फर्नान्डो टोरेज एट्लेटिको मड्रिड फर्कने पक्का

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १५ पुस, २०७१

लन्डन– फर्नान्डो टोरेज एसी मिलानबाट २०१५–१६ सम्म लोनमा आफ्नै किशोरावस्थाको क्लब एट्लेटिको मड्रिड फर्कने पक्का भएको छ। लिभरपुलबाट चेल्सी गएपछि गोलका लागि संघर्ष गरिरहेका ३० वर्षे टोरेज गत अगस्टमा मात्र लोनमा सान सिएरो पुगेका थिए। शनिबार चेल्सीबाट स्थायी रूपमा मिलान सरुवा प्रक्रिया पूरा गरेका टोरेज साढे ७ वर्षपछि पुनः एट्लेटिको फर्किएका छन्। टोरेजले टि्वट गर्दै घरेलु क्लबमा फर्कन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

टोरेजले एट्लेटिकोमा रहँदा २ सय ४४ खेलमा ९१ गोल गरेका थिए। जतिखेर उनी १७ वर्षका मात्र थिए। त्यहाँबाट उनी लिभरपुल लागेका हुन्। लिभरपुलबाट ५ करोड पाउन्डमा चेल्सी पुगेपछि उनले लय गुमाएका थिए। चेल्सीमा रहँदा एफए कप, च्याम्पियन्स लिग र युरोपा लिग जिते पनि उनले १ सय ७२ खेलमा ४५ गोल गरेका थिए। जसमध्ये प्रिमियर लिगका लागि २० गोलमात्र थियो। तर लिभरपुलमा भने उनी ६५ गोल गर्न सफल भए। जारी सिजनको सुरुमा मिलान पुगेका उनले १ गोल मात्र गरेका छन्।
‘फर्नान्डो टोरेज मिलानसँगको सम्झैतापछि एट्लेटिको मड्रिड फर्किएका छन्। उनी बाँकी सिजन र आगामी सिजन यस क्लबमा रहने छन्,’ एट्लेटिकोले वेबसाइटमा लेखेको छ, ‘उनको जनवरी ५ मा स्वास्थ्य परीक्षण हुनेछ। त्यसपछि उनी फेरि एट्लेटिकोको जर्सीमा देखिने छन्।’

सम्बन्धित खबरहरु