सिरियाको वार्ताका विषयमा रसिया र अमेरिकाले पुन वार्ता गर्ने भएका छन् । यी दुई देशका विदेशमन्त्रीबीच सो वार्ताको समीक्षाका लागि अर्काे वार्ता हुने जनाइएको हो ।

रसियाली विदेशमन्त्री सेर्गेई लाभरोभले आगामी फेब्रुअरी महिनामा अमेरिकी विदेशमन्त्री जोन केरीसँग भेटवार्ता गर्नुहुने बताइएको हो ।

रसियाली विदेशमन्त्रालयले दिएको जानकारी अनुसार फेब्रुअरी ११ मा विदेशमन्त्री लाभरोभले अमेरिकी विदेशमन्त्री केरीसँग सिरियाका विषयमा जेनेभामा भएको वार्ताको प्रगतिका बारेमा छलफल गर्नुहुने छ ।

सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि जेनेभामा सुरु भएको शान्तिवार्ताको दुई दिनपछि रसियाको यो भनाई आएको छ ।

रसिया र अमेरिका सिरिया वार्ताका सम्बन्धमा महत्वपूर्ण देश हुन् । सिरियामा अमेरिका र रसियाले पनि आइएसका विरुद्धमा भन्दै केही समययतादेखि हवाई काबारही गर्दै आएका छन् ।

शनिबार रसियाली विदेशमन्त्री लाभरोभ र अमेरिकी विदेशमन्त्री केरीबीच फोनवार्ता भएको थियो । सो वार्ताका क्रममा आगामी फेब्रुअरीमा हुने सिरिया सहयोग समूहको बैठकमा जेनेभा वार्ताको समीक्षा गरिने सहमति भएको हो ।

फेब्रुअरी ११ मा सिरिया सहयोग समूहको बैठक बस्ने भएको बताइएको छ । तर त्यो स्थानका बारेमा भने केही भनिएको छैन ।

जेनेभामा सिरियाली राष्ट्रपति बसर अल असदका प्रतिनिधि र सिरियाली बिपक्षीहरुका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । तर विपक्षीहरु भने जेनेभा पुगेपनि वार्तामा बसिसकेका छैनन् ।

सुरुमा उनीहरुले सिरियामा जारी रहेको हवाई कारबाहीका साथै विभिन्न बिकट क्षेत्रहरुमा मानवीय सहायता समेत पु¥याउन नदिनेगरी गरिएको कारबाहीको अन्त्य नभएसम्म वार्तामा नबस्ने जनाएका थिए ।

विपक्षीहरुको यो अडानपछि सो वार्ताको मध्यस्थता गरिरहेको संयुक्त राष्ट्रसंघ र साउदी अरेबियाले पनि विपक्षीहरुसँग वार्ताको टेबलमा बस्न आग्रह गरेका थिए ।

सो आग्रहपछि भने सिरियाली विपक्षीहरु पनि वार्तामा बस्ने भएका छन् । शुक्रबार अबेरतिर मात्र उनीहरुले वार्तामा बस्ने जनाएका थिए ।

तर पछिल्लो समयमा असदको सरकारका प्रतिनिधिहरुसँग बसेर वार्ता नगर्ने जनाएका छन् । त्यसैले जेनेभामा वास्तविक मात्रामा त्रिपक्षीय रुपमा वार्ता नै हुन सकिरहेको छैन ।

शुक्रबार जेनेभामा संयुक्त राष्ट्रसंघीय अधिकारी, सिरियाली प्रतिनिधि र साउदी अरेबियाका मध्यस्थकर्ताहरु भेट्ने जनाइएको हो । शनिबारसम्ममा त्यहाँ सबै पक्षको उपस्थिति भने भइसकेको छ ।

सिरियामा जारी रहेको करिब पाँच वर्षलामो युद्धको अन्त्यका लागि सुरु हुन लागेको सो वार्तामा विपक्षीको पनि सहभागिता रहेपछि यसको निष्कर्षका बारेमा प्रतिक्षा सुरु भएको बताइएको छ ।

सिरियामा गएको करिब पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि दुई लाख ६० हजार नागरिकको ज्यान गएको छ । सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारबिहीन वा शरणार्थी भएका छन् ।

सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि यसअघि पनि संयुक्त राष्ट्रसंघले वार्ताको प्रयास गरेको हो । तर वार्ता सफल हुन सकेको छैन ।

यस पटकको वार्ता साउदी अरेबियाले नै तय गरेको हो । साउदी अरेबियाको पहलमा सुरु भएको सो वार्तामा संयुक्त राष्ट्रसंघको पनि सहभागिता छ ।

यो शान्ति वार्ताको संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले स्वागत गरेका छन् । गएको डिसेम्बर महिनामा मध्यस्थकर्ता समूहको गठन गरी यस वार्ताको व्यवस्था उसले नै मिलाएको थियो । रासस/एएफपी

सम्बन्धित खबरहरु