काठमाडौ । त्रिभुवन विश्वविद्यालय केन्द्रिय परीक्षा सञ्चालक समितिको मिति २०७६ साल चैत्र २७ गतेको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख र जेष्ठमा संचालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे वी.एस्सी, वी.वी.एस. र बी.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षा र पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिंङ् साइकोलोजी, स्कुल साइकोलोजी, र पोष्ट ग्राजुएट इन उमन स्टडीजका पुरा तथा आंशिक परीक्षा विश्वकै बर्तमान बिषम परिस्थितिलाई मध्यनजर गर्दै अर्को सुचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । यो सूचना त्रि. वि. परीक्षा नियन्त्रण कार्यालयको website www.tuexam.edu.np मा पनि हेर्न सकिनेछ ।

सूचना आफुले हेरेसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

मितिः २०७६/१२/२८ परीक्षा नियन्त्रक

यसअघिका सूचना

अलपत्र ६७ भारतीय एकान्तबासमा
नेपालका विभिन्न जिल्लाबाट घर फर्किदै गरेका ६७ भारतीय नागरिकलाई नेपाली सेनाले बनाएको एकान्तबासमा राखिएको छ । कोहलपुर नगरपालिका– ८ हवल्दारपुरस्थित राम माविमा स्थापना गरिएको अस्थायी एकान्तबासमा उनीहरुलाई राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकले उनीहरुका लागि आवश्यक एकान्तबास निर्माण गर्न टेन्टका लागि नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी बाँके तथा अन्य आवश्यकपर्ने वित्तीय व्यवस्थापनका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको थियो ।

बाँकेको कुसुमस्थित राजमार्गमा रोकिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उद्धार गरेर अस्थायी एकान्तबासमा ल्याएको हो । कोभिड– १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीपछि अलपत्र परेका उनीहरु चितवनबाट पैदल हिँडेरै नेपालगञ्ज आउँदै गरेका बुझिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये एक जना १५ दिने सुत्केरी र ३७ जना १८ वर्ष मुनिका बालबालिका रहेका छन् । नेपालभित्रै यात्रा गरिरहेका उनीहरुबाट कोरोना सङ्क्रमणको खतरा न्यून भए पनि तत्कालका लागि एकान्तबासमा राखिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण यातायात सेवा र सीमा नाकासमेत ठप्प भएपछि नेपालबाट भारत जाने र भारतबाट नेपाल फर्किने कामदार अलपत्र पर्न पुगेका छन् ।

बहराइचमा १८ नेपाली एकान्तबासमा

भारतबाट घर फर्किदै गरेका १८ नेपालीलाई भारतको सीमावर्ती बहराइचमा रोकेर एकान्तबासमा राखिएको छ । बहराइच जिल्लाको नानपारास्थित गुरगुट्टामा स्थापना गरिएको एकान्तबासमा प्रशासनको निगरानीमा रुपैडिहास्थित पत्रकार सन्तोष शुक्लाले जानकारी दिनुभयो । उक्त एकान्तबासमा १६८ भारतीय र १८ नेपाली गरी १८६ जनालाई प्रशासनको निगरानीमा सुरक्षित राखिएको छ । उनीहरुको उचित खानपानका साथै स्वास्थ्य परीक्षण भइरहेको पत्रकार शुक्लाले जानकारी दिनुभयो । केही दिनअघि मात्र सीमा नाकाको अवलोकन गर्नुभएका बहराइचका जिल्ला अधिकारी शम्भु कुमारले स्वास्थ्य परीक्षणका साथै सबैलाई समान व्यवहार गर्न आग्रह गरेपछि कुनै विभेद नरहेको शुक्लाले बताउनुभयो ।

क्वारेन्टाइनमा बसेकाहरु खुशी

धम्बोजी ः बाँकेको सीमा नाका दशगजा क्षेत्रमा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य, खानपानलगायतको सुविधामा पर्याप्त ध्यान दिइएको छ । उक्त क्वारेन्टाइनमा रहेकाको स्वास्थ्य जाँच स्वास्थ्यकर्मीबाट बेलाबेलामा हुने गरेको छ भने उनीहरुको खानपानका लागि बाँकेका विभिन्न सङ्घसंस्थाबाट सहयोग जुटेको छ । भारतबाट घर फर्कने क्रममा चिन्तित बनेका बर्दिया राजापुर नगरपालिका–१ का दीपक खड्कासहितको टोली क्वारेन्टाइनमा बस्न पाएपछि खुशी देखिएको छ । भारतको गुजराजबाट कतै गाडी त कतै पैदल यात्राबाट नेपाल आइपुगेका उहाँले भन्नुभयो, “यसरी बाँचेर फर्किएला भन्ने सोचिएकै थिइन धन्न बाँचेर नेपाल फर्कन पाइयो ।” दीपकसँगै आएका नेपाली ४५ टेन्टमा १८१ जना रहेका छन् । क्वारेन्टाइनमा बाँके, बर्दिया सुर्खेत, दैलेख, दाङ, जुम्ला, सप्तरी र झापाका गरी १८१ जनाले आश्रय लिएका छन् । क्वारेन्टाइनमा बसेका नेपालीको व्यवस्थापनमा र सुरक्षामा खटिएका नेपाली सेना भैरवप्रसाद गणका सहसेनानी विक्रम चौधरीले क्वारेन्टाइनमा राखिएकाको १४ दिनसम्म निगरानी र आवश्यकताअनुसार स्वास्थ्य जाँच गरिने बताउनुभयो ।

कृषिजन्य उत्पादन दैनिक गर्न दिने

लमही ः जिल्ला प्रशासन कार्यालय दाङले ‘लकडाउन’ अवधिभर कृषि तथा कृषिजन्य उत्पादनको बिक्री वितरणमा खुला गरेको छ । प्रशासनले लकडाउनको समयमा अत्यावश्यक सामग्रीको किनबेचका लागि हप्तामा तीन दिन मात्रै बजार सञ्चालन गर्ने निर्णय गरे पनि कृषि उत्पादनलाई भने सहज बनाइएको हो । बाहिरबाट आयात हुने तरकारीबाट कोरोना सङ्क्रमणको जोखिम हुने भन्दै तुलसीपुर उपमहानगरपालिकाले स्थानीय कृषिउपज सामाजिक दूरी कायम गर्दै हरेक दिन बिक्री गर्ने निर्णय गरेको हो । लामो समय बन्द हुँदा पशुपालन र कृषिउपज गर्ने किसान मर्कामा परेका र उपभोक्तासमेत मारमा परेका भन्दै आज बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिनुभयो ।

उहाँले बिहान ५ः०० देखि ७ः०० बजेसम्म तरकारी, दुग्धजन्य पदार्थ, मासुका लागि हरेक दिन खुला गर्ने निर्णय गरिएको बताउनुभयो । एकातिर किसान मर्कामा पर्ने अर्कातिर उपभोक्तामा पनि अभाव हुन भएपछि यस्तो निर्णय गरेको प्रवक्ता डाँगीले जानकारी दिनुभयो । बैठकले दाङभन्दा बाहिरबाट तरकारी र फलफूल आउने गरेकामा त्यसलाई तत्काल रोकेर स्थानीय उत्पादनलाई नै प्राथमिकता दिने निर्णय गरेको विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले जानकारी दिनुभयो ।

अर्घाखाँचीबाट पठाएका रिपोर्ट नेगेटिभ

अर्घाखाँची ः अर्घाखाँचीबाट कोरोना सङ्क्रमणको आशङ्कामा स्वाब परीक्षणका लागि पठाइका आठ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सङ्क्रमितसँगै विमानमा आएका तथा उनीहरुसँग सम्पर्कमा आएका गरी अहिलेसम्म आठ जनालाई कोरोना परीक्षण गर्न भैरहवा पठाइएको थियो । परीक्षणका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा कपिल गौतमले बताउनुभयो । कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा सन्धिखर्कको आइसोलेसनमा राखिएका तीन जना घर फर्किएका छन् । १४ दिनसम्म राख्दा कोरोनासँग मिल्दाजुल्दा कुनै लक्षण नदेखिएपछि उनीहरुलाई घर पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताउनुभयो । जिल्लाभर ३४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

 

सम्बन्धित खबरहरु