भक्तपुर । बिस्केटको चहलपहल हुने भक्तपुर सुनसान छ । प्रत्येकवर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आज उठाइएन । आज बिहान विधिपूर्वक पूजा गरेर उठाउनु पर्ने लिङ्गो नउठाएर सामान्य पूजा मात्रै गरिएको छ । बिस्केटजात्राको अवसरमा हरेक चैत मसान्तमा उठाएर वैशाख ५ गते लिङ्गो ढाल्ने परम्परा रहेपनि कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण लिङ्गो नउठाएको गुठी संस्थान भक्तपुरका प्रम्ुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिनुभयो ।

यता भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी उठाउनुपर्नेमा आज नउठाइने भएको छ । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलन रहेपनि यसवर्ष लिङ्गो नउठाई सामान्य पूजा मात्रै गरिने भएको हो ।

 

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

 

त्यसैगरि मध्यपुर थिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि पनि लिङ्गो नउठाइने भएको छ । आज यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको ब्रत शुरु हुने र बैशाख २ गते जिब्रो छेडेपछि मात्रै ब्रत समाप्त हुने परम्परा रहेको छ । मध्यपुरथिमिमा मनाइने जात्रा पनि कोरोना भाइरसको प्रभाव रोक्नकै लागि नमनाइने भएपछि यहाँको लिङ्गो पनि नउठाइने भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु