पवित्र तिर्थस्थल गोसाईकुण्डको एक चिनारी

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १६ पुस, २०७१

नवराज पराजुली / विहानको एघार बजेतिर राजधानीबाट लगभग सय कि.मि टाढा सिन्धुपाल्चोकको तालामाराङ गा.वि.स, गोरीखोलामा बस रोकियो । सहचालकले गाडिबाट उत्रिन आदेश गरे– गोसाईकुण्डको बसको यात्रा त्यही सम्म मात्र थियो । मुसलधारे वर्षासँगै केही समय विश्राम गरी खाना खाएर दिउँसोको १ बजे यात्रातर्फ लम्कियौँ । भर्खरै खनिएको सडक मार्गहुँदै मेला भर्न युवायुवति लगायतका तिर्थालुहरुको लावालस्कर थियो ।  डाँडाकाँडा, पहरा अवलोकलन गर्दै, प्यास मेट्दै, खाजा खाँदै, खोल्सा तर्दै करिब पाँच घण्टाको यात्रामा नुवाकोट जिल्लाको सिमानामा पर्ने कुटुमसाङ भन्ने स्थान पुग्यौँ ।

 

लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्र भित्र पर्ने कुटुमसाङ पर्यटकीय दृष्टिकोणले रमणीय स्थल रहेको छ । र, होटल, लज, खानाको लागि राम्रो व्यवस्था रहेछ । त्यहाँ खाजा खाने क्रममा नेपाली प्रहरीका एक जवानले तपाईँहरु मेला भर्न जाँदै हुनुहुन्छ भने ६ बज्नु अगाडी नै यो सैन्य ईलाका पार गर्नुहोस् ६ बजेपछिका लागि बाटो निषेध छ । जवानले भने बमोजिम हामी यात्रातर्फ उन्मुख भयौँ । बाटो चिप्लो भएकाले लड्न पनि भ्यायौँ । झिमिक्क साँझ परि सकेको थियो । दुई घण्टा जंगलको उकालो चढ्दै घोप्टे पुग्दा, एउटा होटेल फेला पार्यौँ र बास त्यतै बस्ने निधो गर्यौँ । जसमा प्रति व्यक्ति तीन सय पचासमा खाने बस्ने व्यवस्था मिल्यो । खाना खाए पश्चात् हामी आफैँले लगेको शय्यामा ढल्कीयौँ ।

विहान ६ बजे उठ्यौँ, चिसोपानीले हातमुख धोयौँ । पानी दर्किरहेको थियो, साथैमा लगेको छाता, प्लाष्टिक ओढी पूनः यात्रातर्फ अग्रसर भयौँ । झण्डै एक घण्टाको उकालो चढे पश्चात् देउराली भन्ने स्थानमा पसल र आराम स्थलसहितको ‘थर्पु’ देखिन थाल्यो । थर्पुको अर्थ स्थानीय भाषामा अस्थायी छाप्रो वा गोठ रहेछ । गोसाईँकुण्ड क्षेत्र व्यवस्थापन समितिको स्वीकृतिमा स्थानीयलाई मेला अवधिभरका लागि थर्पु राख्ने अनुमति दिईएको रहेछ । खाउँ हजुर खाउँ, भोकै नहिडौँ, यात्री देखिने बित्तिकै चिया पिउन मन लाग्यो, कालो चिया प्रति कपको पच्चीस रुपैँया तिर्यौँ ।

 

थर्पुका साहु–साहुनी कराउन थाल्छन्– खानेकुरा सस्तो छ । चना र आलुको तरकारी, मैदाको रोटी, अण्डा र बिस्कुट थर्पुमा राखिएको विशेष परिकार रहेछन् । मन्द गतिमा यात्रा बढ्दै गयो, पानी पनि रह्यो । बाटोमा गित, चुट्कीला, भजन गाउँदै देउरालीबाट एक घण्टाको उकालो तेर्सो हिँडाई पछि दोबाटो भन्ने ठाउँमा पुग्यौँ । जहाँ सुन्दरीजलहुँदै आउने तिर्थालुहरुको त्यही दोबाटोमा भेटहुने रहेछ । मेला विशेषमा हरेक एक डेढ घण्टाको यात्राको अवधिमा एउटा थर्पु भेटिने कुरा त्यही थर्पुमा बसेका व्यक्तिले जानकारी दिए ।

 

दोबाटोबाट पैँतालिस मिनेटको अबधिमा साउनेपानी भन्ने ठाउँ पुग्यौँ । जहाँबाट मनोरम हिमालको दृश्यावलोकन गर्न सकियो । क्यामारामा मनोरम दृश्य कैद गर्नेहरुलाई भ्याई नभ्याई थियो । त्यहाँ केही समय विश्राम गरी यात्रा तर्फ लम्कियौँ । साउनेपानीबाट अढाई घण्टामा समुद्र सतहबाट ३४५० मि. उचाईमा अवस्थित मंगिन गोठ भन्ने ठाउँ पुग्यौँ । वास्तवमै यो ठाउँ स्विजरल्याण्ड भन्दा कम छैन । पर्यटकहरुलाई लक्षित गर्दै त्यहाँ होटेल, लजको व्यवस्था गरिएको छ । वरिपरि खर्क तथा जंगलले घेरिएको रमणीय डाँडाकाँडाहरु यहाँबाट प्रशस्तै देखिने भएकाले मंगिन गोठ स्वर्ग बराबर नै छ ।

 

मंगीन गोठबाट मनमोहक दृश्यहरुको अवलोकन गर्दै एक घण्टा तीस मिनेटको यात्रामा घोप्टे भन्ने स्थान पुग्यौँ । प्रति व्यक्ति दुई सय पचासका दरमा त्यही खाना खायौँ । तरकारीमा नुन चर्को र पिरो बढी भएकाले खाना खान सकिएन । मध्यान्हतिर यात्रा अगाडि बढाउने क्रममा सिन्धुपाल्चोकको पर्यटकीय नगरी हेलम्बुको सिमावर्ती क्षेत्र पुग्यौँ । त्यो क्षेत्र पूर्ण रुपमा एउटा खर्क थियो, जहाँ चौँरी गाईहरु चरिरहेका थिए ।

 

मोबाईलबाट गीत बजाउँदै उकालो पार गरेर ठूलो घोप्टे भन्ने ठाउँमा पुग्यौँ । एक्कासी ठूलो पानी पर्यो । साथैमा लगेका केही खाजा खाएपछि, तिर्थालुहरु कोही छाता, कोही प्लाष्टिक, कोही घुम त कोही चाहिँ रेनकोट लगाउन थाले । बाटो अप्ठेरो थियो, सबैजना भिजीसकेका थियौँ, खोलो तर्दा एउटा साथीको त चप्पल र छाता दुबै बगायो । तितामिठा बात गर्दै उकालो चढ्दै धुपिचौरको थर्पुमा पुग्यौँ । प्रति कप तीस रुपैँयामा चिया र पचास रुपैँया तिरेर क्रिम क्र्याकर बिस्कुट खायौँ । तत् पश्चात् यात्रा अविच्छिन्न रुपमा अगाडि बढ्यो । उकालो पार गर्न धेरैलाई कठिन भएकाले लेकबाट जोगिन धेरैले टिमुर र लसुन चपाउन थाले । लगातारको दुई घण्टाको यात्रा पछि लगभग ४००० मिटरको उचाईमा अवस्थित तल्लो फेदी भन्ने स्थानमा पुग्यौँ । यहाँ सम्म आईपुग्दा शरीर निथ्रुक्कै भिजिसकेको थियो, वर्षा पनि रोकियो । बुट्टा र रुखहरु छोड्दै थियौँ, नाङ्गा र चट्टान मात्र भएका डाँडाहरु भेटिन थालेका थिए ।

 

तल्लोफेदीबाट करिब पैँतालिस मिनेटको तेर्सो हिँडाई पछि फेदीमा पुग्यौँ । यहीबाट रसुवा जिल्लाको सिमाना सुरु हुन्छ । फेदीमा पर्यटकहरुका आकर्षणको निम्ति होटल लजको व्यवस्था गरिएको रहेछ । अरुदिन दिनको पाँच सय भाडा लाग्ने होटलमा भने पाँच देखि सात हजार सम्म भाडा लागेको जानकारी पायौँ । हामी याईलाथाङमा बास बस्ने कुरो भयो । फेदीबाट नै लौरी बिनायकको लामो उकालो सुरु हुने रहेछ ।

 

साँझ परिसकेको थियो, पाईला दु्रत गतिमा बढाई माथिल्लो फेदीमा पुगी विश्राम गर्यौँ । यहाँबाट देखिने होचा, अग्ला र थुम्का डाँडाको आकर्षणले यात्रीको थकाई मेटाईरहेको थियो । अक्सिजन कमी भएपछि अशक्त र लेक लागेर थोकेका यात्रीहरु भेटिए । चिसो हावा खाँदै, उकालो चढ्यौँ । याईलाथाङ भन्ने स्थान आइपुगेछ । जहाँ तिर्थालुहरु थर्पुमा बार्गेनिङ गर्दै थिए । दोस्रो दिनको यात्रामा याईलाथाङमा बास बस्ने सल्लाह भयो । पाल टाँगेर तयार पारिएको सो थर्पुमा खान बस्न गरेर प्रति व्यक्ति पाँच सय रुपैयाँमा व्यवस्था गर्यौँ । जाडो बढ्दै छ, थर्पू मालिकले एउटा पातलो ब्लाङकेट दिएका थिए । चिसो भुईँमा पत्कर र सल्लाको पातमा ओछ्याएको पातलो म्याटमाथि लाईन लागेर सुत्नुपर्ने । थर्पुको छानाबाट पानी चुहिरहेको थियो । धुवाँले निसासिने अवस्था, भुईँबाट आउने चिसो र ढुंगामाटो माथिको ओछ्याउन निदाउने सम्भावना छैन ।

 

कठिन रात बिताएर बिहानै आ–आफ्नो झोला बोकेर यात्राको सबैभन्दा कठिन लौरी बिनायकको उकलो चढ्दै थियौँ । विहानको चिसो हावामा हिँड्न असहज भईरहेको महसुस भयो । अब भने लेकको डर अर्थात् चिसो हावा बढी लाग्न थाल्यो । उकालो चढ्न कठीन भएपछि यात्रीहरु पोको फुकाउँदै सातु, मकै, भटमास, लसुन, टिमुरको अचार, बिरौला र सुख्खा रोटी चपाउँदै हिँडिरहेका थिए । विहानको करिब एक घण्टा तीस मिनेटको यात्रा पछि समुद्र सतहबाट ४५८० मिरको उचाईमा अवस्थित सूर्यकुण्ड पुग्यौँ । त्यहाँ लौरीविनायक स्थापना गरिएको रहेछ । तिर्थालुहरुले लौरो चढाउने परम्परा चलिआएको रैछ । हामीले पनि साथमा भएको लौरी विसायौँ, भेटी चढायौँ ।

 

जहाँ सूर्यकुण्ड यस्तो देखिन्छ । प्रति कप ६० रुपैयाँमा चिया पियौँ । अब भने यात्रा ओरालो र तेर्सोमा मात्र सिमित थियो । बाटोमा विभिन्न पोखरीहरु देखिए । जसको आ–आफ्नै किंवदन्तीहरु रही आएका छन् । कुण्डहरुको दृश्यावलोकन गर्दै समुद्र सतहबाट ४३१० मिटरको उचाईमा अवस्थित गोसाईकुण्ड आईपुगे छौँ । समुद्र मन्थनबाट निस्केको कालकुट विष सेवन गर्दा त्यसको डाढा थाम्न नसकेर भगवान् महादेवले गोसाईकुण्डको पानीमा डुबेको किंवदन्ती छ । उनले चट्टानमा त्रिशुल रोपेर पानी निकालेको र त्यही पानीले बनेको कुण्डलाई गोसाईकुण्ड भनिएको विश्वास छ । त्रिशुल रोपेको ठाउँलाई त्रिशुलधारा भन्ने चलन छ । जनैपूर्णिमाको दिन पूजा गर्दा कुण्डको बीचमा महादेवको रुप देखिने जन विश्वास छ । कुण्डमा स्नान गर्नाले पापबाट मुक्त भईन्छ भन्ने जनविश्वास छ । गोसाईकुण्ड नजिकै नागकुण्ड र आसपासमा सरस्वतीकुण्ड, दामोदरकुण्ड, भैरवकुण्ड लगायत एक सय आठ कुण्ड रहेको विश्वास छ । गोसाईकुण्डमा चैते दशैँ र जनैपूर्णिमामा विशेष मेला लाग्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु