अनुप मिश्र । बुवाको जागिरको सरुवा सँगै हाम्रो परिवारले पनि पोखरा छाडेर काठमाडौं जाने निर्णय गर्यो । अनी, होलीको दिन बिहानै बसको छ्तमा सामन राखेर बस काठमाडौंको लागि छुट्यो । दिन भरिको यात्रा र सामान सार्दाको थकानले गर्दा हामीलाई राती चाउचाउको आडमा सुत्न वाध्य बनायो । मेरो लागि काठमाडौं पहिलो पटक थियो त्यसैले केहि दिन चिडियाखान, धरहरा घुमेरै बित्यो । बैशाखमा नयाँ भर्ना हुने भएकाले बुवाले हामीलाई नजिकको स्कुलमा भर्ना गर्न लग्नु भयो । मैले प्रवेश परीक्षा दिएको केहि दिनमा भर्नाको लागि बोलाईयो । स्कुल २०६२ साल बैशाख ५ गते सोमबार देखी सुरु भयो ।

 

नयाँ ठाउँ नयाँ परिवेश सबै कुरा अनौठो लाग्यो । विस्तारै साथिहरु सँग चिनजान बढ्यो र घुलमिल हुँदै गए । स्कुलमा पहिले देखिको एउटा चलन रहेछ आफ्नो किताब नलग्ने अर्को सेक्सन बाट लगेर काम चलाउने, म पनि, त्यसैमा समावेश हुन थाले । अलि लजालु स्वभावको भएकाले केटी साथिहरु सँग बोल्न अप्ठ्यारो लाग्थ्यो तर वाध्यता अर्को कोठाको पहिलो बेन्चमा बस्ने केटी नै थिए उनिहरु सँगै किताब माग्ने गर्थें । पोखरेलीको बोली काठमाडौंका लागि रमाइलो लाग्थ्यो त्यसैले बेला बेलामा जिस्कने गर्थे । जुन कुरा मलाई पनि रमाइलो लाग्थ्यो । यतिकै मा विदाको दिन घरको छतमा घाम ताप्दै गर्दा ल्यान्डलाईनमा फोन आयो ।

–हेल्लो, हेल्लो, आयुश हो ?

हो, को बोलेको ?

–म एलिसा, चिनेनौ अहँ चिनिन्

–ल ल, नचिने राख्दिन्छु

(यती भनेर फोन काट्टियो) मनमा खुल्दुली हुन थाल्यो, को होला मलाई फोन गर्ने, कता बाट नम्बर भेटेको होला, मेरो सट्टा अरु कसैले फोन उठाएको भए । एक मनमा खुशी पनि लाग्थ्यो कोही त रहेछ मलाई पनि फोन गर्ने । भोलिपल्ट स्कुलमा लाईन बस्दै थिए पछाडी बाट आवाज आयो–आयुशलाई त हिजो को केटीको फोन आएको थियो रे । मलाई थाहा भयो त्यो उसैको फोन रहेछ जसको किताब म सधै मागेर चलाउथे, तर फोनमा आवाज फरक थियो । उ सँग मेरो मोबाईल नम्बर पनि रहेछ । विस्तारै स्कुल छुट्टी भएर घर पुगे पछी मोबाईलमा कुरा हुन थाल्यो, म्यासेज गर्न थाल्यौ । किताब भित्र चिटमा गीतहरु लेखेर साट्न सुरु भयो । जब धेरै दिन विदा हुन्थ्यो त्यती बेला उ आफन्तकोमा जान्थी र आफन्तको छोरीसँग मलाई कुरा गर्न दिन्थी जोसँग पहिला एलिसा भनेर कुरा भएको थियो ।

 

विस्तारै फेसबुकको चलन आउन थाल्यो । फेसबुकमा लाईक र कमेन्ट गर्न र नयाँ साथी बनाउन रमाइलो लाग्थ्यो यतिकैमा मेरो फेसबुकमा १ दिन (पिपल यु मे नो) मा सुजिता घिमिरे आयो । मैले पनि रिक्वइस्ट पठाए र उता बाट एसेप्ट भयो । बिस्तारै एसएलसि सक्कियो किताबमा पेपर साटासाट पनि सक्कियो । फोन, म्यासेज घट्दै गयो र कक्षा १२ को परीक्षापछी उ अमेरिका म यता कामको खोजिमा । यतिकैमा एउटा संस्थामा जोडिन पुगे र कामको सिलसिलामा तीन महिना सम्म नेट नचल्ने, फोनको टावरले नटिप्ने नेपालको दुर्गम जिल्लामा जानुपर्यो । १२ को नतिजा आए सगैँ म काठमाडौं फर्किएँ । कलेज खोज्ने क्रम सुरु भयो । नेपालको पहाडी भाग घुमेको भएर होला टुरिजम बिषय पढ्ने रहर लाग्यो र एउटा कलेज मा भर्ना भए ।

 

अभिमुखीकरण (ओरेन्टेसन) को लागि १० बजे बोलाईएको थियो तर बाटोमा जाम भएको कारण म ढिला पुगे । त्यहाँ पुगेर विस्तारै ढोका खोले सबै जनाको अनुहार म तिर फर्केको थियो मानौं त्यहाँ भाषण दिने पालो मेरो थियो । एकछिनमा प्रिन्सिपलको भाषण सकियो र बाहिर निस्किन लाग्दा २ जना केटीहरु म तिर आउँदै थिए । अनुहार देखेको जस्तो लाग्यो तर चिनिन्।

–आयुस हैन ?

हो

–म सुजिता, तिमी पनि यही कलेजमा, कती ढिला आको

(याद आइहाल्यो, फेसबुकमा कुरा नगरे पनि फोटो लाईक गरिराख्थे) अँ....ढिला भयो घर पुगेर हतारिदै म्यासेज गरे ।

 

तिमी पनि त्यही कलेजमा, फोटो देखेरै मान्छे चिन्दिने । मेसेज सिन (हेर्यो) भयो तर रिप्लाई (जवाफ) आएन । फेरी म्यासेज पठाए ‘बिजी हो ???’ यसमा पनि सिन भयो तर रिप्लाई आएन । पढाई चल्न थाल्यो, बच्चै देखी किताब मागेर काम चलाउने बानी कलेजमा कहाँ छुट्थ्यो र उसैको किताबले काम चल्न थाल्यो । बिस्तारै उसलाई पनि किताब भित्र गीतहरु लेखेर पठाउन थाले । अक्सर, ‘तिमी नभए के अर्थ यहाँ फुलेको फुलको चाँदी र सुनको’ भनेर पठाउँथे तर रिप्लाई आएन । एक दिन एउटा जोक्स (चुटकिला) पठाईदिए । ‘म चाहन्छु मेरो छोराले पनि तिम्रो छोरीको यादमा पढाई नबिगारोस त्यसैले आउ प्रिय हामी उनीहरुलाई दाजु बहिनी बनाईदिम’ तर त्यो चिट उस्ले पढ्नु पहिले सरको हातमा पर्यो । किताब साट्दा साट्दै मन्न साट्टिएको पत्तै भएन ।

 

केहि महिना पछी कलेज बाट घान्द्रुक घोडेपानी टुर (भ्रमण) जाने कुरा भयो । विद्यार्थी संख्या अनुसार ठिक हुने गरेर बस मगाईएको थियो तर अन्तिम्मा १ जना थपियो र सिट पुगेन । मेरो लागि यो सुर्वण अवसर थियो, म उसैको सिटमा ३ जना भएर यात्रा गरे । ट्रेकिङ (भ्रमण) मा कती जनाको पहिलो चोटी थियो त्यसैले घोडेपानी पुग्नु पहिले नै बाटैमा रात पर्यो हिउँ झर्दै थियो । योबीचमा उसले भनी ‘कस्तो पञ्जा पनि नलगाई आएको, खोई एउटा हातले मलाई समातेर हिँड ।’ अनी मेरा कठ्याङग्रिएका हातले उसको न्यानो हात समातेर हिड्दा बाटो कहिल्यै नसकिओस जस्तो लाग्न थाल्यो । उसले खाजा होस या खाना खान मलाई नै कुर्ने गर्थी । मैले सँगै फोटो खिच्न अनुरोध गरे, सजिलै ह्स भनि, मैले यही मौकामा हग (अंगालो) पनि मारे उसले भनि यो सम्झनाको लागि मात्र हो नि । ट्रेकले हामीलाई धेरै नै नजिक बनायो । मैले छुट्टिने बेलामा नम्बर पनि मागे ।

–खोइ मोबाईल नम्बर देउ न तिमी पनि मेरो टिपन

–नाँई मलाई पर्दैन,

घर पुगेर एकछिन फोटोहरु हेर्दै थिए मोबाईलमा म्यासेज आयो !

