काठमाडौं । मान्छेहरु कतिसम्म निर्दयी हुन्छन् भन्ने एक घटना बाहिर आएको छ । एक वर्षअघि मिर्गौला फेल भएर रामेछापका ६२ वर्षीय काराबहादुर तामाङ मन्थलीस्थित तामाकोसी सामुदायिक अस्पतालमा डायलसिस गर्दै आइरहेका थिए। डायलसिस गर्न बनाइएको घाँटीको घाउमा संक्रमण भएपछि अस्पतालले उनलाई काठमाडौं रिफर गर्‍यो। चैत २४ गते उनी एम्बुलेन्स रिजर्भ गरी श्रीमती सुनमायालाई साथमा लिएर भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र आए। केन्द्रले आकस्मिक डायलसिस गरेर गरेर उनलाई घरै फर्कायो।

उपचार गर्न धेरै दिन लाग्ने स्थिति आएपछि उनीहरु भक्तपुरको सुडालस्थित छोराबुहारीको कोठामा गए। गाउँको घर कुर्न छोराबुहारीलाई पठाए। आफूहरू यहीँ बसेर अस्पताल आउजाउ गर्ने निधो गरे। मिर्गौलाका बिरामीबाट कोरोनाको संक्रमण सर्छ भन्दै घरबेटीले कोठामा गएकै दिन नराम्रो व्यवहार गरे। उनीहरूले रातैभरि किचकिच गरेको सुनमायाले बताइन्। घरबेटीले ‘कोठा छोड्ने भए छोड नत्र सामान सबै फालिदिन्छु’ भनेपछि उनीहरू बिहान सबेरै कोठा छाडेर निस्किए। सुनमायाले भनिन्, ‘केही दिन कोठामा बस्ने भनेर गएको हो तर हामीलाई त साह्रै हेला गरे, नआउनु भनेको छ।’

 

घरबेटीले निकालेपछि दम्पती अस्पतालकै छिँडीमा सुत्दै आइरहेका छन्। घरबाट ल्याएको खर्च सकिएपछि मिर्गौलापीडित संघको अनुरोधमा अस्पतालको क्यान्टिनले उनीहरूलाई निस्शुल्क खाना खुवाइरहेको छ। ‘कमाएर खुवाउने मान्छे यसरी थला परे,’ उनले भनिन्, ‘हामीसँग पैसा पनि छैन, लगाउको सुन बेचौं भने कतै दोकान खोलेको छैन।’ गाउँबाट फर्केपछि छोराबुहारीलाई कोठामा बस्न अप्ठेरो पर्ला भनेर घरबेटीबारे सुनमायाले बताउन चाहिनन्।

 

‘बेकारमा बसिरहेको मान्छेलाई भोलि निकाल्ला,’ उनले भनिन्, ’हामी बरु असपतालमै बसूँला, नसके गाउँ फर्किऊँला।’ कोरोना भाइरसको संक्रमण सार्ने भन्दै मिर्गौलाका बिरामीलाई घरबेटीले दुर्व्यवहार गर्ने र निकाल्ने गरिरहेको मिर्गौलापीडित संघका केन्द्रीय अध्यक्ष बलराम सुवेदीले बताए। ‘हप्तामै दुई–तीनपटक डायलसिस गर्नुपर्ने भएकाले यस्ता बिरामी गाउँ फर्किन सकिरहेका छैनन्,’ उनले भने, ‘यस्ता बिरामीलाई ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने भइरहन्छ। तर नबुझीकन कोरोना संक्रमण भयो भन्दै बिरामी निकाल्छन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://youtu.be/Xmihk0Th6OU

 

सम्बन्धित खबरहरु