काठमाडौं । किसानले लगाएको वसन्ते मकैमा फौजी कीराको प्रकोप देखिएको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ हिरमिनियाका किसानले लगाएको वसन्ते मकैमा लागेको फौजी कीराले १०० भन्दा बढी बिघाको मकै नष्ट पारेको छ ।

कोभिड–१९ को संक्रमणबाट जोगिन आह्वान गरिएको बन्दाबन्दीका कारण औषधि अभाव भएपछि मकै नष्ट भएको हो । किसान जयपाल मौर्यले पाक्ने बेलाको मकैले बजार नपाउने चिन्ताभन्दा पनि बोटमा लागेको अमेरिकी फौजी कीराले बाली नै सखाप पार्दा लागत नै नउठ्ने चिन्ताले सताएको बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हिरमिनियाकै श्यामलाल मौर्यले बन्दाबन्दीका कारण घोगा लाग्ने बेलाको मकैबालीमा प्रकोपको रुपमा फौजी कीरा फैलिएपछि जोगिने उपायबारे कृषिविज्ञलाई जानकारी गराउन नपाइएको गुनासो गर्नुभयो । धान खेतमा पनि हिरमिनियालगायत बाँके बर्दियामा अमेरिकी फौजी कीराको प्रकोप फैलिएको थियो । सोही समस्या अहिले मकैमा देखिएको छ ।

बन्दाबन्दीकै कारण किसानले कृषिज्ञान केन्द्रसम्म पुगेर आफ्नो समस्या राख्न नसकेको र आवश्यक विषादी पनि नपाइएको किसानको गुनासो छ । “बन्दाबन्दीका कारण हाम्रो लगानी खेर जाने निश्चित छ, यसका लागि कृषिज्ञान केन्द्रले तत्कालै पहल गरिदिए हुन्थ्यो ”, किसान भन्छन् ।

कृषिज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालका अनुसार बाँकेमा दुई हजार ४५० हेक्टर र बर्दियामा तीन हजार ९०० हेक्टर जमीनमा वसन्ते मकै खेती गरिएकामा करीब ७० प्रतिशत खेतीमा कीराको प्रकोप देखिएको छ । बन्दाबन्दीका कारण किसानलाई सिफारिस गरिएको विषादी नपाइएको र वैकल्पिक विषादीले काम नगरेका कारण फौजी कीराको प्रकोप रोक्न कठिन भएको उहाँले बताउनुभयो ।

सम्बन्धित खबरहरु