काठमाडौं । खोटाङसँग सिमाना जोडिएको उदयपुरमा कोभिड–१९ का सङ्क्रमित फेला परेपछि नाकामा कडाइ गरिएको छ । छिमेकी जिल्लामा शुक्रबार १२ जना कोरोना सङ्क्रमित एकैसाथ फेला परेसँगै खोटाङ र उदयपुर आवतजावत गर्ने नाकामा कडाइ गरिएको हो ।

उदयपुर जिल्लासँगको सिधा आवतजावतका कारण खोटाङमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलने सम्भावना बढेकाले रसुवाघाट, फोक्सिङटार, बुवाँजोरघाट, धाप्लाङघाटलगायत दर्जन बढी नाकामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

“आवतजावतमा कडाइ गर्न उदयपुर र खोटाङ जोड्ने नाकामा प्रहरी परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरस फैलिनसक्ने खतरालाई ध्यानमा राखेर केही दिन खाद्यान्न तथा तरकारी ढुवानीका साधनसमेत सञ्चालनमा रोक लगाइएको छ ।”

गम्भीर किसिमका बिरामीका लागि औषधि उपचारबाहेक अन्य काममा हुने सिधा आवतजावतमा कडाइ गरिएको प्रजिअ पौडेलले बताउनुभयो । नाकामा हुने आवतजावतमा कडाइ गर्न माथिल्लो क्षेत्रमा रहेका प्रहरी चौकीका सुरक्षाकर्मीलाईसमेत परिचालन गर्ने तयारी गरिएको जनाइएको छ ।

राजधानी काठमाडौँलगायतका शहरबाट भित्रिने र बाहिरिने मुख्य नाकाका रुपमा रहेको जयरामघाटमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । यसबाहेक उदयपुरको सिमाना नजिक पर्ने रेग्मिटार, रमाइलो, रसुवाघाट, चमेरेघाट, बङ्शिलाघाट, कम्पुघाट, धाप्लाङघाटलगायतमा स्थानीय प्रहरी चौकीबाट टोली परिचालन गरिएको जनाइएको छ ।

छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमित फेला परेसँगै खोटाङमा पनि सङ्क्रमण फैलिन सक्ने त्रास बढेको छ । छिमेकी जिल्लामा कोरोना सङ्क्रमित फेला परेसँगै हलेसी तुवाचुङ नगरपालिकाले उदयपुरसँगको नाकामा हुने आवतजावतमा रोक लगाउन सबै वडा कार्यालयलाई निर्देशन दिएको छ ।

छिमेकी जिल्ला प्रवेश गर्ने नाकासँगै एउटा वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन प्रत्येक वडालाई पत्राचार गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । यसैबीच हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न कामका सिलसिलामा जिल्लाभन्दा बाहिर गएर बसिरहेका अवस्थामा गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका नगरवासीलाई घरसम्म ल्याउने भएको छ ।

नगरपालिकामा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले विभिन्न कामका सिलसिलामा काठमाडौँ, विराटनगरलगायतका ठाउँमा पुगेको अवस्थामा ‘लकडाउन’ हुँदा मारमा परेका नगरवासीलाई सङ्घीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरेर घर ल्याउने तयारी थालेको हो ।

अहिले बसिरहेको ठाउँमा आयमूलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएको गुनासो आएकाले उनीहरुलाई नगरपालिकाले घरसम्म ल्याएर होम क्वारेन्टाइनमा राख्ने तयारी गरिएको नगर प्रमुख राईले बताउनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमित भेटिएका छैनन् । विदेशबाट फर्किएका ५५ जनामा गरिएको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट ‘नेगेटिभ’ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु