काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा बिहीबार ५८ स्थानीयवासीको कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन कार्य सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–४ मोतिगडामा पनि २० जनाको स्वाब नमूना सङ्कलन गरिएको छ ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको उपस्थितिमा प्रदेश जनस्वास्थ्य कार्यालयका चिकित्सकसहितको टोलीले सिवाईमा ५८ मुस्लिम नागरिकको कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन गरेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सिवाईको रामजानकी टोल, टोकनी टोल, बडेरुवा र अजगरा टोलमा सङ्कलन गरिएको स्वाब नमूनाको परीक्षण विराटनगरमा सम्पन्न भएर रिपोर्ट आएपछि आवश्यक परे सोहीअनुसार थप स्वाब नमूना सङ्कलन गरिने नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईले बताउनुभयो ।

भुल्केसहित मोतिगडाका सात स्थान र सिवाईका आठ स्थानलाई अहिले स्वास्थ्य कार्यालय उदयपुरले कोरोनायुक्त वा खतरायुक्त स्थानको रूपमा राखेको कार्यालयले जनाएको छ ।

भुल्केमा १२ भारतीय मुस्लिम धर्मगुरुसहित १६ स्थानीय कोरोना सङ्क्रमित र सिवाईका तीन टोलका मुस्लिम समुदायबीच दैनिक आवतजावत र उठबस भएका कारण पनि सिवाईलाई कोरोना खतरायुक्त क्षेत्र घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मोतिगडा क्षेत्र पनि भुल्केसँंगै जोडिएको र मोतिगडामा मुस्लिम बासिन्दाहरु नभए पनि भुल्केसँग आवतजावत हुने क्षेत्र भएकाले मोतिगडालाई पनि खतरायुक्त क्षेत्र घोषणा गरिएको हो ।

सम्बन्धित खबरहरु