काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ पर्नुको कारण खुलेको छ । सामाजिक सञ्जालमा गाँ जाका विषयमा अनेक लेख्दै आएका उपाध्यायले पछिल्ला दिनहरुमा प्रधानमन्त्री र सरकारको निरन्तर आलोचना गर्दै आएका थिए । यसकारण प्रहरीले उनीमाथि विद्युतिय कारोबार ऐन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको खुलेको छ । प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन अनुसार, उनले फेसबुक तथा ट्विटरमा गरेका मुख्य चारवटा पोस्टहरुलाई प्रहरीले कानून उल्लंघनको आधार मानेको छ । प्रहरी उच्च स्रोतले माथिको आदेशअनुसार ल्याएर अनुसन्धान गरेको हो भनेको छ । इमेलबाट अनुसन्धान प्रतिवेदनको मस्यौदा सरकारी वकिललाई पठाइसकिएको छ । आज (आइतबार) नै उनीमाथी अभियोगपत्रसहित अदालतमा पेस गरिएको छ । प्रहरी स्रोतका अनुसार, गृह मन्त्रालयले पठाएको चिठीलाई आधार बनाएर उनलाई पक्राउ गर्ने अनि मुद्दा चलाउने प्रक्रिया थालिएको हो ।

 

 

पछिल्लो साता पोस्ट गरेका चारवटा स्टाटसलाई आधार मानेर उपाध्यायसँग बयान लिइएको विशेष श्रोतले दावी गरेको छ । कोरोनाको उपचारबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सिकाएको प्रयोगलाई लिएर उनले एक स्टाटस राखेका थिए । उनले व्यक्ति किटान नगरी ‘चारवटा मिर्गौला राखेका’ कारण यस्ता क्रियाकलाप गरेको भन्दै पोस्ट गरेका थिए । प्रधानमन्त्री केपी ओलीलाई संकेत गर्दै लेखिएको उक्त पोस्टका कारण उनी सचिवालयका कर्मचारीहरुको नजरमा परेको अनुमान गरिएको छ । प्रधानमन्त्री ओलीले शरीरमा भएको बोसो तातो पानीले पखाल्न सक्यो भने भाइरसबाट बच्न सकिने बताउनु भएको थियो ।

 

उपाध्यायले ‘मिर्गौलामात्रै नभई मस्तिष्कसमेत प्रत्यारोपण गरेको’ भनी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसलाई समेत ओली समर्थकहरुले प्रधानमन्त्रीमाथि गरिएको व्यंग्यको रुपमा अर्थ लगाए । तर उपाध्यायले त्यो पोस्टमा पनि व्यक्तिको नाम किटान नगरेको दाबी गरेका छन् । कोरोना भाइरसका बारेमा प्रधानमन्त्री ओलीले गरेको भ्रमपूर्ण भाषणबारे उनको अर्को ट्विट थियो । जसमा उनले भनेका छन्, ‘कोरोना बोसीय (फ्याटीय) तत्व हो, तातो खाने बस्ने, नेपालमा महामारी रुप लिनै सक्दैन–वरिष्ठ भाइरोलोजिस्ट तथा इपिडिमियोलोजिस्ट डा. ओली ।’ हालसम्म नमेटिएको उक्त पोस्टमा भने उपाध्याले प्रधानमन्त्रीको नाम लिएका छैनन् ।

 

प्रहरी स्रोतको दाबीअनुसार, पूर्वसचिव उपाध्यायले इस्लामिक समूह जमातीबारे पनि केही विवादित ट्वीट गरेको स्क्रीनसट पनि समावेश छ । तर एउटा अर्थमा गरिएको ट्वीट अर्को अर्थ लागेपछि तत्काल हटाएको भनेर उपाध्यायले बयानमा खुलाएका छन् । प्रहरी स्रोतको दाबीअनुसार, यी चारवटा पोस्टकै कारण उनीमाथि विद्युतीय कारोबार तथा नियन्त्रण ऐन अनुसार मुद्दा चलाउनुपरेको हो । उपाध्यायसँगै काम गरेका तत्कालीन एक सहकर्मीको दाबीअनुसार, गृह प्रशासनका ‘क्याडर’ एवं हाल स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालासँग सामाजिक सञ्जालमा भएको विवाद नै उनीमाथि प्रहरी कारबाही चलेको हो । केही साताअघि पूर्वसचिव उपाध्यायले स्वास्थ्य सचिव कोइराला लगायतमाथि स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोप लगाएपछि जवाफमा स्वास्थ्य सचिव कोइरालाले उपाध्यायलाई ‘मेलम्ची खानेपानी अनियमिततामा भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु