ढाका, १६ वैशाख (रासस–एएनआई) –– कोरोनाभाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक (गार्मेन्ट) उद्योगका हजारौं मजदूर काममा फर्किएका छन् । बंगलादेशमा कोरोनाभाइरसको संक्रमण बढ्दै गए पनि मजदूरहरु काममा फर्किएका कारण थप चिन्ता उत्पन्न भएको छ । राजधानी ढाका र चटगाउँका कारखानाहरु खोल्न सरकारले अनुमति दिएसँगै सोमबारदेखि कारखानामा काम हुन थालेको हो । बंगलादेशमा गत मार्चको अन्त्यदेखि गार्मेन्ट कारखानाहरु बन्द भएका थिए तर निर्यातको बाँकी अर्डर पूरा गर्न कारखाना खोल्नुपर्ने माग सर्वत्र गरिएको थियो ।

बंगलादेशमा कोरानाभाइरसको संक्रमण बढेसँगै आगामी मे महिनाको ५ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । सोमबारसम्ममा ढाका र अन्यत्रका कम्तीमा एक हजार कारखाना खोल्ने योजना थियो । साथै तटीय बन्दरगाह शहर चटगाउँका कारखाना पनि खोलिने छन् । बंगलादेशको कूल निर्यातको करिब ८० प्रतिशत हिस्सा तयारी पोशाकले ओगटेको छ । तर कोरोनाभाइरसका कारण तयारी पोशाकको माग घटेको वा रद्द गरिएका कारण बंगलादेशले यस आर्थिक वर्ष करिब ६ अर्ब डलरको नोक्सानी व्यहोर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

गार्मेन्ट कारखानाका मजदूर मोफज्जल होसेनले कारखानामा तत्काल फर्कन आफू बाध्य भएको बताउनुभयो । उहाँ मासिक करिब ११५ अमेरिकी डलर कमाउनुहुन्छ । सोमबारसम्ममा बंगलादेशमा ५ हजार ९०० जनामा कोरानाको संक्रमण देखिएको छ भने १५२ जनाको मृत्यु भइसकेको छ । श्रम अधिकारवादीहरुले मजदूरहरुका कारण कोविड–१९ को महामारी बंगलादेशमा अरु फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । बंगलादेशका गार्मेन्ट कारखानामा ४० लाखभन्दा बढीले काम गर्दछन् । बंगलादेशबाट विश्वका चर्चित एचएन्डएम, इन्डिटेक्स र वाल्मार्ट जस्ता कम्पनीहरुका लागि गत वर्ष ३५ अर्ब डलरभन्दा बढीको तयारी पोशाक निर्यात भएको थियो ।

बंगलादेश तयारी पोशाक उत्पादक तथा निर्यात संघका उपाध्यक्ष मोहम्मद हातिमले कोरोनाभाइरसलाई जीवनको एक हिस्साका रुपमा स्वीकार्नुको विकल्प छैन भन्दै कारखाना तत्काल नखोलिए बंगलादेशमा आर्थिक संकट आउने बताउनुभयो । गत महिना, सरकारले निर्यातमुखी क्षेत्रका मजदूरको तलब भुक्तानीका लागि ५८ करोड ८० लाख अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेको थियो, तर गार्मेन्ट उद्योगीहरुले सरकारी प्याकेज अपर्याप्त रहेको गुनासो गरेका थिए ।

आइतबार, ढाकाका सडकमा लकडाउनकै बीच सामाजिक दूरीको समेत बेवास्ता गर्दै सयौं गार्मेन्ट मजदूरले प्रदर्शन गरेका थिए । उनीहरुले कामबाट बिमुख भएका दिनको समेत ज्याला पाउनु पर्ने माग राखेका थिए । उनीहरुले आफ्नो माग पूरा नगरिए लकडाउनको उल्लंघनलाई जारी राख्ने बताएका छन् । बंगलादेश सरकारले धार्मिक भेला र प्रदर्शनमा रोक लगाउन सेनालाई पनि सडकमा उतार्नु परेको थियो ।

सम्बन्धित खबरहरु