(रासस/एएफपी) : उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेको दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् । पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम गम्भीर रुपमा विरामी रहेको अथवा कतिपयले त उहाँको निधन भएको भन्नेजस्ता समाचार नै सार्वजनिक गरेको अवस्थामा ती सैन्य अधिकारीले सो कुरा स्पष्ट गरेका हुन् ।

 

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले सोमबार सो जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ, हाम्रो सरकारको सूचना बलियो छ, उहाँ स्वस्थ्य र जिवीतै हुनुहुन्छ । उहाँले अमेरिकी टेलिभिजन सिएनएनसँगको अन्तर्वार्ताका क्रममा सो जानकारी गराउनुभएको हो । उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको जानकरी उहाँले सो टिभीलाई बताउनुभयो ।

 

यही अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा उहाँको उपस्थिति नदेखेपछि विभिन्न देशका मिडिया तथा व्यक्तिले केहीले उहाँ गम्भीर विरामी रहेको त केहीले उहाँको निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए । त्यसदिन नेता किमका हजुरबुबा किम इल सुङको जन्मदिनको अवसरमा उत्तर कोरियामा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । किम इल सुङ उत्तर कोरियाका संस्थापक हुनुहुन्थ्यो ।

गएको सोमबार दक्षिण कोरियाकै एक दैनिक पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो । पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको उल्लेख गरेको थियो ।

 

तर पनि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था र उहाँ कहाँ हुनुहुन्छन भन्ने बारे केही जानकारी दिएको छैन । किम केही समयदेखि सार्वजनिक रुपमा कार्यक्रमहरुमा देखिनुभएको छैन । अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अति गम्भीर रहेको बताएको थियो । तर दक्षिण कोरियाका दुई अधिकारीले सो कुराको सोही समयमा खण्डन गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु