धनगढी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको सम्भावित जोखिमबाट बच्न सुदूरपश्चिम प्रदेशले विशेष सक्रियता देखाएको छ। गत साता धनगढीमा एकैपटक तीन जनामा कोरोना पोजिटिभ देखिएपछि प्रदेश सरकारले विशेष सावधानीका साथ आफ्ना गतिविधि अगाडि बढाइरहेको छ।  सुदूरपश्चिम प्रदेशमा हालसम्म चार जनामा कोरोना भाइरसको पोजिटिभ संक्रमण देखिएको छ। संक्रमित चारै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

 

चार जनामा कोरोना संक्रमित देखिएपछि प्रदेश सरकारले प्रदेशबासीका नाममा सार्वजनिक अपील जारी गर्दै कोरोनाको जोखिमबाट बच्न र सरकारको निर्णयमा साथ दिन अनुरोध गरेको छ। साथै कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले गरेका प्रयासबारे पनि जानकारी गराएको छ। चैत्र १४ गते धनगढीमा कोरोना भाइरसका संक्रमित भेटिएका थिए। त्यो नेपालको चौंथो संक्रमण थियो। चैत्र ११ गते दुबईबाट आएका युवामा कोरोना संक्रमण देखिएपछि उनको उपचार भइरहेको छ। परीक्षणका क्रममा चैत्र २२ गते धनगढीमा नै तीन जना नयाँ संक्रमित फेला परेका थिए।

भारतका विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएपछि प्रदेश सरकार संक्रमणको सम्भावित जोखिमबाट बचाउन अहोरात्र खटिरहेको छ। नेपालमा संक्रमित ९ जनामध्ये ८ जना विदेशबाट आउनेहरु छन् भने धनगढीमा कोरोना संक्रमित महिला चाहिँ नेपालकै स्थानीय बासिन्दा हुन्। नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि संघीय सरकारको समन्वयमा प्रदेश सरकारले तीव्रताका साथ काम गरिरहेको छ। संघीय सरकारले केन्द्र सरकारका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी खानेपानीमन्त्री बिना मगरलाई तोकेको छ। मन्त्री मगरको समन्वय र प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टको सक्रियतामा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धी गतिविधिमा तीव्रता आएको हो।

 

प्रदेश सरकारले विदेशबाट आउने नेपालीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने जिम्मेवारी स्थानीय तहलाई तोकेको छ। क्वारेन्टाइनको व्यवस्थापनका लागि प्रदेश सरकारले उपमहानगरपालिकालाई पाँच लाख, नगरपालिकालाई चार लाख र गाउँँपालिकालाई तीन लाखका दरले बजेट बिनियोजन गरिएको मूख्यमन्त्री भट्टले जानकारी दिएका छन्। सीमावर्ती नाकामा अलपत्र नेपालीहरुको उद्दारका लागि प्रदेश सरकारले केन्द्र सरकारलाई बिकल्पसहितको सुझाव दिइएको र तत्कालका लागि सम्बन्धित ठाउँमै क्वारेन्टाइनको व्यवस्था गरिएको मूख्यमन्त्रीको कार्यालयले जनाएको छ। प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल, प्रदेशभित्रका जिल्ला अस्पतालहरु र स्वास्थ्य केन्द्रहरुमा आइसोलेशन वार्ड निर्माण, मेडिकल सामग्री खरिदका लागि आवश्यक बजेट पठाउने निर्णयसमेत गरिसकेको छ।

 

प्रदेशले संघ र विभिन्न स्रोतबाट आएका मेडिकल सामग्री तत्काल तल्लो तहमा पुग्नेगरि व्यवस्थापन गरिएको मूख्यमन्त्रीको कार्यालयले जनाएको छ। मूख्यमन्त्रीको कार्यालयका अनुसार सेती प्रादेशिक अस्पतालका साथै डोटी, बैतडी लगायतका जिल्लाहरुमा पनि कोरोना परीक्षण प्रयोगशाला, त्यसका लागि आवश्यक पर्ने मेडिकल सामान र स्वास्थ्यकर्मीका लागि संघीय सरकारसँग अनुरोध गरिएको छ। प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम कोषबाट स्वेच्छिक सहयोग गर्न अनुरोध छ। उसले प्रदेशभित्रका दैनिक ज्यालादारी मजदूरका लागि संकटपूर्ण अवस्थामा राहत उपलब्ध गराउने कामसमेत अघि बढाएको छ। कोरोना परीक्षणको कामलाई उच्च प्राथमिकता दिएर त्यसको परिमाण बढाइएको प्रदेश सरकारको दावी छ।

गत चैत्र ११ गते भारतमा रहेका नेपालीहरु गड्डीचौकी नाकाबाट हजारौंको संख्यामा नेपाल फर्किएका थिए। उनीहरुलाई तत्काल सीमामा क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न नसक्दा सुदूरपश्चिममा कोरोनाको त्रास बढ्दै गएको थियो। संघीय सरकारको समन्वय र प्रदेश सरकारको सक्रियतापछि सुदूरपश्चिममा सन्त्रासको मात्रा घट्दै गएको छ। तर, सरकारले महामारीको उच्च जोखिम रहेका कारण विज्ञहरुले सुझाएका सावधानीलाई कडाइपूर्वक पालना गर्न र घरभित्रै बस्न प्रदेशबासीलाई अपील गरेको छ।

संघीय सरकारले गत मंगलबार सात वटै प्रदेशमा कोरोना नियन्त्रण तथा रोकथामको समन्वय गर्ने कामका लागि संघीय मन्त्रीहरुलाई संयोजक तोकेको थियो। उक्त निर्णयबमोजिम सुदूरपश्चिम प्रदेशको संयोजन गर्ने जिम्मेवारी मन्त्री बिना मगरको छ। प्रदेशसँग समन्वय गर्ने जिम्मेवारी पाएलगत्तै मन्त्री मगरले सुदूरपश्चिममा महामारीको जोखिम र सरकारले चाल्नुपर्ने कदमबारे स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको गम्भीर ध्यानाकर्षण गराएकी थिइन्। त्यसयता उनले लगातार प्रदेश सरकारसँग समन्वय र सहजीकरणको काम गरिरहेकी छिन्।

नेपाल–भारत मानव विकास एवं मैत्री संघले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण एवं उपचारमा खटिन सूदुरपश्चिम प्रदेशका चिकित्सकहरुका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अन्य मेडिकल सामाग्री सहयोग गरेको छ। संघले सूदुर पश्चिम प्रदेशमा चिकित्सकका लागि आवश्यक पिपिई लगायत स्वास्थ्य सामाग्रीहरु खानेपानी मन्त्री बिना मगरलाई हस्तान्तरण गरेको थियो। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको २ सय थान पिपिई लगायतका सामाग्रीहरु खानेपानी मन्त्री मगरलाई सिंहदरबारमा बिहीबार हस्तान्तरण गरेका थिए। संघले सहयोग गरेको सामग्रीहरुमा पिपिई सेट लगायत पञ्जा, एप्रोन, मास्क, चस्मा, टोपी र स्यानिटाइजर लगायत थिए। ती सबै सामग्री सुदूरपश्चिम प्रदेशमा पुगेका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु