काठमाडौं । उत्तर कोरियाका नेता किम जङ-अन मुटुको शल्यक्रियापछि गम्भीर बिरामी परेको विवरण असत्य भएको छिमेकी दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन्। "किम गम्भीर बिरामी", "किमको मस्तिष्कको मृत्यु" वा "किम शल्यक्रियापछि स्वास्थ्यलाभ गर्दै" जस्ता समाचार पुष्टि गर्न असम्भव नै छ। तर दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाए अनुसार उत्तर कोरियाका ३६ वर्षीय नेता "गम्भीर बिरामी परेको" कुनै सङ्केत पाइएको छैन। किमको स्वास्थ्यबारे हल्ला फैलिएपछि अनेकौँ अनुमान गरिएको यो पहिलो पटक हैन।

कसरी सुरु भयो अनुमान?
किम गत एप्रिल १५ मा आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेताको जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा सहभागी भएनन्।राष्ट्राध्यक्ष नै उक्त कार्यक्रममा सहभागी नभएपछि अनेकौँ अनुमान गर्न थालियो। त्यसयता सुरु भएका चर्चा र हल्ला पुष्टि गर्न त्यति सहज छैन। सरकारी सञ्चारमाध्यमले एप्रिल १२ मा अन्तिम पटक उनको तस्बिर प्रकाशित गरेका थिए। लडाकु विमानको निरीक्षण गरिरहेको बेला खिचिएको उक्त तस्बिर कहिलेको भन्ने चाहिँ स्पष्ट छैन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

तस्बिरमा उनलाई सहज आसनमा देखिन्छ। सरकारी सञ्चारमाध्यममा प्रकाशित सामग्रीका आधारमा त्यसको अघिल्लो दिन उनले एउटा महत्त्वपूर्ण राजनीतिक बैठक गरेको देखिन्छ। तर त्यसपछि उनी बाहिर देखा परेका छैनन्। गत हप्ता गरिएको क्षेप्यास्त्र परीक्षणको समाचारमा उनको उपस्थितिबारे कुनै उल्लेख छैन। प्रायः त्यस्ता परीक्षणमा उनको तस्बिर खिचिएको हुन्थ्यो। पहिला नै बाह्य संसारबाट अलग्गिएको उत्तर कोरियाले ज्यानुअरीको अन्तिम सातादेखि कोभिड-१९ महामारी रोक्ने उद्देश्यले आफ्ना सबै सीमा बन्द गरेको छ।

बिरामी भएको विवरण
उत्तर कोरियाबाट भागेका मानिसहरूले सञ्चालन गरेको एउटा वेबसाइटमा मङ्गलवार किमको स्वास्थ्यसम्बन्धी एउटा दाबी प्रकाशित भयो। नाम उल्लेख नगरिएको एउटा स्रोतलाई उद्धृत गर्दै डेली एनकेले गत अगस्टदेखि किम मुटु र रक्तनलीसम्बन्धी समस्याबाट पीडित भएको अनि माउन्ट पेक्टुको भ्रमण गरेपछि उनको अवस्था बिग्रिएको दाबी गर्‍यो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले त्यही एकल स्रोतका आधारमा विवरणहरू प्रकाशित गर्न थाले।

त्यसपछि दक्षिण कोरिया र अमेरिकाका गुप्तचर निकायले पनि त्यो दाबी कति सत्य हो भनेर बुझ्न खोजिरहेको भन्दै अरू विवरणहरू पनि प्रकाशित भए। त्यही बेला अमेरिकी सञ्चारमाध्यममा उत्तर कोरियाली नेता मुटुको शल्यक्रियापछि गम्भीर अवस्थामा भएको शीर्षकसहित समाचार प्रकाशित भयो।

तर दक्षिण कोरिया सरकारले एउटा विज्ञप्ति प्रकाशित गर्दै तथा चिनियाँ गुप्तचर निकायका स्रोतहरूले समाचार संस्था रोएटर्सलाई उक्त समाचार असत्य भएको बताए। तर विचारणीय कुरा के छ भने कसैले पनि किमको मुटुको शल्यक्रिया भएको दाबीको खण्डन गरेका छैनन्। दक्षिण कोरिया र चीनले किम गम्भीर बिरामी भएको भनाइको मात्रै खण्डन गरेका छन्।

किम पहिलो चोटि 'हराएका हैनन्'
सन् २०१४ मा किम ४० दिन कतै देखा परेनन्। सेप्टेम्बरको पूर्वार्धदेखि उनी हराएपछि धेरै खालका अनुमान भए।त्यति बेला उनलाई सत्तापलट गरेर हटाइएको अड्कल पनि गरिएको थियो। त्यसपछि छडी बोकेको देखिने उनको तस्बिर सार्वजनिक भयो। सरकारी सञ्चारमाध्यमले किमको शारीरिक अवस्थामा केही असहजता भएको बताए पनि उनलाई बाथ भएको दाबीबारे केही स्पष्ट पारेनन्।

किमको उत्तराधिकारी को हो?
उनका पिताले किम जङ-अनलाई सानै बेलादेखि उत्तराधिकारीका रूपमा हुर्काएका थिए। तर उत्तर कोरियाका नेतालाई केही भइहाले उनको राजनीतिक उत्तराधिकारको हुन्छ भन्ने विषयमा कुनै स्पष्टता छैन।किमकी बहिनी किम यो-जङ उत्तराधिकारी हुन सक्छिन्। गत महिना उनले आफ्नो पहिलो सार्वजनिक वक्तव्य जारी गरेकी थिइन्। महत्त्वपूर्ण समारोहहरूमा पनि उनी आफ्ना दाजुसँग देखा परिरहन्छिन्।तर अहिले हामी किमको स्वास्थ्यबारे भइरहेको चर्चाको विषयमा उत्तर कोरियाले दिने प्रतिक्रिया मात्र सक्छौँ। बीबीसी

सम्बन्धित खबरहरु