माघ ८ मै संविधान नदिनलाई सहमति खोजिदै

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १६ पुस, २०७१


६ पौष, काठमाडौ । माघ ८ मा संविधान जारी नहुने निश्चित भए पनि कुन प्रक्रिया अपनाउने भन्ने बारे निष्कर्षमा पुग्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आज कार्य व्यवस्था परामर्श समितिको बैठक डाकेका छन् ।

दलहरुबीच संविधानका मूल विषय संघीयता, शासककीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सम्बन्धमा सहमति हुन नसकेपछि कुन प्रक्रियामा जाने भन्ने अन्योल तोड्न नेम्वाङ अग्रसर भएका हुन् ।

कांग्रेस एमालेले सहमति नभए मतदान प्रक्रियाबाट भने पनि टुंगो लगाउनुपर्ने अडान लिएका छन् भने एमाओवादी र मधेसी मोर्चाले त्यसको विरोध गरिरहेका छन् ।

कांग्रेस एमाले लगायतका दलका सभासदहरुले सभाध्यक्षलाई मतदानको प्रक्रियामा गएर भने पनि माघ ८ मा संविधान जारी गर्ने वातावरण बनाउन दबाव दिइरहेका बेला उनले शीर्ष नेतासहित परामर्श समिति बैठक बोलाएका छन् ।

बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेशी मोर्चाका विजय गच्छदारलाई बोलाइएको नेम्वाङले जानकारी दिए ।

आफूले संविधानसभाको नियमावली, संविधान र स्थापित अभ्यासका आधारमा संविधान निर्माणको प्रक्रिया अघि बढाउने नेम्वाङले बताए ।

अब माघ ८ मा संविधान नआउने निश्चित हुँदै गएका बेला दलहरुबीच सहमतिको प्रयास जारी राख्ने र जुनसुकै प्रक्रियाबाट भने पनि संविधान जारी गर्न अर्को मिति तोक्ने सहमति जुटाउने सम्भावना छ ।

स्रोतका अनुसार नयाँ संविधान जारी गर्ने अर्को मिति ०७२ जेठ १५ गते तोकिन सक्नेछ । गणतन्त्र दिवसका अवसरमा नया संविधान जारी गर्ने सहमति दलहरुबीच हुन सक्छ ।

तर, त्यस्तो सहमति गर्दा अहिलेको सत्ता गठबन्धनमा असर पर्न सक्ने भएकाले तत्कालै त्यसमा पनि सहमति हुन गाह्रो छ ।

कोइरालाले संविधान जारी भएपछि प्रधानमन्त्री त्याग्ने बताएका छन् । तर, एमालेले भने माघ ८ मा संविधान जारी भए पनि नभए पनि त्यसपछि सरकार परिवर्तन हुने बताइसकेको छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७