-म घर पुगे हैं । अच्चम लाग्यो मेरो नम्बर उसँग कसरी भयो !

उसले आफ्नो नम्बर मेरो मोबाईलमा ‘हाफ गर्लफ्रेन्ड’ भनेर सेभ गरेकी रहिछ । बेहुली सजाई सकेको मेरो मनले एउटा फोटो उसैलाई ट्याग गरेर फेसबुकमा हालिदिए। केहि समय पछी मेसेज आयो, ‘मैले सम्झनाको लागि मात्र भनेको थिँए, ह्वाए डिड यु पोस्ट इन फेसबुक ? जस्ट रिमुभ इट ।’ मैले हतारिदै फोटो खोलेर हटाउन खोजे उसले मलाई ब्लक गरिसकेकी रहेछ । बिदा भरी फोन गरिन् उता बाट पनि आएन । लाग्थ्यो मोबाईलमा पनि ब्लक गरेकी छ ।

 

कलेज सुरु भयो अब त किताब नमाग्ने सोच बनाएर कोठामा बसिराखे । उ आफैँ ढोकामा आएर भनि, ‘ओ हिरो किताब चाहिंदैन ?’ टेबलमा फालेर गई । किताब त्यही छोड्दिए सबै बिषय सकिएपछी आफै लिएर गई ।
फेरि फ्रेण्ड रिक्वेस्ट आयो त्यसैमा मेसेज गरे,
१ चोटी ब्लक गरेर पुगेन ?
–एसेप्ट गर्ने कि नगर्ने ?
(लाग्थ्यो उ आफैले मेरो बाट एसेप्ट गर्ने सक्छे) किन ब्लक गरेको ?
–तिमीले मानेनौ त्यसैले !

 

आफ्नै गल्ती लाग्न थाल्यो । म पनि कती बेर टाढिएर बस्न सक्छु र । बर्षा पछिको आकाश र झगडा पछिको मायामा फरक थिएन, कती सुन्दर, कती खुल्ला, मन भित्र ति चराहरु जसरी भावनाहरु उडेर रमाईराखेका छन । फोनमा घण्टौं सम्म कुरा गर्दा पनि संगै हुन पाए हुन्थ्यो जस्तो भएको छ । कलेजमा पनि ब्रेक टाईम सकिँदा पनि क्लासमा जान मन लाग्न छोडेको छ । कलेजको भेटघाटमा मात्रै सिमित रहेन हाम्रो सम्बन्ध, बिस्तारै बाहिर तिर पनि घुम्न सुरु भयो, कहिले चित्लाङ त कहिले भोटेकोशी । रमाइलोमा ३ बर्ष बितेको पनि पत्तै भएन, स्नातक पनि सकियो । त्यती बेला सम्म मैले आफ्नै व्यवसाय सुरु गरिसकेको थिए जसकारण पढाई पछी हाम्रो माया पहिले जसरि फक्रिन पाएको थिएन । अन्त्यमा हाम्रो माया प्रेम विवाह बन्धनमा बाध्ने निर्णय भयो । दुबै पक्षको परिवार भेटघाट पछी हाम्रो विवाह भयो । एउटा फोटो राख्दै भने अब त ब्लक गर्दैनौ नि यत्तिकैमा एउटा कमेन्ट आयो, ‘ह्याप्पी म्यारिड लाइफ दिदी, भिनाजु । मे दी एर्अस अहेड वि फिल्ड विथ लास्टिङ जोय !’

म आफ्नो हाफ गर्लफ्रेन्डलाई यहाँ सार्वजनिक गर्दछु ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु