 

यस वर्ष पाँच–सात भक्तजनले निरन्तरतास्वरुप मात्र पूजाआराधना गरेका हुन् । बन्दाबन्दी नभएको वर्ष भने हनुमानढोकाको कार्यक्रममा भक्तजनको भीड हुन्थ्यो । हनुमान अष्टचिरञ्जीवीमध्ये पर्नुहुने शास्त्रीय ग्रन्थमा व्याख्या गरिएकाले पञ्चाङ्ग (पात्रो) मा लेखिँदै आएको हनुमान जयन्तीका स्थानमा हनुमान जन्मोत्सव लेख्न मण्डलले अनुरोध गर्ने जनाएको छ । मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामलाई अष्टचिरञ्जीवीका रुपमा पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आठैजना अहिलेसम्म जीवित रहेको विश्वास गरी वैदिक सनातन धर्मावलम्बीले आफ्नो जन्मोत्सवका दिनमा अष्टचिरञ्जीवीको विधिपूर्वक विशेष पूजा गर्छन् ।

 

यस अवसरमा कुलेश्वरको हनुमान मन्दिर, गोकर्णेश्वर उत्तरवाहिनीस्थित पञ्चमुखी हनुमान मन्दिरलगायत देशभरका हुनमान मन्दिरमा विशेष पूजाआराधना गरिएको जनाइएको छ । यसैगरी हनुमानका भक्तले घरघरमा पनि हनुमानको पूजाआराधनासहित हनुमान चालीसा, रामायणलगायत ग्रन्थ पाठ गरेका छन् । त्रेतायुगमा पवन र अञ्जनीका पुत्रका रुपमा हनुमानको जन्म भएको थियो । रामायणमा वर्णन गरिएअनुसार रावणको अत्याचारबाट पृथ्वीलाई मुक्त गर्न श्रीरामभक्तका रुपमा हनुमानले योगदान दिनुभएको थियो । रावणले सीता हरण गरेर लगेपछि खोजी गरी पतिपत्नीको पुनर्मिलन गराउन हनुमानले भूमिका निर्वाह गर्नुभएको रामायणलगायत ग्रन्थमा उल्लेख छ ।

 

अत्यन्त बलशाली एवं सङ्कट विनाशक व्यक्तित्व हनुमानको पूजाआराधना गर्नाले चिताएको पुग्ने, डर, त्रासबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने त्रासमा घरघरमै बन्दाबन्दीमा बसेका मानिसका लागि हनुमानको पूजाआराधना एवं पाठ पारायणले मानसिक रुपमा शान्ति र आशाको सञ्चार गर्ने उहाँको भनाइ छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु