काठमाडौं । डोल्पामा स्वाब परीक्षण गरिएका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार जिल्लामा पुगेको कोभिड–१९ द्रुत परीक्षण किटबाट पहिलोपटक पाँचको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

जिल्ला बाहिरबाट आएर होम क्वारेन्टाइनमा रहेका दुईसहित पाँच जनालाई पहिलोपटक द्रुत डाइग्नोस्टिक परीक्षण (आरडिटी) गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा सिजन रावलले जानकारी दिनुभयो । डोल्पाका स्थानीय तहले भारत तथा अन्य मुलुकबाट आएका सर्वसाधारणको यकिन तथ्याङ्क नदिँदा धमाधम परीक्षण गर्न नसकिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

स्वास्थ्यकर्मीको टोली गाउँपालिकामा
भारतबाट आएका आठ जना सर्वसाधारणको दु्रत डाइग्नोस्टिक परीक्षणका लागि आइतबार किटसहित चिकित्सकको टोली जगदुल्ला गाउँपालिका सदरमुकाम दुनैबाट हिँडेको छ । उनीहरुको परीक्षणका लागि जिल्ला अस्पतालमा कार्यरत डा मछिन्द्र बडुवालको नेतृत्वमा चार जनाको टोली आइतबार गाउँपालिकातर्फ गएको जिल्ला अस्पतालले जनाएको छ ।

उक्त टोलीले जगदुल्ला गाँउपालिकामा दु्रत परीक्षण कीटद्वारा स्वाब परीक्षण सकेर मुड्केचुला गाउँपालिका जाने बताइएको छ । मुड्केचुला गाउँपालिकामा पनि भारतबाट आएका केही सर्वसाधारण रहेकाले उनीहरुको पनि परीक्षण गर्ने अस्पतालले जनाएको छ । स्थानीय तहले कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिको द्रुत परीक्षणका लागि बोलाएको खण्डमा तुरुन्तै किटसहित चिकित्सकको टोली खटाएर परीक्षण गरिने डा रावलले बताउनुभयो ।

डोल्पामा कोरोना आरडिटी परीक्षण किट १४० थान, मलेरियाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने ल्यान सेट आइपुगेको छ । जिल्लामा तीन हजारभन्दा धेरै मानिस भित्रिएको भए पनि कुन स्थानीय तहमा कति जना विदेशबाट आए भन्ने तथ्याङ्क कसैसँग छैन ।

सम्बन्धित खबरहरु